Home / Feature Breaking news / प्रहरीलाई प्रधानमन्त्रीको निर्देशनः दलाली, चाकडी नगर्नोस्

प्रहरीलाई प्रधानमन्त्रीको निर्देशनः दलाली, चाकडी नगर्नोस्

काठमाडौ,२९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई दलाली वा चाकडी नगर्न निर्देशन दिएका छन् । साथै सरुवा बढुवामा कुनै गुनासो नआउने गरी काम गर्न प्रधानमन्त्री ओलीले प्रहरी अधिकारीहरुलाई सार्वजनिक मञ्चबाटै सचेत गराएका छन् ।

नेपाल प्रहरीद्वारा आयोजित १७८ औं दीक्षान्त समारोहको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘प्रहरी भनेको दलाली वा दमन गर्नका लागि होइन, कर्तव्य पालनाका लागि हो ।’

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार ढल्ने सम्भावना नभएको पनि उक्त अवसरमा बताए । सुशासन र विकासको क्षेत्रमा धेरै काम गरेर मात्रै सरकार बिदा हुने उनको भनाइ छ ।

प्रहरी अधिकृतहरूतर्फ लक्षित गर्दै प्रधानमन्त्रीले भने, ‘कसैलाई नौ–नौ महिनामा सरकार परिवर्तन हुन्छ भन्ने लागेको होला, तर यो सरकार हट्नुभन्दा अगाडि धेरै कुरा थितिमा ल्याउँछ ।’

प्रधानमन्त्री ओलीले प्रहरी नेतृत्वलाई कार्यसम्पादन मूल्यांकन र बढुवाका लागि न्यायोचित प्रणाली बनाउन निर्देशन दिए । प्रहरी जवानदेखि उच्च अधिकृत कसैले पनि अब संगठन भेदभावको अनुभूत गर्न नपर्ने उनको भनाइ थियो । प्रधानमन्त्रीले भने, ‘नेपाल सरकारले कोशेली र चाकडीको अपेक्षा गर्दैन ।’


कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले प्रहरीको नीतिगत तहबाहेकमा राजनीतिक हस्तक्षेप नभएको भन्दै प्रहरीलाई चनाखो भएर कार्यसम्पादन गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*