Home / Feature Breaking news / गर्भ जाँच गराए ‘नुन’ उपहार

गर्भ जाँच गराए ‘नुन’ उपहार

दाङ । घोराही उपमहानगरपालिका वडा न १९ सैघाको स्वास्थ्य चौकीले गर्भ जाँच गराउने आउने आमालाई ‘आयोडिन नुन’ उपहार दिने गरेको छ । प्रत्येक पटकको गर्भ जाँचमा दुई पोका आयोडिन नुन र दुईवटा सावुन दिने गरेको छ ।

गर्भवती आमालाई प्रोत्साहन गर्नको लागि यो योजना लागु गरेको वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष हर्क घर्तिले बताए । उनका अुनसार यो योजना पुस १७ गतेदेखि शुरु भएको छ । योजना कार्यान्वनको लागि वडा कार्यालयले ५० हजार बजेट समेत विनियोजन गरेको छ । वडा आफैमा पहाडी क्षेत्र हो । पहाडी क्षेत्र भएकोले पनि यहाँ गर्भ चेकजाँच गराउन स्वास्थ्यचौकी आउने संख्या कम छ ।

‘पहाडी क्षेत्र छ । गर्भ जाँच गराउने चेतना पनि यहाँका आमाहरुमा कम छ । त्यो कारण स्वास्थ्य चौकीले आमा र शिशुको लागि यो कार्यक्रम ल्याएको हो’ अध्यक्ष घर्तीले भने ‘ अव नियमित गर्भ जाँच गराउने संख्या बढने विश्वास छ ।’ स्वास्थ्य चौकी सैघाका अनमी कुमारी सुनारका अनुसार यो वर्षमा ३८ जना गर्भवती आमाहरु गर्भजाँच गराउन आएका छन् ।

गत वर्ष १६ जना आमाले स्वास्थ्य चौकीमा बच्चा जनमाएका थिए । चालु वर्षमा ५ जना आमाले स्वास्थ्य चौकीमा आएर बच्चा जन्माएका छन् । गतवर्ष कम भएपनि यो वर्ष त्यो संख्या बढने अपेक्षा गरिएको छ । नियमित ४ पटक गर्भ जाँच र स्वास्थ्य संस्थामा आएर बच्चा जन्माएमा १ हजार ८ सय रुपैयाँ, आमालाई कपडा र न्यायो झोला समेत पाउने गरेका छन् । पहाडी क्षेत्र भएकाले नियमिति गर्भ जाँच गराउने संख्या पनि कम छ ।

गर्भ भएपनि लाजका कारण चेकजाँच नगराउने गरेका हुन । आमा र शिशुको स्वास्थ्यको लागि कम्तीमा चार पटक गर्भ जाँच गराउनु पर्ने हुन्छ । तर नियमित चार पटक चेकजाँच गराउने संख्या कम भएको स्वास्थ्य संस्थाले जनाएको छ । अनमी सुनारका अनुसार गर्भ रहेसँगै ४, ६ , ८ र ९ महिनामा चेकजाँच गराउनु पर्छ ।

होम डिलेभरीः गाउँमा अझै पनि होम डेलीभरी हुने गरेको छ । एकिन तथ्याङ नभएपनि गाउँमा अझै होम डेलभरी हुने गरेको छ । स्वास्थ्य संस्थामा गएर बच्चा जन्माएमा सरकारले प्रोत्साहन सोरुप पैसा दिने गरेको छ । तर भौगोलीक अवस्था र अन्य समस्याले अझैपनि घरमै सुत्केरी गराउने गरेको स्थानीयले जनाएका छन् । घरमा बच्चा जन्माउदा आमा र शिशुको ज्यान जोखिम हुने भएपनि केही आमा अझैपनि घरमै बच्चा जन्माउने गरेको स्वास्थ्य चौकीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*