Home / Feature Breaking news / किन बढ्दैछ विश्वमा ‘प्रहरी इन्काउन्टर ?

किन बढ्दैछ विश्वमा ‘प्रहरी इन्काउन्टर ?

एजेन्सी । अमेरिकामा मात्र प्रत्येक वर्ष एक हजार मानिसको पुलिसको हातबाट मृत्यु हुने गरेको छ । तर यता फिनल्यान्डको पुलिसले सन् २०१३ मा देशभरबाट केबल ६ गोली मात्र चलाएको थियो । यसरी अन्य कुनै ठूलो देश सो सङ्ख्या नजिक पुगेको छैन । वास्तवमा अमेरिकी पुलिसहरुले अरु देशमा भन्दा धेरै धम्की र खतराको सामना गर्नु पर्ने हुनाले पनि उनीहरु काममा मारिने सम्भावना जर्मनीको तुलनामा ३५ गुना बढी रहेको बताइएको छ । अझ गरिब देशहरुको अवस्था यो भन्दा भयानक रहेको द इकोनोमिस्टले जनाएको छ ।

एकदम धेरै जोखिम मोलेर काम गर्नुपर्ने र कम जवाफदेही हुने गरेकाले नै त्यस्ता मुलुकहरुमा यो समस्या बढ्दै गएको पाइएको हो । जस्तै पछिल्लो समय फिलिपिन्समा लागू औषधविरुद्धको अभियानमा पुलिसको सामूहिक इन्काउन्टरमा हजारौँले ज्यान गुमाएका थिए । यसरी फिलिपिन्सका राष्ट्रपति रोड्रिगो आफैँले लागु औषधको व्यापार वा सेवनमा संलग्न दोषीहरुलाई मार्न निर्देशन दिएका थिए जसपछि देशभर सो कदमबारे चर्को बहस चलेको थियो । फिलिपिन्स सरकारले जानकारी दिएअनुसार यस अभियानमा ६ हजारको ज्यान गएको छ तर मानव अधिकारवादी समूहले भने त्यो भन्दा दुई गुना बढी मानिसहरु यसको शिकार भएको दाबी गरिरहेका छन् ।

सन् २०१५ मा एल साल्भाडरका उपराष्ट्रपतिले पनि पुलिसलाई अपराधिक ‘ग्याङ’ का सदस्यलाई चिन्तमुक्त भएर गोली हान्न निर्देशन दिएका थिए । यसपछि पुलिसको हातबाट मृत्यु हुने ग्याङको सङ्ख्या सन् २०१३ मा ३९ जनाबाट २०१६ मा एकैचोटी ६०३ पुगेको हो । त्यस्तै पाकिस्तान र भारतमा पनि अपराधीहरु इन्काउन्टरमा मारिनु सामान्य भइसकेको छ । पुलिस निकायले यस्ता घटनालाई ‘संदिग्ध अपराधीहरु सुट आउटमा मारिएको’ भनी उल्लेख गर्ने गरेको छ । तर यस्ता घटनाहरुमा कतिपटक पुलिसहरु पनि घाइते हुने गरेको पाइन्छ ।

यता पाकिस्तानमा मात्र १९९७ देखि २०१६ सम्म यस्ता ८ हजार ८ सय इन्काउन्टरका घटना रेकर्ड भएको खबर गरिएको छ । तर धेरै अवस्थामा पुलिसहरुले कानुनी प्रक्रियाबिना नै अपराधीको हत्या गर्ने गरेको पाइएकाले पनि इन्काउन्टरका घटना अझै बढ्न पुगेको समाचारमा उल्लेख छ ।

त्यसैले पुलिसहरुलाई उत्तरदायी बनाउन उनीहरुहरुको शरीरमा ‘बडि क्यामरा’ जडान गर्न सकिने विज्ञहरुको सुझाव छ जसले सर्वसाधारणसँग उनीहरुको सम्पूर्ण अन्तरक्रिया रेकर्ड गर्न सक्नेछ । यसरी नै सन् २००० सालको सुरुवातमा कोलम्बियाले १२ हजार भ्रष्ट पुलिसहरुलाई निकालेको थियो र नयाँ नियुक्तहरुलाई वैध ढङ्गमा राम्रो काम गर्न प्रशिक्षण दिएको थियो ।

त्यसैगरी पुलिसहरुलाई बन्दुक जस्तो प्राणघातक हतियारको सट्टा हाइ भोल्ट करेन्ट भएको टिजरको बढी प्रयोग गर्न पनि प्रोत्साहन गर्न सकिने बताइएको छ । त्यस्तै गरिब देशहरुमा भने लामो अवधिका पुलिसहरुलाई पर्याप्त पारिश्रमिक दिन आवश्यक रहेको देखिएको छ । साथै शक्ति दुरुपयोगविरुद्ध पनि कडा कारबाही लागु गरिनुपर्छ । तर यसमा राष्ट्रप्रमुखहरुले सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ किनकि उनीहरुमा सबै जनताको जीवन उत्तिकै मूल्यवान छ भन्ने मानसिकता विकास हुन जरुरी छ र अपराधीको सजायँ निर्धारण गर्ने अधिकार पनि केबल अदालतले मात्र पाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*