Home / Feature Breaking news / पर्यटन गन्तव्य दाङ …

पर्यटन गन्तव्य दाङ …

sapanas

सपना बोहरा
न गर्मी न जाडोको जलवायु । चारैतिर हरियो पहाडले घेरेको उपत्यका हो ‘दाङ’ । पुर्बी रुकुममा सिस्ने हिमाल अनि रोल्पाको जलजला हिमालले सजिएको छ दाङ । प्यूठानको स्वर्गद्धारी र अर्घाखाचीको सुपादेउराली अनि गुल्मीको रिडी छन काखमा । देशकै अग्लो त्रिशुलले चिनाउने दाङको धरापानी मन्दिर र ठुलो उपत्यका भएको दाङ ।

भौगोलिक विविधता जस्तै जातिय, भाषिक एवम् सास्कृतिक, विविधता धार्मिक एवम् प्राकृतिक सम्पदाले धनि छ दाङ । जसले धार्मिक पर्यटनको ठुलो सम्भावना वोकेको छ । सदाबहार बगिरहने ठुला दुई बबई र राप्ती नदि । तीन वटा ठुला सिमेन्ट उद्योग, प्रशस्त चुन खानी । दाङको पहाडी क्षेत्रमा प्रयाप्त रुपमा रहेको चुनढुंगा भएका कारणले यहाँका उद्योगहरु फस्टाईरहेका छन । प्रयाप्त रुपमा खेती योग्य जमीन जसले गर्दा कृषिमा आत्मनिर्भर छ दाङ । धान, गहुँ, मकै, तोरी जस्ता मुख्य अन्नवालीमा आत्मनिर्भर छ ।

sapana
त्यस्तै मह प्रसोधन, अण्डा, कुखुरा, खसी र माहुरी पालनमा निर्भर छ । दश वटा स्थानीय तह रहेको दाङमा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका छन् । दाङको उत्तरमा सल्यान, प्यूठान र रोल्पा जिल्लाहरु पर्दछन् । त्यसै गरी पूर्वी सिमानमा प्यूठान र अर्घाखाँची तथा कपिलवस्तु जिल्लाहरु छन् भने पश्चिममा सल्यान र बाँके जिल्लाहरु पर्दछन् । भौगोलिक रुपमा यस जिल्लामा भित्रि मधेसका समथर फाँटहरु, यी फाँटहरुलाई चारैतिरवाट घेर्ने साना तथा मध्यम पहाडहरु समेतवाट निर्मित दुई उपत्यकाहरु र पहाडी धरातल (महाभारत तथा चुरे) समेत रहेका छन् ।

यी उपत्यकाहरु मध्य उत्तरी अर्थात माथिल्लो उपत्यका ‘दाङ’ र दक्षिणी अर्थात तल्लो उपत्यका ‘देउखुरी’ को नामवाट परिचित छन् । यी दुवै उपत्यकाहरु पुर्व–पश्चिम भै फैलिएर रहेका छन् । दाङ उपत्यका नेपालकै सर्वाधिक ठुलो उपत्यकाको रुपमा मात्र परिचित मात्र नभै एसियाकै ठूला उपत्यकाहरु मध्य एक मानिन्छ ।

दाङ उपत्यका महाभारत र चुरे पहाडको विचमा अवस्थित छ भने देउखुरी उपत्यका चुरे पहाड र डडुवा डाँडाका श्रृंखला विचमा रहेको छ । यस जिल्लाको दक्षिण–पुर्वी भेकमा पर्ने राप्ती गाउँपालिकाको भानपुर जिल्लाकै सवैभन्दा न्यूनतम उचाई विन्दु (समुद्र सतह वाट २१३ मीटर) रहेको क्षेत्र मानिएको छ भने जिल्लाको पुर्वी सिमानामा पर्ने दुर्गम पहाडी बङ्गलाचुली गाउँपालिकाको अर्खले जिल्लाको अधिकतम उच्च विन्दु (समुद्र सतह वाट २०५८ मिटर) रहेको स्थान मानिएको छ ।

