Home / Feature Breaking news / मदिरा मुक्त महतिनियाँ गाउँ

मदिरा मुक्त महतिनियाँ गाउँ

लिलाधर वली
दाङ । विकासका आधारभुत आवश्यकतावाट बञ्चित दुर्गम बस्ती महतिनियाको आफनो छुट्टै विशेषता भने छ । त्यो विशेषता भनेको मदिरा बेच्न नपाउने हो । देउखुरीको राजपुर गाँउपालिका वडा नम्बर ५ महतिनिया गाउँमा विगत २० बर्षदेखि मदिरा निषेधित गाउँका रुपमा छ ।

विकासका हरेक हिसावले पछाडी परेको महतिनिया गाउँ मदिरा रोकथाममा भने जिल्लामै पहिलो नै छ । त्यसको अगुवाई महिलाहरुले गरेका छन् । गाउँमा रक्सी सेवनका दिनहु होहल्लादेखि कतिपयका घरसमेत विग्रने अवस्था आएपछि स्थानीय महिलाहरुले मदिरा निषेशित अभियानको थालनी गरेका थिए । महिलाहरुको सक्रियताका कारण २०५५ सालमा गाउँलाई मदिरा निषेधित घोषणा गरेका थिए ।

२०५५ सालतिर स्थानीय हिरा बुढाले रेडियो नेपालमा आमा समूहको पहलमा रक्सी नियन्त्रणदेखि जुवातास नियन्त्रण गरेको कुरा सुनिन । त्यसपछि उनको मनमा रक्सीले विग्रन थालेको आफनो गाउँलाई मदिरा निशेषधित गाउँ बनाउने इच्छा मनमा पलायो । त्यो समाचार सुनेपछि स्थानीय बुढाले गाँउका केही महिलाहरुसँग सल्लाह गरिन र ११ सदस्यीय दियालो आमा समूह समेत गठन गरिन ।

समूह गठनपछि समाजमा ठुलो समस्याको रुपमा रहेको मदिरालाई निषेधित गरिएको अभियान्ता एव दियालो आमा समूहकी सचिव हिरा बुढा बताउछिन । ‘रक्सीले समाजसँगै पुरुषहरुलाई विग्रान थालेपछि त्यसलाई रोक्न दिदीबहिनीहरु मिलेर अभियान थालेका हौ’,हिराले भनिन्,‘रक्सीले जगडिएको समाजलाई परिवर्तन गर्न सुरुमा निकै समस्या थियो ।’ मदिरा निषेधित गाउँ निर्माणका क्रममा धेरै समस्या भोग्नु परेको उनी बताउछिन । ‘२० बर्ष पहिले यो सानो गाउँ थियो,३०÷४० घर रहेको गाउँमा १० वटा रक्सी पसल थिए’,उनले भनिन्,‘रक्सीवाट पैसा कमाउने आशले गाउँका पुरै घरमा रक्सी पाइन्थ्यो ।’ विगतको स्मरण सुनाउदै हिराले भनिन,‘रक्सी विरुद्धको अभियानकै क्रममा घरमा बस्न नपाएपछि तीन रात जंगलमै बास बसेको थिए ।’

त्यो समयमा म रक्सी विरुद्धको अभियानमा लागेको थाहा पाएपछि कतिपयले घरमा आएर ज्यान मार्ने धम्की समेत दिएको उनीले बताइन । मदिरा विरुद्धको अभियानमा महिलाहरुसँगै युवाहरुले साथ दिएपछि अभियान सफल भएको र अहिले पहिले रक्सी खानेहरु नै अभियानमा लागेको देख्दा आफुलाई खुशी लाग्ने गरेको उनले बताइन । ८५ घरधुरी रहेको यस गाँउमा धेरै मगर समुदाय छन ।

चाडपर्व, विवाहलगायत विशेष अवसरमा घरमै रक्सी बनाएर खानेदेखि बाहिरवाट ल्याउने गरिएपछि गाउँमा मदिरा विक्रि गर्न नपाइने दियालो आमा समूहकी अध्यक्ष सिता बुढा बताउछिन । दुर्गम गाँउ महतिनिया खोला विगत २० वर्षदेखि मदिरा निषेिधत गाँउको रुपमा पहिचान बनाएको छ ।

महिलाहरुको यो अभियानलाई स्थानीय युवाहरुले सहयोग गरेका छन । ‘गाउँलाई मदिरा निधेषशित घोषणा गरेर कार्यान्वयन गर्न धेरै चुनौति रहेको थियो’,समूहकी अध्यक्ष सिताले भनिन्,‘यो अभियान युवाहरुको हामीलाई धेरै सहयोग मिलेका थियो ।’ रक्सी खाएकालाई जरिवाना गर्नेदेखि गाउँमा मदिरा ल्याउने घरवाट रक्सी खोस्ने कार्यमा महिला समूहरुलाई सहयोग गरेको बिशाल युवा क्लवका सहसचिव रेखबहादुर बुढाले बताए । अहिले गाउँमा रक्सी विक्रि गर्नेलाई र खानेलाई ५ हजारदेखि १० हजारसम्म जरिवाना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*