Home / Feature Breaking news / सडक र पुल निर्माणमा ७२ करोड

सडक र पुल निर्माणमा ७२ करोड

लिलाधर वली
दाङ,१४ मंसिर । दाङमा यस बर्ष सडक र पुल निर्माणका लागि प्रदेश सरकारले ७२ करोड बढि रकम छुट्याएको छ । जिल्लाका विभिन्न स्थानका ६ स्थानमा नयाँ पुल निर्माण र ५० बढि सडकको स्तरवृद्धिका प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले यसआर्थिक बर्षमा ७२ करोड ३३ लाख रुपैयाँ बिनियोजन गरेको पूर्वाधार विकास कार्यालय दाङले जनाएको छ ।

पूर्वाधार विकास कार्यालय दाङका निमित्त प्रमुख बाशुदेव भण्डारीका अनुसार यस बर्ष समानीकरण शिर्षकमा ६ वटा नयाँ पुल निर्माण र ३७ वटा सडकको स्तरवृद्धिको लागि ६० करोड ३३ लाख ३८ हजार रपैयाँ बिनियोजन गरेको बताए । त्यस्तै सशक्त अनुदानतर्फ जिल्लामा पहिलो बर्ष १३ वटा सडकका लागि ६ करोड २० लाख रुपैयाँ र राष्ट्रिय ग्रामीण सडक सुदृढीकरण कार्यक्रम अन्तर्गत ५ करोड ८० लाख रुपैयाँ कार्यालयले बिनियोजन गरेको निमित्त कार्यालय प्रमुख भण्डारीले जानकारी दिएका छन ।
कार्यालयले बजेट बिनियोजन भएपनि प्रदेश सरकारले काम गर्न अख्तीयारी नदिएकाले काम सुरु गर्न नसकिएको बताए । ‘बजेट बिनियोजन भएको पहिलो चौमासिक सकिएको छ’, निमित्त कार्यालय प्रमुख भण्डारीले भने,‘ तर मन्त्रालयले काम गर्नका लागि अख्तीयारी नदिदा काम गर्न सकिएको छैन ।’

संघीयता कार्यान्वयनमा रहेकाले प्रदेश मन्त्रालयले ढिला गरि जिल्लामा कार्यालय स्थापना गरेकाले पनि जिल्लामा भौतिक पूर्वाधारको काम हुनु नसकेको बताए । दाङमा पूर्वाधार विकास मन्त्रालय यहि मंसिर २ गते स्थापना भएको हो । कार्यालयले गतबर्ष जिल्ला प्राविधिक कार्यालयले जिल्लामा गर्दै आएका विकास निर्माण कार्यहरुलाई गर्ने भएको छ । प्रदेश सरकारले यसआर्थिक बर्ष बिनियोजन गरेका नयाँ योजनाहरुसँगै गतबर्षसम्म जिल्ला प्राविधिक कार्यालयले जिल्लामा सडक तथा पुल निर्माणका क्षेत्रमा गर्दै आएका विकास निर्माणका कार्यहरु गर्ने गरि कार्यालय स्थापना भएको उनले बताए ।

तर गतबर्षसम्म सञ्चालन भएका र बाँकी रहेका सडक तथा पुलहरुमा यो बर्ष मन्त्रालयले बजेट अझैसम्म नगरेको समेत बताए ।
यसबर्ष कार्यालयले पश्चिम दाङको पवननगर–पुरन्धारा जोडने च्याटी खोलामा, गढवा– गंगापरस्पुर जोड्ने जनरेल खोलालगातका ६ स्थानमा नयाँ पुल निर्माण गर्ने भएको हो । जस अनुसार यी दुई वटा पुलहरुको डिपिआर समेत गरिएको कार्यालय प्रमुखले जनाए । त्यस्तै कार्यालयले अन्य स्थानहरुमा सडकहरु स्तर उन्नतिसँगै सडक पिच गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।

कार्यालयमा ४ जना मात्र कर्मचारी
त्यस्तै कार्यालयमा कर्मचारीको समेत समस्या रहेको छ । प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय दाङमा कार्यालय प्रमुखसहित १८ जना कर्मचारीको दरवन्दी गरेपनि अहिलेसम्म जम्मा ४ जना मात्र कर्मचारी रहेका छन । प्रदेश सरकारले कर्मचारी पठाउने बताएपनि अझै कर्मचारी पठाउन नसकेको निमित्त कार्यालय प्रमुख भण्डारीले बताए । भण्डारीका अनुसार प्रदेश सरकारले बिनियोजन गरेको बजेट कार्यान्वयनका लागि अख्तीयारी दिए जिल्लामा काम गर्ने कर्मचारीको समस्या हुने समेत बताए । मन्त्रालयले अख्तीयारी दियो भने दोश्रो चौमासिकसम्म सम्पुर्ण योजनाहरु सम्झौता गरि कार्यान्वयनको काम अघि बढ्ने कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*