Home / Feature Breaking news / प्रधानमन्त्रीले उद्घाटन गरेको गोबर ग्यास बन्द

प्रधानमन्त्रीले उद्घाटन गरेको गोबर ग्यास बन्द

काठमाडौं, २६ भदौ

प्रधानमन्त्री केपी ओलीले भदौ ५ गते विराटनगरमा गोबर ग्यास उद्घाटन गर्दै भनेका थिए- आज ३२ घरले सिलिन्डरका डल्ला फाले।

उनले पाइपमार्फत घर-घरमा ग्यास बलेको देखिएको बताएका थिए। ‘सिलिन्डर युगको अन्त्य भएको’ घोषणा पनि गरेका थिए।

प्रधानमन्त्री ओलीको घोषणा उल्टिन धेरै दिन कुर्नु परेन। घरमा पुगेको पाइपमा महिना दिन नपुग्दै ग्यास आउन छोडेको छ। चाडबाडको मुखमा प्लान्ट बन्द भएपछि ‘फालेका’ सिलिन्डर स्थानीयले भान्सामा ल्याउनु परेको छ।

ओलीसहित ऊर्जा मन्त्री वर्षमान पुन, कानुन मन्त्री भानुभक्त ढकाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संयुक्त रुपममा उद्घाटन गरेको गोबर ग्यास प्लान्ट २० दिनमै बन्द भएको हो।

विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसेवा सदनबाट उत्पादन थालिएको गोबर ग्यास महिना नपुग्दै थान्को लागेपछि प्राविधिकहरू मर्मतमा जुटेका छन्। प्लान्टका प्रमुख इन्जिनियर ज्ञानेन्द्र सिंहका अनुसार एक सातादेखि प्लान्ट बन्द भएको हो।

ग्यास उत्पादन गर्ने ‘मेम्ब्रेम’मा समस्यालगायत कारण प्लान्ट बन्द भएको हो। सिंहले ‘मेम्ब्रेम’ बिग्रिएको नभएर जाम भएकाले खोलेर सफा गरिरहेको बताए। ‘जिल्ला समन्वय समितिबाट जेनेरेटर उपलब्ध हुँदैछ, हामी प्राविधिक पक्षलाई कसरी बलियो पार्न सकिन्छ भनी काम गरिरहेका छौं,’ उनले भने, ‘भर्खरै जोडिएको हुनाले पनि समस्या आइरहेको हो।’

उनका अनुसार नियमित बिजुली आपूर्तिको समस्याले पनि प्लान्ट बन्द गर्नुपरेको हो। ‘जेनेरेटर छैन, बिजुली आपूर्ति पनि नियमित छैन,’ सिंहले भने, ‘यस्तो अवस्थामा अनवरत् ग्यास दिन नसकिएकाले बन्द गरेका हौं।’

उनका अनुसार ग्यास प्रसारण भइरहेको उपकरण ‘कम्प्रेसर’ पनि एउटा मात्रै छ, जसले ३२ घरलाई पनि थेगेको छैन। ‘डिमान्ड बढेपछि ग्यास फाल्न छोड्छ, त्यसैले अर्को कम्प्रेसर पनि माग गरेका छौं,’ सिंहले भने।

‘कम्प्रेसर’ स्वचालित उपकरण हो। बढी चाप परेपछि यो आफैं बन्द हुन्छ। ‘अहिले देखिएको प्राविधिक समस्या असोज पहिलो सातासम्म मात्र समाधान गर्न सकिन्छ,’ इन्जिनियर सिंहले भने, ‘कम्पनीको मान्छेहरू आएर चुलो परिवर्तन गर्दै पनि हुनुहुन्छ।’

विराटनगरमा सञ्चालन गरिएको गोबर ग्यास प्लान्ट सीमित जनतालाई लक्षित गरी निर्माण गरिएको थियो। यो परम्परागत गोबर ग्यासभन्दा केही आधुनिक छ। यसमा जडित ‘ग्यास मिटर’ नयाँ हो। उपभोक्ताको चुलोमा ‘ग्यास कन्जङ्सन’ र बाहिर राखिएको ‘ग्यास प्रेसर’ उपकरण नयाँ हुन्।

श्रीकृष्ण गौसेवा सदनमा पालिएका २ सय ५ वटा गाइको गोबरबाट बायो ग्यास उत्पादन सुरू गरिएको थियो। वरिपरिका ३२ घरमा पाइपबाट ग्यास पुर्‍याइएको थियो।

अघिल्लोपटक प्रधानमन्त्री हुँदा भारतले नाकाबन्दी लगाएपछि ओलीले ‘पाइपबाट घर–घरमा ग्यास पुर्‍याउने’ महत्वकांक्षी योजना सुनाएका थिए। त्यसो भन्दा उनी आफैं आलोचित बनेका थिए। दोस्रोपटक प्रधानमन्त्री हुँदा विराटनगरमा जमिनमुनिबाट गोबर ग्यासको पाइप घर-घरमा जोडिएपछि ओली हौसिँदै मन्त्रीहरू नै लिएर उद्घाटन गर्न पुगेका थिए।

