Home / Feature Breaking news / नाम र काम फरक हुनु नै निर्माण व्यवसायको रोगः मुख्यमन्त्री

नाम र काम फरक हुनु नै निर्माण व्यवसायको रोगः मुख्यमन्त्री

घोराही, १३ मंसीर

पाँच नम्बर प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेलले निर्माण व्यवसायीहरुको मुख्य रोग भनेको एउटाको नाम अर्काको काम रहेको बताएका छन् ।

निर्माण व्यवसायी महासंघ प्रदेश नम्बर ५ को प्रथम साधारण सभा तथा अधिवेशनको दाङको घोराहीमा उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले एउटा निर्माण कम्पनीले ठेक्का लिने र अर्कैले काम गर्ने गरेका कारण गुणस्तरिय निर्माण काम हुन नसकेको भन्दै यो संस्कार अन्त्य गर्न आवश्यक रहेको बताए ।

उनले विवादमा रहेको पप्पु कन्ट्रक्सनको उदाहरण दिदै एउटाको नाममा टेण्डर लिने र अर्कै निर्माण कम्पनीले काम गर्ने गरेको बताए । यसको अन्त्य गर्न सकेमा निर्माण कार्यमा हुने ढिलासुस्ती र गुणस्तहिनताको अन्त्य हुने विश्वास गरे ।

पोख्रेलले निर्माण कम्पनीहरुको सानो लापरवाहीले देशले ठुलो आर्थिक नोक्सान बेहोर्नुपर्ने बाध्यता रहेको बताए । साथै निर्माण व्यवसायीहरुलाई जिम्मेवार भएर निर्माणका काम गर्न निर्देशन पनि दिए ।

महासंघका केन्द्रिय अध्यक्ष रवी सिंहले निर्माणसम्वन्धी ऐनहरु संशोधन गर्न सरकारलाई अनुरोध गरे । उनले निर्माणको काममा ढिलाई हुनु, गुणस्तरिय नहुनुमा निर्माण कम्पनीमात्र दोषी नभई कर्मचारीहरु पनि दोषी रहेको बताए ।

महासंघका अध्यक्ष बलिभद्र रानाको अध्यक्षतामा भएको उयद्घाटन कार्यक्रममा निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष यज्ञध्वज कार्की, पूर्व अध्यक्ष जयराम लामीछाने, वरिष्ठ उपाध्यक्ष निकोलश पाण्डे, पूर्वउपाध्यक्ष लक्ष्मण राना, नेपाली कांग्रेसका जिल्ल उपसभापति कमानसिंह भारति, नेकपाका केन्द्रिय सदस्य निर्मल आचार्य, केन्द्रिय महासचिव रोशन दाहाल, निर्माण व्यवसायी महासंघ ७ नम्बर प्रदेश अध्यक्ष मदनबहादुर कुँवर, प्रदेश ६ का अध्यक्ष मोहन आचार्य, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासन, निर्माण व्यवसायी संघ गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उद्घाटन कार्यक्रमको सहजिकरण चन्द्र शर्माले गरेका थिए । अधिवेशनले शुक्रवार नयाँ नेतृत्व चयन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*