Home / Feature Breaking news / सडक कालोपत्रेका लागि करिव डेढ अर्व बजेट

सडक कालोपत्रेका लागि करिव डेढ अर्व बजेट

लिलाधर वली
दाङ,२९ कार्तिक । दाङमा सहरी क्षेत्रका ८ वटा सडक कालोपत्रेका लागि करिव डेढ अर्व बजेट बिनियोजन भएको छ । सघन सहरी विकास कार्यक्रम अन्तर्गत तीन बर्षभित्र ३९ किलोमिटर सडक कालोपत्रे गर्नका सहरी विकास मन्त्रालयले एक अर्व ३३ करोड ४९ लाख रुपैयाँ बिनियोजन भएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय दाङका अनुसार तीन बर्षभित्र सडकको स्तर उन्नतिसहित कालोपत्रे गर्नका लागि तीन प्याकेजका लागि एक अर्व ३३ करोड ८९ लाख रुपैयाँ बिनियोजन गरेको कार्यालयका सूचना अधिकारी भूपेन्द्रकुमार यादवले जानकारी दिए । यादवका अनुसार पहिलो प्याकेजअन्तर्गत सर्रा–धर्ना सडक खण्डको सर्रादेखि सौडियार बबई पुलसम्म र नारायणपुरदेखि नारेबाङ सडकको ७÷७ किलोमिटर गरि १४ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । दुवै सडक कालोपत्रेका लागि मन्त्रालयले ५२ करोड १० लाख रुपैयाँ स्वीकृत गरेको छ । त्यस अन्तर्गत सर्रा–सौडियार सडक खण्डमा नाला निर्माणको काम भईरहेको समेत यादवले जानकारी दिए । जसअन्तर्गत सडक १२ चौडाईमा ७ मिटर कालोपत्रे हुने कार्यालयले जनाएको छ ।

त्यस्तै कार्यालयको दोश्रो प्याकेज अन्तर्गत बासकोटदेखि बाँसगजेरीसम्मको ११ किलोमिटर सडक कालोपत्रेका लागि मन्त्रालयले करिव २८ करोड रुपैयाँ बिनियोजन गरेको कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी यादवका अनुसार तेश्रो प्याकेज अन्तर्गत बिपी राजमार्गको बालिम खोलादेखि सिमलतारासम्मको ५.९ किलोमिटर, घोराहीको प्रहरी बोर्डिङ स्कुलदेखि खिरिट्टेसम्मको २.३ किलोमिटर सडक, घोराही उपमहानगरपालिका १५ अन्तर्गत जिल्ला मालपोत कार्यालयदेखि आर्मी व्यारेकहुदै भरतपुर जोड्ने १.१०८ किलोमिटर सडक, घोराही–१४ मा झिगौरादेखि स्वर्गद्धारी आश्रम हुँदै गोर्खा हस्पीटलदेखि भेटेनरी कार्यालयसम्म जोड्ने २.८ किलोमिटर सडक र ल्याण्डफिल साइडदेखि बाहुनडाडाहुँदै लेटारसम्मको ३ किलोमिटर गरि जम्मा १४ किलोमिटर सडक कालोपत्रेका लागि ५३ करोड ३९ लाख रुपैयाँ मन्त्रालयले बिनियोजन गरेको छ ।

मन्त्रालयले बिनियोजन गरेको बजेट अनुसार जिल्लामा सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले विकास निर्माणका योजनाहरु कार्यान्वयनका लागि काम सुरु गरेको सूचनाअधिकारी यादवले बताए ।

पहिलो प्याकेज अन्तर्गत सर्रा–सौडियार सडक खण्डमा नाला निर्माणको काम भईरहेको सूचनाअधिकारी यादवले बताए । पहिलो तथा तेश्रो प्याकेजअन्तर्गत सात वटा सडक निर्माण तथा कालोपत्रे गर्नका लागि गत असारमा रमण के.एस.जेभी निर्माणसँग सम्झौता भए अनुसार निर्माण कम्पनीले पहिलो चरणको काम गर्न थालेको हो । ‘सडक कालोपत्रेका लागि सघन सहरी तथा भवन निर्माण आयोजना र निर्माण कम्पनीले सयुक्त सर्भे गरिसकेका छौ’, सूचनाअधिकारी यादवले भने,‘त्यहि अनुसार निर्माण पक्षले सडक तथा नालाको ड्रोइङ डिजाइनर गरेर नाला निर्माणको काम सुरु गरिसकेको छ ।’

तीन वटै प्याकेज तीन बर्षभित्रै काम गरि सक्ने गरि सम्झौता गर्नुपर्ने भएपनि मन्त्रालयको ढिलाईका कारण दोश्रो प्याकेज अझै सम्झौता हुन नसकेको बताए । ‘पहिलो र दोश्रो प्याकेज सडक कालोपत्रेका योजनाहरु सम्झौता भईसकेका छन’,उनले भने,‘मन्त्रालयको ढिलाई कारण दोश्रो प्याकेजमा रहेको बासकोटदेखि बासँगजेरीसम्मको सडक सम्झौता हुन सकेको छैन ।’ यादवका अनुसार उक्त सडक पनि छिट्टै सम्झौता हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*