नेपालको मानचित्रमा दाङ भारतसंग जोडिएता पनि यहाँ अन्य तराईको दाँजोमा गर्मीको महशुस कम हुन्छ । जिल्लाको औसत लम्बाइ (पूर्व–पश्चिम) ९० कि.मि. छ भने औसत चौडाई (उत्तर–दक्षिण) ७२ कि.मि. रहेको छ । राप्ती र ववई यस जिल्ला भै बग्ने ठुला नदिहरुको रुपमा परिचित छन् । राप्ती दाङ जिल्लाको दक्षिणी उपत्यका देउखुरीको पूर्ववाट पश्चिम भएर बगेको छ भने ववई दाङ उपत्यकाको दक्षिणमा रहि पूर्वबाट पश्चिमतर्फ बगेको छ ।

यी नदीहरु बाहेक यस जिल्ला भएर वग्ने खोला नालाहरुमा कटुवा खोला, सिस्ने खोला, सेवार खोला, हापुर खोला, पत्रे खोला, संग्राम खोला, ग्वार खोला, पातु खोला, अर्जुन खोला, आदि प्रमुख हुन् । त्यसैगरी जिल्लाका प्रमुख ताल, तलाउ तथा दहहरुमा बाह्रकुने दह, तप्त कुण्ड, जखेरा ताल, चरिङ्गे दह, भोटे दह, किचेनी दह, ज्यामिरे दह, पर्दछन् । भने पुरन्धारा छहरा र सुन छहरा यस जिल्लाका प्रमुख झरनाहरु हुन् ।

बगारबाबा धार्मिक स्थल रिहार

यो दाङ जिल्लाको दोस्रो ठुलो उपत्यका देउखुरी क्षेत्र, लमही नगरपालिका वडा नं. ९ मा पर्दछ । यो लमही बजार देखि २० किलोमिटर पश्चिम पूर्व–पश्चिम राजमार्गको किनारामा रहेको छ । चुरे पहाडके फेदीमा रहेको यस स्थलदेखि दक्षिणमा राप्ती नदी छ । यादव र थारु समुदायको ऐतिहासिक पृष्ठभूमिसंग सम्बन्धित ठानिने यस स्थलमा भौगर्भिक महत्व राख्ने तप्तकुण्ड –तातोपानी र नुनिलो जल उपलव्ध छ ।

चरिङ्गे दह

चरिङगे दह घोराही उपमहानगरपालिका वडा नं. २ रामपुर बुकामा पर्छ । करिब दुई बिगाहा जति क्षेत्रफलमा फैलिएको यो दह प्राकृतिक जलाशय हो । यस स्थलसम्म पुग्नका लागि दाङको सदरमुकाम घोराहीदेखि बीपी मार्ग हुँदै करिब ९ किलोमिटरको यात्रा गर्नु पर्दछ ।

जंगलको बीचमा रहेको यो दह पवित्र बबई नदी (सरयू नदी) को एउटा स्रोत पनि हो । यस दहको पानीलाई सिचाइँ र माछापालनमा प्रयोग गरिएको छ ।

चमेरे गुफा

जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मुलकोटको महाभारत पर्वत श्रृंखलामा अवस्थित छ । तुलसीपुर उपमहानगरपालिकादेखि करिव १५ किलोमिटर उत्तर–पूर्वमा पर्ने यो गुफा प्राकृतिक गुफा हो । पाषण युगीन मानवजाति बसेको ठानिने यस गुफातिरवाट बगेको गुहार खोला आसपासका पाषाणकालीन थुप्रै ढुंगे हतियारहरु उपलव्ध भएका छन् । विभिन्न तलाहरुमा विभक्त यस गुफामा हाल गुफा अवलोकनलाई सहज तुल्याउन बिजुली, भ¥याङ तथा अन्य व्यवस्था मिलाइएको छ ।

रामजानकी मन्दिर

रामजानकी मन्दिर भारतको सिमानासंग जोडिएको गढवा गाउँपालिका वडा नं. ८ कोइलावासमा अवस्थित छ । यस स्थलमा पुग्नका लागि लमही–कोइलाबास मार्गको ३५ कि.मि यात्रा गर्नुपर्ने हुन्छ । कोइलाबास नेपाल र भारत सम्पर्क हुने एकमात्र व्यापारिक नाका हो । यो धार्मिक दृष्टीले महत्वपूर्ण मन्दिर हो । यस स्थलमा रामजानकी मन्दिर, हनुमान मन्दिर, देवी मन्दिर लगाएतका मन्दिरहरु रहेका छन् ।

