Home / Feature Breaking news / किसानको झ्याल ….

किसानको झ्याल ….

lilad
लिलाधर वली
दाङ । घोराहीको डबरीमा जनप्रतिनिधिहरुले असार पन्ध्रमा राष्ट्रिय धान दिवस मनाइरहँदा नारायणपुर सौंडीकुलाका किसान रोइरहेका थिए । कारण उनको झ्यालले बाँझोखेत मात्रै देखाउँथ्यो । घाँस मात्रै पलाएको थियो, त्यो झ्यालको गरेलाबाट हेर्दा । तुलसीपुरको वम्नैमा उपमहानगरपालिकाका अधिकारीहरुले धान दिवस मनाइरहँदा मानपुरको झिंगैका किसानहरु व्याड रोप्नै नपाएर तड्पिरहेका थिए ।

दलालीमा चलेको छ किसानी, विचौलियामा चलेको छ कृषि बजार, तर किसान संघीय अधिकार खोजिरहेका छन् । उनीहरु आशावादी छन्, कृषिलाई वैज्ञानिक प्रणालीमा लगेर आयआर्जनको माध्यम बनोस् । कृषिबाट मात्रै मुलुकको समृद्धि भनेर साउन पहिलो साता प्रदेश सरकारका मुख्यमन्त्रीले भाषण गरिरहँदा घोराही उपमहानगरपालिकाको सौंडीकुलामा किसानहरुले पानी माग्दै पूजा गरिरहेको अवस्थाले किसानहरुले सरकारलाई भन्दा भगवान्लाई भरोसा गर्नथालेका छन् । जे होस् दाङको समृद्धिको पहिलो आधार कृषि नै हो । तर राज्यलाई अझै पर्याप्त दबाब नपुगेको वा राज्यले नचाहेको किसानले बुझेका छैनन् । तैपनि आखिरि भरोषा कृषिकै छ । किसान आशावादी छन्, समृद्धिका लागि ।

दाङमा धान, मकै, गहूँ, मसुरो, तोरीलगायतका विभिन्न कृषि खेती हने गर्दछ । परम्परगत कृषि व्यवसायलाई आधुनिकीकरण गर्न सकिने हो भने कृषिका माध्यमबाट जिल्लालाई समृद्ध बनाउन सकिन्छ । त्यसका लागि कृषिको विकासमा राज्यले ठोस योजना ल्याउन आवश्यक छ ।

आर्थिक वर्ष २०७२÷०७३ सालको तथ्यांक अनुसार दाङमा ६५ हजार ९ सय ० हेक्टर जमिनमा कृषि खेती गरिँदै आइएको छ । जसमध्य ३ हजार हेक्टरमा धान, २४ हजार एक सय ५० हेक्टरमा मकै, २७ हजार ५ सय ९० मसुरो, १२ हजार ६ सय ५० हेक्टर जमिनमा गहूँ,१८ हजार ५ सय २५ हेक्टरमा तोरी, ५ हजार एक सय ४ हेक्टरमा तरकारी, ३ हजार २२ हेक्टरमा फलपूmल, २ हजार २ सय ५० हेक्टरमा आलु, ३ सय ७५ हेक्टरमा चना, २ सय ८ हेक्टरमा आलु र २ हजार ५ सय २ हेक्टरमा अन्य विविध बाली कृषि व्यवसाय हँुदै आएको छ ।

त्यस्तै ३४ हजार ७ सय ७ खेत र ३१ हजार २ सय ७३ जमिन बारीका रुपमा रहेको छ । जसमध्ये ६० हजार बढी हेक्टरमा सिचाईको सुविधा भएको तत्कालीन जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जसमध्ये ३९ हजार २ सय ११ हेक्टरमा मौसमी तथा १९ हनार ६ सय ५१ हेक्टर जमिनमा बाह्रैमहिना सिचाईको सुविधा हुने गरेको छ । ६ हजार ७ सय १८ हेक्टर जमिनमा सिचाईंको सुविधा भएको साविक जिल्ला कृषि विकास कार्यालय दाङका बरिष्ठ कृषि विकास अधिकृत दीपकराज शर्माले बताए ।