गौसेवा सदन सञ्चालक समितिले भदौ ५ गते प्रधानमन्त्रीलाई गोबर ग्यास निरीक्षणमा मात्र आमन्त्रण गरेको थियो। तर, आफ्नो ‘महत्वकांक्षी योजना’ साकार भएको सन्देश दिन समितिलाई प्रधानमन्त्रीको टोलीले उद्घाटनै गर्नुपर्छ भनी दबाब दिएको थियो। सम्बद्ध अधिकारीहरूले पर्याप्त तयारीबिनै उद्घाटन गरिएकाले प्लान्टमा समस्या आएको जनाएका छन्।

गौसेवा सदन सञ्चालक समितिका अध्यक्ष शंकर अग्रवालले भने प्लान्टमा कुनै समस्या नआएको बताए। ‘थप ४८ घरमा ग्यास विस्तार गर्नको लागि केही समय प्लान्ट बन्द गरिएको हो,’ अग्रवालले भने।

उनका अनुसार उद्घाटन गर्नुपूर्व पाँच–सात दिन अगाडि प्रधानमन्त्रीले निरीक्षण मात्र गर्ने कार्यक्रम थियो। ‘प्राविधिक रुपमा तयारी पूरा हुने भएपछि प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको हो,’ अग्रवालले भने।

३२ घरमा जमिनमुनिबाट ग्यास पाइप बिछ्याइएको छ। केही समयमै बढाएर ६४ घरमा पुर्‍याउने तयारी थियो। जम्मा ८० घरमा ग्यास पुर्याउने लक्ष्य हो। यो प्लान्टले तीन सय घनमिटर ग्यास उत्पादन क्षमता राख्छ।

विराटनगर महानगरपालिको १२ लाख, विश्व बैंक र नेपाल सरकारको १ करोड ११ लाख र गौसेवा सदनको सहयोगमा प्लान्ट निर्माण गरिएको थियो।

गौशाला सदनले उत्पादित गोबरको सदुपयोग गर्न माग गर्दै २०७२ पुस ९ गते निवेदन दिएको थियो। खेर गइरहेको गोबरबाट ग्यास उत्पादन गर्दा वरिपरिका स्थानीयलाई राहत पुग्ने भन्दै गौसेवा सदनले जिल्ला विकास समिति (हाल समन्वय समिति)मा निवेदन दिएको थियो।

जिससको पहलमा वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रले २०७३ सालमा सम्भाव्यता अध्ययन गरेको थियो। २०७३ माघ २४ मा महानगरपालिकासँग ग्यास उत्पादनका लागि छलफल भयो र २०७४ असोज २१ मा घर–घरमा ग्यास वितरण गर्ने निर्णय भएको थियो।

जिविसकै पहलमा २०७५ असार २२ गते पाइपलाइन बिछ्याउन सम्झौता भई काम अघि बढेपछि गोबर ग्यास सुरू भएको हो।

नेपालमा गोबर ग्यास बलेको वर्षौं भइसकेको छ। नेपालमा सन् १९७५ देखि गोबर ग्यास बल्न थालेको हो। कृषि विकास बैंकको अनुदानमा नेपालका ग्रामीण भेगमा गोबर ग्यास निर्माण थालिएको हो।

जैविक ग्यास, गोबर ग्यास, बायो ग्यास जे भने पनि सड्न सक्ने चिज वस्तु कुहाएर निस्कने ग्यास हो। यसबाट ज्वलनशील मिथेन ग्यास निस्किन्छ। बायो ग्यासमा करिब ६५ देखि ८० प्रतिशत मिथेन ग्यास निस्किन्छ।

इन्जिनियरहरूका अनुसार जमिन खनेर बनाइएको खाल्डोमा न्यूनतम् २५-३० डिग्री तापक्रम भए मात्र ग्यास उत्पादन हुन्छ। तापक्रम घट्नेवित्तिकै ग्यास उत्पादनमा असर पर्छ। हिउँदमा यो प्लान्ट राम्रोसँग नचल्न सक्छ। ‘हिउँदमा तापक्रम घट्छ, यस्तो बेला ट्यांकीमा बाहिरबाट हिटिङ दिन पनि सकिन्न,’ इन्जिनियरहरू भन्छन्।

‘वाटर ड्रेन’ छुट्टै चाहिन्छ, जो विराटनगरको प्लान्टमा छैन। यसको असर बिछ्याइएको पाइपमा पर्छ। पाइप जाम हुन्छ। जमिनमुनि बिछ्याइएको पाइप खनेर पुनः सफा गर्न निकै झन्झट हुन्छ। यस्तै, इथेन ग्यास उत्पादनका लागि शुद्ध गोबर चाहिन्छ। हिजोआज गाईलाई विभिन्न प्रकारका दाना, औषधि खुवाइएको हुन्छ, त्यस्तो गोबरबाट ग्यास उत्पादनमा ह्रास आउँछ।

 

सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*