Home / Feature Breaking news / दुधमा आत्मनिर्भर बन्दै दाङ, ४६ वटा दुग्ध उद्योग संञ्चालन

दुधमा आत्मनिर्भर बन्दै दाङ, ४६ वटा दुग्ध उद्योग संञ्चालन

विमला घर्ती
दाङ, ५ भदौ

गाई भैँसीपालन गरी दुध उत्पादन गर्नेहरुको संख्या दिनानुदिन बढीरहेको छ । कृषकले दुध वेचेर तत्काल आम्दानी गर्न सक्ने र गरिरहेको यो क्षेत्रमा पछिल्लो समयमा लगानी वृद्धि भएको छ भने रोजगारीका अवसरहरु सृजना गरेको छ ।

दाङमा दुग्ध उद्योगको क्षेत्रमा करोडौ रुपैँयाको लगानी गरिएको छ । दुध उत्पादन, प्रशोधन र वितरण लगाएतको क्षेत्रमा प्रत्यक्ष रोजगार पाउनेहरुको संख्या पनि धेरै छ । कृषकहरुको रोजगारीको समेत दुग्ध क्षेत्र आधार बन्दै गएको छ ।

दाङका दशवटा स्थानीयपालिका मध्य घोराही र तुलसीपुर उपमहानगरपालिका लमही नगरपालिका राप्ती, गढवा र बबई गाउँपालिकामा डेरी उद्योग संचालन गरिएको छ । जहाँ करोडौ रुपैँया लगानी र कारोवार हुँदै आएको छ ।

जिल्लाका यी सात स्थानीयतहमा संचालन भएका दुग्ध उद्योग मार्फत धेरैले रोजगारी पनि पाएका छन्, भने कृषकहरुको दुध उत्पादनले बजार पाएको छ । दाङ जिल्लामा अहिले ४६ वटा दुग्ध उद्योग संचालनमा रहेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्क अनुसार घोराही उपमहानगरपालिका क्षेत्रमा १६ वटा उद्योग रहेका छन् । यहाँ एक करोड ३२ लाख ३१ हजार कुल लगानी गरिएको छ भने ५८ लाख १५ हजार सात सय चालु पुँजी लगानी, ७४ लाख १५ हजार तीन सय रुपैँया स्थिर पुजी रहेको जानकारी गराइएको छ । जहाँ १४ करोड ८५ लाख २७ हजार सात सय ४० रुपैँया उत्पादन क्षमता रुपैँया रहेका छ ।

पछिल्लो समयमा विदेश गएर फर्कने नेपालीहरु समेत गाई र भैसी पालन गरेर दुग्ध उत्पादनसँग जोडिन थालेका छन् । सरकारले उचित नीति तथा कार्यक्रम तय गरेमा अझै लाखौं युवा रोजगारीको लागि समेत दुग्ध उत्पादनको क्षेत्र बन्न सक्ने सरोकारवालाहरु बताउछन् ।

आइसक्रिम, खुवा, पेडा लगायतका अन्य दुग्ध पदार्थ समेतको उत्पादन पछि बढ्दै गइरहेको छ । मानिसको दुध र दुग्ध्जन्य पदार्थ उपभोग गर्ने बानीमा परिवर्तन भएका कारण दुधको खपत वर्षेनी बढ्दै गएको छ ।

उता तुलसीपुर उपमहानगरपालिकामा १० वटा दुग्ध उद्योग संचालनमा रहेका छन् । सो क्षेत्रमा ९५ लाख ४४ हजार ६ सय १० रुपैँया कुल लगानी रहेको छ । ४४ लाख ७५ हजार पाँच सय १० रुपैँया चालु लगानी रहेको छ भने ५० लाख ६९ हजार एक सय रुपैँया स्थिर पुँजी छ ।

उत्पादन क्षमताको कुरा गर्ने हो भने, एक करोड आठ लाख ४० हजार रुपैँया उत्पादन क्षमता छ । स्मरणिय छ, तुलसीपुर उप महानगरपालिकाले गत असारमा विभिन्न डेरी उद्योगलाई फ्रिज वितरण गरेको थियो ।