 

कृषि व्यवसायको लागि जिल्लामा भरपर्दाे सिंचाईको व्यवस्था छैन । जसका कारण यो वर्ष पनि साउनको आधा महिना बितिसक्दा समेत जिल्लाको कूल धानखेती हुने जमिनको आधा जमिन साउनको १५ सम्म पनि बाँझै रहेको थियो । जसका कारण किसानहरु पानी पार्नका लागि भगवान्को नाममा पूजा गर्नतर्फ लागे । पानी नपर्दा किसानहरु धन रोप्नका लागि राखेको पहेंलै भएको व्याड र सुख्खा खेत हेर्न बाध्य छन् ।

दाङ मूलतः तीनवटा उपत्यकामा बाँडिएको छ । जसमध्ये एउटा दाङ उपत्यका, देउखुरी उपत्यका र तुइदाङ उपत्यका गरी तीन उपत्यका विभाजित छ । यी तीन उपत्यका आ–आफ्नै विशेषताहरु रहेका छन् । त्यहीअनुसार विभिन्न कृषि व्यवसाय समेत हुने गरेको छ । तीन क्षेत्र मध्य देउखुरी क्षेत्रमा सिंचाईको व्यवस्था देखिन्छ । देउखुरी क्षेत्रमा धान, मकै, मसुरो, गहूँलगायतका खेतीसँगै राम्रो तरकारी खेती हुने गर्दछ । देउखुरीको तुलनामा दाङ उत्यका र तुइदाङ उपत्यकामा सिंचाईको सुविधा अझै हुनसकेको छैन । यहाँको अधिकांश भू–भाग आकाशे पानीमा निर्भर रहने गर्दछ ।

 

दाङ उपत्यकामा धान, मकै, मसुरो, तोरी, गहूँलगायतका कृषि बालीपछि फलपूmल खेती हुने गर्दछ । फलपूmलतर्फ कागती, केरा, अनार, अम्बा, एभोगाडो, आँपलगायतका फलपूmलहरुको व्यावसायिक खेती हुनथालेको छ । देउखुरी र पश्चिम क्षेत्रमा केरा खेती फष्टाउँदो अवस्थामा रहेको छ ।

त्यससँगै पछिल्लो समय तरकारी खेती, माछापालन तथा पशुपालन समेत फष्टाउँदै अवस्थमा छ । माछापालनको लागि घोेराही उपमहानगरपालिका वडा नं. ५ लाई विशेष क्षेत्रका रुपमा लिइने गरिएको छ । त्यसका साथै देउखुरी क्षेत्र तथा तुलसीपुर उपमहानगरपालिका, बबई, दंगीशरण, शान्तिनगर गाउँपालिकाका विभिन्न क्षेत्रमा समेत व्यावसायिक माछापालन हँुदै आएको छ । घरेलु तथा साना उद्योग विकास शाखा घोराहीका अनुसार जिल्लाको करिब दुई सय हेक्टरभन्दा बढी जमिनमा व्यावसायिक माछापालन हुँदै आएको छ । ६१ वटा माछापालन तथा उत्पादन फर्महरु दर्ता छन् । त्यसमा सात करोड २० लाख ६१ हजार आठ सय पँुजी लगानी भएको छ । जसमध्ये दुई करोड ९३ लाख ३९ हजार ५ सय चालु पुँजी रहेको छ भने ४ करोड २७ लाख २२ हजार तीन सय रुपैयाँ स्थिर पुँजी रहेको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत उमबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार वार्षिक एक करोड ७३ लाख २४ हजार मूल्य बराबरको माछा उत्पादन हुने गर्दछ । माछापालन व्यवसायमा ५२ पुरुष र ९ महिला गरी ६२ जना उद्यमी र एक सय ५२ पुरुष र एक महिला गरी एक सय ५३ जनाले रोजगारी प्राप्त गरेका छन् । माछापालन व्यवसायले व्यावसायिक नाफासँगै रोजगारी समेत सिर्जना गरेको व्यवसायीहरुले बताउने गरेका छन् ।