जखेरा ताल

जखेरा ताल लमही नगरपालिका वडा नं. ३ मुसन्डीमा पर्दछ । यो पुर्वपश्चिम राजमार्गको भालुवाङ–लमही खडकखण्डदेखि करिव डेढ किलोमिटर जति उत्तर चुरे पहाडको छेउमा रहेको छ । बाह्र बिगाहा जति क्षेत्रफलमा फैलिएको यो ताल अहिले यस क्षेत्रको प्रसिद्ध पिकनिक स्थलको रुपमा विकसित भएको छ । प्राकृतिक सौन्दर्य, डुंगाविहार, जैविक विविधता जखेरा तालका थप आर्कषण हुन् ।

राप्ती नदी डुंगा बिहार

दाङ क्षेत्र जलाशयका दृष्टिले धनी छ । यस जिल्लाको दउखुरी उपत्यकामा राप्ती नदी बग्दछ । भने दाङ उपत्यकाको दक्षिणी भाग हुँदै बबई प्रभावित हुन्छ । राप्ती नदीको पुरै क्षेत्र र पश्चिम दाङ क्षेत्रमा बग्ने बबई नदीमा डुंगा बिहार तथा ¥याफ्टिङको राम्रो संभावना छ ।

सवारीकोट सवारीकोट

घोराही उपमहानगरपालिका वडा नं. ४ को पहाडी क्षेत्रमा पर्दछ । यो समुद्र सतहवाट १२८० मिटरदेखि १४५० मिटरसम्म उचाईमा पर्दछ । यो घोराही–हर्नाेक –मुर्कुटी हुँदै प्युठान जाने राजमार्गको दक्षिणमा घोराही देखि लगभग १४ किलोमिटर पूर्व –उत्तरमा अवस्थित छ । यो ऐतिहासिक महत्व बोकेको सवारीकोट राज्यको बर्खे राजधानी स्थल मानिन्छ । सवारीकोट क्षेत्रमा जसपुकोट, पौवाकोट, रानीपाखा, आदि ऐतिहासिक महत्वका ठाउँहरु छन् । यो दाङको राजनीतिक इतिहास धार्मिक महत्व, प्राकृतिक सौन्दर्य , मगर संस्कृतिको क्षेत्र र जसपुरकोट प्याराग्लाइडिङका दृष्टीले महत्वपूर्ण छ ।

बंगलाचुली÷धिमधिमे लेक

धिमधिमे लेक बंगलाचुली गाउँपालिका वडा नं. २ मा पर्दछ । यो स्थानमा पुग्न घोराही वाट ३० किलोमिटरको यात्रा तय गर्नुपर्दछ । यो समुद्रदेखि १५५० मिटरको उचाईमा व्यवस्थित छ । यो समेद्र सतहदेखि १६५० मिटर अग्लो ठाउँमा अवस्थित छ । यी दुवै पहाडी लेकवाट उत्तरमा सिस्ने हिमाल, धवलागिरी हिमश्रृंखला तथा दक्षिणमा दाङ कफिबस्तुका धेरै धाग अवलोकन गर्न सकिन्छ ।

श्री गोरक्षसिद्धरत्ननाथ मठ

घोराही उपमहानगरपालिका वडा १७ चौघेरा दाङमा अवस्थित छ । दाङ जिल्लाको सदरमुकाम घोराही देखि डेढ किलोमिटर जति पुर्व, घोराही –लमही सडम खण्डको छेउमै रहेको रत्ननाथ मठ नाथ सम्प्रदायको प्राचिन प्रतिष्ठान हो । दाङको राजनितिक इतिहाँस संग सम्बन्धित मठ योग कला, आध्यात्मिक चिन्तनको केन्द्र पनि हो ।

अम्विकेश्वरी मन्दिर

अम्विकेश्वरी मन्दिर घोराही उपमहानगरपालिका वडा नं. १८ अम्बापुरमा पर्छ । माइको थानको नामले चर्चित यो मन्दिर घोराही देखि कसरीब डेढ किलोमिटर उत्तर–पूर्व कटुवाखोलाको किनारमा अवस्थित छ ।

