Home / Feature Breaking news / कांग्रेसले रोष्ट्रम घेराउ गरेपछि प्रदेशसभा बैठक स्थगित

कांग्रेसले रोष्ट्रम घेराउ गरेपछि प्रदेशसभा बैठक स्थगित

बुटवल, २२ माघ । नेपाली कांग्रेसका सांसदहरुले रोष्ट्रम घेराउ गरेपछि प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित भएको छ ।

थप गरिएको समय सकिन लाग्दासमेत प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस गर्न गठित बिशेष समिति राय सुझाव लिन जिल्ला नगएको विरोधमा कांग्रेसले मंगलबार रोष्ट्रम घेराउ गरेको हो ।

निर्धारित समय भन्दा ४५ मिनेट ढिला गरी सुरु भएको प्रदेशसभा बैठकमा सभामुख पूर्णबहादुर घर्तीले संसदको कार्य अगाडि बढाउन थाले लगत्तै कांग्रेस सांसदहरु आ–आफ्नो आशनबाट उठेर बिरोध जनाए ।

बिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले केही असहमति भएको बताएपछि सभामुख घर्तीले रोष्ट्रममै आएर आफ्ना कुरा राख्न समय दिएका थिए ।

प्रतिनिधित्वको नाममा बिशेष समितिलाई राय सुझाव लिन जिल्ला नखटाएर समितिको म्याद गुजार्ने षडयन्त्र भैरहेको भन्दै समितिका सदस्यहरुलाई काममा नखटाए सम्म कांग्रेसले संसद अवरोध गर्ने जानकारी गराए ।

बिशेष समिति गठन भएको अहिले छैठौं महिना चलिरहेको र अब पनि समितिले काम नथाले कामै सुरु नगरी म्याद सकिने भन्दै उनले समितिलाई तत्काल काममा खटाउन माग गरे ।

बिरोधका बाबजुद सत्ता पक्षका सचेतकले धारणा राखे

कांग्रेस सांसदहरुको बिरोधका बाबजुद पनि सभामुखले सत्ता पक्षीय नेकपाका सचेतक भूमिश्वर ढकाललाई बोल्न समय दिएपछि थप रुष्ट भएका कांग्रेस सांसदहरुले नाराबाजी गर्नुकासाथै टेबुल ठटाएर बिरोध जनाएका थिए ।

बिरोधका बाबजुद पनि नेकपाका सचेतकले रोष्ट्रममा उभिएर प्रदेशको नामाकरण र स्थायी मुकाम तोक्न सुझाव दिन गठित बिशेष समितिमा छुटेका जिल्लाहरुको प्रतिनिधित्व गराउनु पर्ने र थप गर्ने सदस्यहरुको नामावली आफ्नो पार्टीले सभामुखलाई दिइसकेको जानकारी गराएका थिए ।

प्रदेशको नामाकरण र स्थायी मुकाम तोक्न सुझाव दिन गठित समितिको सुझाव निर्णायक नहुने भन्दै उनले छुटेका जिल्लाहरुको समेत प्रतिनिधित्व गराएर मात्रै राय सुझावका लागि सांसदहरुलाई जिल्ला खटाउनुपर्ने नेकपाको धारणा रहेको बताए ।

एकाध बिषयमा बाहेक सत्ता पक्षले प्रतिपक्षी दलसँग सल्लाह र सहमति गरेरै अगाडि बढ्दै आएको भन्दै उनले आगामी दिनमा पनि सहमति र समझदारी गरेरै अगाडि बढ्ने उल्लेख गरे ।

प्रदेशको नामाकरण र स्थान छनौट गर्ने बिषय राजनितिक बिषय भएको भन्दै उनले समितिको प्रतिवेदनको आधारमा भन्दा पनि सो बिषय राजनीतिक सहमतिमै टुंगो लगाउनुपर्ने बिचार ब्यक्त गरे ।

तीन महिनाको समय दिएर गठन गरिएको बिशेष समितिको म्याद कामै सुरु नगरी सकिएपछि पुन तीन महिना म्याद थप गरिएकोमा अहिले तेस्रो महिना चलिरहेको छ ।

आफूहरुको बिरोधका बाबजुद पनि सत्ता पक्षका सचेतकलाई बोल्न दिएको भन्दै कांग्रेस सांसदहरुले रोष्ट्रम घेराउ गर्दै नाराबाजी जारी राखेपछि सभामुखले समितिको थपघट गर्ने मंगलबारको कार्यसूचीमा नरहेको भन्दै कार्यसूचीमै नभएको बिषयलाई एजेण्डा बनाएर संसद अवरुद्ध नगर्न आग्रह गरेका थिए ।

विपक्षी दलका नेताले आफ्नो कुरा राखेपछि त्यस बिषयमा सत्ता पक्षको धारणा जान्न नेकपाका सचेतकलाई बोल्न दिएको भन्दै सभामुख घर्तीले दुवै पक्षको धारणा आएपछि सहमति गर्न सहज हुने बताएका थिए ।

सभामुख घर्तीले बिगतमा विपक्षी दलसँगको समहमति र समझदारी गेरेर अगाडि बढेको भन्दै आगामी दिनमा पनि सहमति गरेरै अगाडि बढ्ने बताए ।

सभामुख घर्तीले पटकरपटक बिपक्षी दलका सांसदहरुलाई आ(आप्नो आशनमा गएर बस्न आग्रह गरे पनि कांग्रेस सांसदहरुले रोष्ट्रम घेराउ जारी राखेपछि सभामुख घर्तीले माघ २४ गते सम्मका लागि बैठक स्थगित गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*