Home / Feature Breaking news / प्रदेश ३ को राजधानी तोक्न सकस

प्रदेश ३ को राजधानी तोक्न सकस

काठमाडौं । प्रदेश ३ को राजधानी तोक्ने विषयमा राजनीतिक सहमति नजुटेपछि अन्ततः मतदान प्रक्रियामा लैजाने तयारी प्रदेशसभाले गरेको छ । सोमबार प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा सर्वदलीय बैठक बसेको थियो ।
उक्त बैठकमा सत्तारूढ दलका नेताकै मत बाझिएपछि मतदान नै स्थायी राजधानीको समाधान भएको निष्कर्ष निकालिएको प्रदेशसभा सदस्य रामेश्वर फुयालले जानकारी दिए ।

उनका अनुसार सत्तारूढल दलको प्रतिनिधित्व प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गरेका थिए । त्यहाँ उनले कुनै हालतमा प्रदेशको स्थायी राजधानी हेटौंडा नै तोकिनुपर्ने कुरा राखेका थिए ।

उनकै कुरालाई समर्थन जनाउँदै कांग्रेसका संसदीय दलका नेता इन्द्र बानियाले हेटौंडा नै प्रदेशको राजधानी उपयुक्त भएको बताएका थिए । नेकपा र कांग्रेस बाहेक अन्य पार्टी प्रतिनिधिले भने हेटौंडा अपायक हुने ठहर गरेका थिए ।
सत्तारूढ दलका अधिकांश प्रदेशसभा सदस्यले हेटौंडा हुनै नहुने पक्षमा उभिएपछि दलीय सहमतिमा टुंगो नलाग्ने फुयालको भनाइ थियो ।

उनले प्रदेशसभा सदस्य दीपक निरौला नेतृत्वको समितिले सुझाव दिएको ५ ठाउँका लागि चुनाव हुने जानकारी दिए । निरौलाको संयोजकत्वको समितिले काभ्रेपलाञ्चोक, हेटौंडा, भक्तपुर, चितवन, नुवाकोटआदि ठाउँ प्रस्ताव गरेको थियो । सोही ठाउँलाई मतदानमा लैजाने फुयालले दाबी गरे ।

समझदारी कि ह्विप ?
राजधानी तोक्ने विषयमा पार्टीभित्रै समझदारी खोज्ने कि ? ह्विप लगाउने भन्ने विषयमा पनि नेकपाभित्र बिबाद देखिएको छ । मुख्यमन्त्री आफैँ हेटौंडाको पक्षमा उभिएकाले सत्तारूढ दलभित्र समझदारी हुने सम्भावना न्यूनप्रायः रहेको फुयालको भनाइ छ ।

स्रोतका अनुसार प्रदेशको स्थायी राजधानी तोक्ने विषयमा नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले नै टुंग्याउने तयारी पनि भएको थियो ।

तर, हेटौंडाबाट प्रदेशको राजधानी सारिए चितवन लानुपर्ने दबाब प्रचण्डलाई परेको छ । त्यस्तै केपी ओलीलाई पनि हेटौंडाबाट सार्नै दबाब बढेपछि प्रदेशसभाले नै टुंग्याउने तहमा पार्टी पुगेको स्रोतको दाबी छ ।

प्रदेशसभा सदस्य फुयालका अनुसार राजधानी तोक्ने विषयमा मतदान नै भए ह्विप लगाउने तहमा दलभित्र कुराकानी भएको छैन । संविधानतः प्रदेशसभाका दुईतिहाई सदस्यले प्रदेशको स्थायी राजधानी तोक्न सक्छन् । प्रदेशसभामा नेकपामा दुईतिहाई मत पनि छ । तर, प्रस्तावित पाँच ठाउँमा मत बाँडियो भने दुईतिहाई पुग्ने कि नपुग्ने भय कायमै छ । यस्तो अवस्था पार्टीको केन्द्र अथवा प्रदेश कमिटीले नै प्रदेशको राजधानीका सम्बन्धमा निर्णय गर्नुपर्ने नेकपाका सांसदहरूको राय छ ।

“संसदीय काम पनि पार्टी कामकै अङ्ग हो, यसबारेमा पार्टीमै छलफल हुनुपर्छ,” सांसद फुयाल तर्क गर्छन् ।

वागमती कि नेपाल मण्डल ?

प्रदेशको राजधानीजस्तै ३ नम्बर प्रदेशको नामाकरणमा पनि उस्तै विवाद छ । वामगती, नेपाल मण्डल, राजधानी, गौरीशंकर, वागमती–नेवा–ताम्सालिङ आदि नामका विषयमा सांसदहरूले छलफल चलाइएका छन् । तर, प्रदेशको राजधानी नटुंग्याइ नाममा प्रवेश नगरिने फुयालको भनाइ छ । उनले सबैलाई मान्य हुनेगरी नाम तोक्दा, वामगती र राजधानी प्रदेशमध्ये एक हुनसक्ने सम्भावना औँल्याए । बाह्रखरी अनलाइनवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*