स्वस्थानी व्रतकथामा वर्णित सतीदेवी–महादेव कथाअनुसार सतीदेवीको दाहिने काम पतन भई उत्पत्ति भएको मानिने यो शक्तिपीठ दाङको सर्वाधिक प्रसिद्ध धार्मिक धाम हो ।

पाण्डवेश्वर शिव मन्दिर

यो घोराही उपमहानगरपालिका वडा नं. ५ धारपानीमा पर्दछ । यो मन्दिर चुरे पर्वतको काख र पवित्र बबई नदीको दक्षिण किनारामा अवस्थित छ । यो स्थलमा पुग्नको लागी घोराही देखि ९ किलोमिटर दक्षिणतिर सडकको यात्रा तय गर्नुपर्छ ।

पाँच पाण्डवहरु उत्तरापन्थको यात्रा गर्दा यस स्थानमा शिवको अर्चना गरी बसेका थिए । भन्ने किम्बदन्ती रहेको पाण्डवेश्वर शिवमन्दिर दाङ क्षेत्रको महत्वपूर्ण धाम हो । विश्वकै अग्लो त्रिशुल रहेको धारपानी धाममा अहिले दैनिक १५ सयले अवलोकन गर्ने गरेका छन् ।

सुकौराकोट

तुलसीपुर उपमहानगरपालिका देखि ११ किलोमिटर दक्षिण–पश्च्मिमा अवस्थित सुकौराकोट ११ नं. वडामा पर्छ । बबई नदीको उत्तरी लटमा रहेको यो स्थल थारु राज्यको दरवार क्षेत्र मानिन्छ । थारु राजा दंगीशरणद्धारा स्थापित राज्यको राजधानी मानिने यो स्थलले दाङको राजनितिक इतिहासमा महत्वपूर्ण स्थान लिएको छ । सुकौराकोट दरवारको भग्नावशेषहरुको साथै दंगी अंकित सिक्का पनि उपलव्ध छन् ।

नम छु बौद्ध गुम्बा

यो गुम्बा घोराही उपमहानगरपालिका वडा नं. १८ ढोडेनीको मजुरेडाँडाँमा अवस्थित छ । घोराही बजार देखि करिव डेढ किलोमिटर उत्तर पहाढको फेदीमा रहेको सो स्थलमा एउटा छोर्तेन –मठ–गोर निर्माण गरिएको छ । प्राकृतिक दृष्टीले सुन्दर र शान्त स्थलमा रहेको यो गुम्बा यस क्षेत्रको एक मात्र बौद्ध धर्मालम्बीहरुको धार्मिक प्रतिष्ठान हो ।

पुरन्धारा छहरा

बबई गाउँपालिका वडा नं. ५ को जंगल क्षेत्रमा रहेको यो प्राकृतिक छहरा हो । पश्चिम दाङको पश्च्मि सिमानामा रहेको यो छहरामा झरना ४५ मिटर उचाईवाट झर्छ । नजिकमा रहेको अपार जलशययुक्त पवित्र नदी बबई र जैविक विविधताले भरिएको वनजंगल यस स्थलका थप आर्कषण हुन् ।

बागेश्वरी मन्दिर

बागेश्वरी मन्दिर बंगलाचुली गाउँपालिका वडा नं. १ मा पर्दछ । यस स्थलमा पुग्नको लागि घोराही–हर्नाेक–बोजपोखरा लगभग ३१ किलोमिटर ग्राभल–पैदल मार्ग यात्रा गर्नुपर्दछ । झण्डै १७८ बर्ष पुरानो मानिने यो देवी मन्दिर दक्षिण क्षेत्रबासीहरुमा ज्यादै चर्चित छ ।

गौह्री ताल

यो ताल तुलसीपुर उपमहानगरपालिका वडा नं. १० मा पर्दछ । यो तुलसीपुर बजारदेखि २.५ किलोमिटर दक्षिणमा अवस्थित छ । यो तालको पुरा क्षेत्रफल १२ बिगाहा छ । यो तालको पानी सिचाइँ, माछापालन, र अवलोकनका लागि प्रयोग भैरहेको छ ।