त्यस्तै केही वर्षदेखि जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम (सुपरजोन) लागू भएको छ । यसले जिल्लाको कृषि विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ । त्यही अनुसार देउखुरी क्षेत्रमा मकैखेतीका लागि वीऊ, सिंचाईसँगै बाली रोप्न, काट्नदेखि घरमा भित्राउनका लागि आवश्यक विभिन्न यन्त्र, उपकरण समेत उपलब्ध गराउँदै आएको छ । यसले किसानको आयस्तरमा परिवर्तन ल्याउनेदेखि नयाँ पुस्तालाई कृषि व्यवसायमा आकर्षण गर्ने सरकारको अपेक्षा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम (सुपरजोन) लमहीका सूचना अधिकारी पिताम्बर बस्नेतले बताए ।

उनका अनुसार देउखुरीमा मकै खेतीको लागि किसानहरुलाई प्राविधिक सहयोगसँगै व्यावसायिक कृषि तालिमसमेत दिँदै आएको छ । पछिल्लो समय पश्चिम दाङका शान्तिनगर, दंगीशरण र बबई गाउँपालिकालाई तोरी पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना अघि सारेको छ । यसका लागि तोरी खेतीका लागि उन्नत जातको वीऊ, सिंचाईको व्यवस्था, तोरीखेतीसम्बन्धी तालिमसँगै उत्पादन गरिएको तोरीको बजारीकरणको व्यवस्था समेत सरकारले गरिदिने भएपछि किसानहरु उत्साहित भएका छन् ।

दाङ तरकारी खेतीका लागि समेत राम्रो सम्भावना भएको जिल्ला हो । विभिन्न प्रजातिका तरकारीहरुसँगै टमाटर खेतीमा जिल्ला प्रख्यात छ । टमाटरको लागि घोराही उपमहानगरपालिका वडा नं. १८ लाई विशेष क्षेत्रका रुपमा राज्यले लिने गरेको छ । हुन पनि उक्त क्षेत्रमा किसानहरुले ठूलै मात्रामा टमाटर खेती गर्दै आएका छन् । यसका साथै देउखुरी, रामपुरलगायत पश्मिमी दाङमासमेत टमाटरको राम्रो खेती हुँदै आएको छ । सुपरजोनले किसानहरुमा राम्रो परिवर्तन ल्याउने अपेक्षा गरेका छन् ।

उसो त दाङ अण्डा उत्पादनका लागि आत्मनिर्भर जिल्लामा पर्दछ । दैनिक करिब साढे २ लाख अण्डा उत्पादन हुने गर्दछन् । साविका जिल्ला पशु सेवा कार्यालय दाङकाअनुसार जिल्लाका देउखुरी तथा दाङ उपत्यकाका विभिन्न स्थानमा दैनिक २ लाख ३४ हजार तथा मासिक ७० लाख ३८ हजारभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएका अण्डा अधिकांश जिल्लामा खपत हुने गरे पनि बाँकी जिल्ला बाहिर जाने गरेको कार्यालयले जनाएको छ ।