लमही नगरपालिकामा आठ वटा डेरी उद्योग संचालित छन् । लमहीमा पनि एक करोड ६२ लाख ८५ हजार रुपैँया उत्पादन क्षमताका उद्योग संचालन भएको घरेलु तथा साना उद्योग कार्याल्य दाङले जानकारी गराएको छ ।

लमही नगरपालिकामा ५२ लाख ५३ हजार चार सय रुपैँया उद्योगमा कुल लगानी रहेको छ । जसमा ३७ लाख ८४ हजार चार सय रुपैँया स्थिर तथा १४ लाख ६९ हजार चालु लगानी रहेको हो ।

राप्ती गाउँपालिकामा २ वटा मात्र डेरी उद्योग संचालनमा रहेको देखिएको छ । यद्दपि राप्ती गाउँपालिका क्षेत्रमा अन्य डेरी उद्योगहरु पनि रहेको देखिन्छ । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई संचालनमा आएका दुग्ध उद्योग दुई वटा मात्र रहेको देखिएको भएपनि दर्ता विना संचालन भइरहेको पाइन्छ ।

राप्तीमा गरिएको लगानी ६९ लाख ३१ हजार पाँच सय रुपैया रहेको छ । राप्ती गाउँपालिकाका दुई डेरी उद्योगमा ३२ लाख रुपैँया कुल लगानी रहेको छ । २० लाख ६९ हजार स्थिर र १२ लाख ३१ हजार चालु लगानी रहेको जानकारी गराइएको छ ।

गढवा गाउँपालिकामा चार वटा डेरी उद्योग संचालनमा रहेको छ । जहाँ एक करोड ६९ लाख रुपैँयाको उत्पादन क्षमता, ९१ लख ३० हजार कुल लगानी रहेको जानकारी गराइएको छ ।

यस्तै बबई गाउँपालिकामा पनि दुई वटा दुग्ध उद्योग संचालित छन् । जसमा ९१ लाख ३० हजार रुपैँया कुल लगानी रहेको देखिएको छ । ४६ लाख २५ हजार स्थिर र ४५ लाख ५० हजार चालु लगानी रहेको जानकारी गराइएको छ ।

एक लाख ४४ हजार रुपैँयाको उत्पादन क्षमता भएको पनि बताइएको छ । यी तथ्याङ्क हेर्दा गाउँपालिका स्तरमा दुग्ध उद्योगमा लगानी लगाउन नसकिएको र उद्योग संचालनमा चुनौती देखिएको प्रष्ट भएको छ ।

कृषकलाई सहुलियत ऋण, घाँस उत्पादन तथा पशु खरिदमा सहुलियत, बीमाको व्यवस्था, उपकरण खरिदमा सहुलियत, कृषकलाई आवश्यक तालिम, दक्ष प्राविधिकको उपलब्धताजस्ता विषयमा सरकारले ठोस कदम अगाडी बढाउन कृषक तथा दुग्ध उद्योगीले अनुरोध गर्दै आएका छन् ।

दाङ जिल्लामा डेरीजन्य उद्योग र लगानी हरेक बर्ष बढ्दै गएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत उमवहादुर वलीले बताउनुभयो । विगतमा बाहिरबाट दुध ल्याउनुपर्ने र घरमा एक÷दुईवटा गाई भैसी पालन गर्नेले डेरीसम्म दुध ल्याउने चलन नरहेकोमा पछिल्लो समय बचेको दुध बेच्ने क्रम बढेको छ ।

दुध खरिद गरेर बजारसम्म ल्याउनेहरुका कारणले गर्दा दाङका तीनवटा गाउँपालिकामा डेरी उद्योग नभएको उद्योग अधिकृत वलीले बताउनुभयो । ‘गाउँको तुलनामा बजारमा दुधको खपत ज्यादा हुने भएकाले बजारमा उद्योगहरु बढी खुल्ने गरेको पाइन्छ ।’ वलीले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*