छिल्लीकोट

छिल्लीकोट तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ मा पर्दछ । यस स्थानमा पुग्न बिजौरी देखि उत्तरमा १४ किलोमिटर ग्राभल सडकको यात्रा तय गर्नुपर्ने हुन्छ । छिल्लीकोट दाङको राजनितिक इतिहाससंग सम्बन्धित स्थल हो । यसको इतिहास अध्ययन गर्दा १४ औँ शताब्दीसम्म पुग्न सकिन्छ । यो स्थल समुद्रदेखि १३१० मिटरको उचाईमा अवस्थित छ । छिल्लीकोटमा कालिका र मालिका दुई देखिको मन्दिर स्थापित छन् ।

यस क्षेत्रमा मालागिरी, (सुगन्धकोकिला)को घना जंगल छ । यस क्षेत्रवाट उत्तरमा धवलागिरी हिमश्रृंखला र दक्षिणमा दाङ तथा तराईका अन्य भागहरु अवलोकन गर्न सकिन्छ । विजौरी छिल्लीकोट मार्गमा पर्ने स्यालापानीमा जटायु संरक्षण क्षेत्र रहेको छ । जहाँबाट लोपउन्मुख ७ प्रजातिका गिद्धहरुको अवलोकन एवं अध्यन गर्न सकिन्छ ।

कृष्ण मन्दिर

यो मन्दिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ मा पर्दछ । यो तुलसीपुर बजारदेखि करिब ३ किलोमिटर पश्चिम तुलसीपुर–सुर्खेत सडक खण्डको उत्तरमा अवस्थित छ । यस मन्दिर परिसरमा सिद्धि भवानी, सुर्य नारायण अदिका मुर्तीहरु स्थापित छन् । भने यसदेखि उत्तरतिरको क्षेत्रमा पिकनिक स्थल र पोखरी निर्माण भएका छन् ।

राप्ती शान्ति उद्यान

यो उद्यान तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ गणेशपुरमा अवस्थित छ । यस स्थलमा पुग्न तुलसीपुर–सल्यान सडकखण्डदेखि करिब डेढ किलोमिटरको यात्रा तय गर्नुपर्ने हुन्छ । यो उद्यान करिव १० हेक्टर क्षेत्रफलमा फैलिएको छ । उद्यानमा पुष्प बगैचा, बिश्रामका लागि अम्ब्रेला सेटहरु निर्माण गरिएको छ । यो दाङ क्षेत्रको महत्वपूर्ण पार्क हो ।

श्री सिद्ध भगवन्तनाथ मन्दिर

यो मन्दिरमा स्थलमा पुग्नका लागि तुलसीपुरवाट १२ किलोमिटर पश्चिम दाङ–सुर्खेत सडकको यात्रा गर्नुपर्दछ । यो स्थलमा नेपालको धार्मिक राजनितिक इतिहासको दृिष्टले महत्वपुर्ण छ । यस स्थलका संस्थापक सिद्धभगवन्तनाथ पृथ्वी नारायण शाहकालीन हुन् । उपलव्ध प्रमाणहरुका आधारमा सिद्धभगवन्तनाथ पृथ्वी नारायण शाहद्धारा थालिएको नेपाल एकिकरण अभियानका महत्वपूर्ण सल्लाहकार रहेको देखिन्छ । यस स्थलमा गुम्बज शैलीमा निर्मित सिद्धभगवन्तनाथको समाधि स्थल रहेको छ ।

सिद्धबाघनाथ बाबा

जंगलकुटी यो स्थल गढवा गाउँपालिका क्षेत्रमा पर्छ । यस स्थलमा पुग्न कालाकाटे–गढवा सडक हुँदै करिब १५ किलोमिटर गोबरडिहा र गोबरडिहावाट कुटी सम्म ५ किलोमिटर बाटोको यात्रा तय गर्नुपर्छ । यस स्थलमा वि.सं. १७७९ तिर सिद्धबाबा भुवनेश्वरले करिब १० बिगाहा क्षेत्रफलमा आँपको बगैचा लगाई कुटी स्थापना गरेको देखिन्छ । सिद्ध भुवनेश्वर नाथ बाघमा चढेर हिड्ने गरेको हुँदा उनि बाघनाथ बाबाको नामले चिनिएका हुन् । भन्ने भनाई छ । हाल यस स्थलमा घना जंगलको बीचमा बगैचा, समाधि, कुटी, कुटीभित्र पुरातत्विक बस्तुहरु छन् । यसकै नजिक गोबरडिहामा ५५ झ्याले सिंहदरबार र पार्कसहितको आर्कषक शैलीमा निर्मित शिव मन्दिर रहेका छन् ।
पुस्तकको बिमोचन