जिल्लामा ६४ बढी कुखुरा फर्मबाट दैनिक उक्त अण्डा उत्पादन हुने गरेको जिल्ला पशु सेवा कार्यालय दाङका प्रमुख चन्द्रबहादुर राना बताउँछन् । अण्डा उत्पादनका लागि व्यवसायीहरुले लेयर्स जातका कुखुराहरु पाल्ने गरेका छन् । जिल्लामा उत्पादन भएको ९० प्रतिशत अण्डा जिल्ला बाहिर जाने गरेको प्रमुख रानाले बताए । त्यत्तिकै मात्रमा जिल्लामा मासुका लागि समेत कुखुरा फर्महरु रहेका छन् । व्यावसायिक कुखुरापालनले किसानहरुलाई आत्मनिर्भर मात्रै बनाएको छैन, धेरैलाई जिल्लामै रोजगारीसमेत प्रदान गरेको छ ।
त्यसैगरी जिल्लामा पछिल्लो समय ऊँखु, रेसम, च्याऊखेतीलाई समेत व्यावसायिक रुपमा गर्न थालिएको छ । यसले कृषकहरुलाई व्यवसायमा आत्मनिर्भर बनाउन थप मद्दत गरेको छ । आशा छ, अब हामी कृषिमा आत्मनिर्भर हुने छौं । राज्यले कृषिलाई निर्वाहमुखीभन्दा व्यावसायिक बनाउन किसानहरुलाई प्रेरित गरिरहेको छ । उत्पादनको क्षमता बढाउँदै जाँदा त्यो उत्पादनलाई उचित बजारीकरण र मूल्य समायोजन गर्नतर्फ राज्यले विशेष योजना बनाउन आवश्यक भइसकेको छ ।

कृषिको विकास गर्नसके मात्र जिल्लाको समृद्धिमा ठूलो फड्को मार्नसकिने कृषि क्षेत्रका जानकार बताउँछन् । त्यसका लागि कृषि क्षेत्रलाई लक्षित गरेर जिल्लामा खुल्दै गएका कृषिजन्य उद्योगहरु उदाहरणका रुपमा रहेका छन् । सम्भावनाका ढोका खुलेका र खुल्ने मध्यमा कृषि क्षेत्र एउटा आन्तरिक रोजगारीको प्रमुख आधार हो । अहिले दाङको कृषि क्षेत्रमा प्रचुर सम्भावना देखिएको र राज्यले पनि विभिन्न शीर्षकमा किसानलाई सहुलियत दरमा ऋण, अनुदान तथा आधुनिक कृषि औजारको पनि सहयोग गर्दै आएको यसले कयौ विदेशी भूमिमा पसिना चुहाउन वाध्य युवाहरुलाई स्वदेशमै केही गर्नुपर्छ भन्ने भावना जागृत गरेको छन् । त्यसको उदाहरणको रुपमा जिल्लामा धेरै किसानहरुले काम व्यावसायिक रुपमा तरकारी खेती समेत गर्दै आएका छन् । त्यस्ता युवाहरुलाई राज्यले प्रोत्साहन गर्नुपर्छ ।

पछिल्लो समय जिल्लाको कृषि क्षेत्रमा यान्त्रिकीकरणको प्रयोगसमेत बढ्दै गएको छ । जस्तो उदाहरणका रुपमा खेत जोत्न टेक्टर, रोप्न, काट्न, मकै दाना छोडाउन तथा धान काट्न तथा दाउन समेत औजारको प्रयोग बढ्दै गएको छ । राज्यले कृषि क्षेत्रलाई प्रोत्साहनसँगै मल, वीऊको आपूर्ति सजतासँगै अब दाङ एग्रोेहव बन्नसक्छ, त्यसमा अझै वैज्ञानिक कृषि प्रणालीमा सहजता ल्याउन आवश्यक छ । त्यसका लागि हरेक स्थानीय तहले आफ्नो क्षेत्रमा कृषिको विकासका लागि विशेष योजनाहरु बनाउन आवश्यक रहेको कृषि क्षेत्रका जानकारहरु बताउँछन् । कृषकले विगतमा आफूलाई मात्र आवश्यक पर्ने खाद्यान्न, माछा–मासु, फलफूल, तरकारी उत्पादन गर्ने गर्दथे भने अहिले व्यावसायिक रुपमा गर्न शुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*