क्यानाडा नेपाल पर्यटन संस्कृति तथा व्यापार मञ्चको संयोजन एवं नेपाल पत्रकार माहासंघ दाङ साखाको आयोजनामा पत्रकार सपना बोहोराद्वारा लिखित प्रदेश ५ को पर्यटन चिनारी नामक पुस्तक विमोचन गरिएको छ । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले एक औपचारिक कार्यक्रमकाबीच सो पुस्तकको विमोचन गरेकी हुन् ।

तुलसीपुर उपमहानगरपालिका— १६ लामीदमार दाङ घर भई हाल क्यानाडामा बस्दै आएका नरबहादुर टण्डनले क्यानाडामा बसेर नेपाल र क्यानाडालाई जोड्न यो अथक प्रयास गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी सांसद देवकोटाले यो प्रयासको सबैले अनुकरण गर्नुपर्ने बताइन् । यो समृद्ध नेपाल सुखी नेपाली बनाउने प्रयासमा सबैको साथ रहन पनि जरुरी रहेको उनले बताइन् । पत्रकार बोहोराद्वारा लिखित यो पुस्तकले प्रदेश ५ को पर्यटन क्षेत्रलाई मात्र नभई देशलाई नै विदेशसम्म चिनाउने प्रयास भएको पनि प्रमुख देवकोटाको अभिव्यक्ति थियो । समृद्ध नेपालका लागि रोडम्याप तयार गर्नुपर्ने बताउँदै देवकोटाले दाङको पर्यटन विकासको लागि संस्कृतिको विविधतालाई समेटेर अघि बढ्नु पर्ने धारणा व्यक्त गरिन् ।

कार्यक्रममा विशिष्ट अतिथि तुलसीपुर उपमाहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले नेपालमा धेरै हिन्दू धर्मका विभिन्न आयामहरुमा टेकेर अध्ययन गर्ने पाटो बनेको बताए । साथै उनले पर्यटकीय स्थलले मात्र नेपाललाई अहिले विश्वमा चिनाउन सफल भएको टिप्पणी गरे । कार्यक्रममा पत्रकार महासंघका निवर्तमान अध्यक्ष सुदीप गौतमले आफ्नो ठाउँलाई सजिलै चिनाउन सकिने माध्यम भनेकै पर्यटकीय क्षेत्र भएकाले दाङमा रहेको संस्कृत विश्वविधालयलाई शैक्षिक पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने बताए ।
क्यानाडा नेपाल पर्यटन संस्कृति तथा व्यापार मञ्चका अध्यक्ष नरबहादुर टण्डनले पर्यटन क्षेत्रप्रतिको चासो आर्थिक मेरुदण्डको रुपमा रहेको यो क्षेत्रको चिनारीका लागि आफूले यो पुस्तक प्रकाशनमा भूमिका खेलेको बताए । कार्यक्रममा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, धनगढीका पत्रकार हिकमतबहादुर रावतलगायतले पुस्तकको चर्चा गरेका थिए ।

त्यसै सन्दर्भमा पुस्तक प्रकाशनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रदेश टुडे दैनिकका भुवन गौतम, पत्रकार हिकमतबहादुर रावत, लेखक सपना बोहोरा, सविन प्रियासन, नरबहादुर रोका क्षत्री र लक्ष्मी केसीलाई सम्मान गरिएको थियो । टण्डनले आफ्ना साथी रेशमराज पोख्रेललाई ५० हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेका थिए । पत्रकार महासंघका उपाध्यक्ष लीला शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार महासंघका कोषाध्यक्ष आरके शीतलले गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*