विमला घर्ती
घोराही, २९ साउन
के तपाईले २० वर्ष पुराना गाडी चलाइरहनुभएको छ ? ख्याल गर्नुहोस् ट्राफिक प्रहरीले तपाईको गाडी नियन्त्रणमा लिन सक्छ ।
गत आर्थिक वर्ष २०७४÷०७५ को चैत महिना देखि यातायात व्यवस्था विभागले पुराना गाडी संचालनमा रोक लगाउने निर्णय गरेको थियो । सोही अनुसार जिल्लामा पनि पुराना गाडी तर्फ ट्राफिक प्रहरीको नजर पुगेको छ ।
त्यसयता जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले २० बर्ष पुराना चार वटा गाडीहरु नियन्त्रणमा लिइसकेको छ । यसरी नियन्त्रणमा लिइएका गाडीहरुमा दुई वटा ट्रक र दुई वटा जिप छन् ।
ति मध्य दुई वटा यातायात व्यवस्था कार्यालयमा गई लगत कट्टा गरिएको छ भने दुई वटा गाडी ट्राफिक प्रहरीको नियन्त्रणमा राखिएको छ । वातावरण प्रदुषणमा पुराना गाडीले प्रभाब पारेको भन्दै सरकारले २० बर्ष पुराना गाडी रोक लगाउने नीति बनाएको हो ।
चार सय २६ पुराना गाडी
यातायात व्यवस्था कार्यालय राप्तीको तथ्याङ्कमा रहेका पुराना गाडीहरु फेला पार्न भने गाह्रो भएको छ । यातायात व्यवस्था कार्यालय राप्तीको रेकर्डमा २० बर्ष पुराना गाडीको संख्या चार सय २६ वटा रहेका छन् ।
जिल्ला ट्राफिक प्रहरीले भने चारवटा गाडी मात्र फेला पारेको छ ।
अन्य गाडीहरु कहाँ र कुन अवस्थामा छन्, भन्ने कुराको पत्ता लाग्न सकेको छैन् । यातायात ब्यवस्था कार्यालय राप्तीको रेकर्ड अनुसार बस, ट्रक र टिप्पर ५५ वटा, कार, जिप, डेलिभरी भ्यान एक सय ६१ वटा, टेक्टर एक सय ७२ र अटोरिक्सा, टेम्पो ३८ वटा गरि कुल चार २६ वटा २० बर्ष पुराना सवारी साधन रहेको कार्यालय प्रमुख वासुदेब खतिवडा बताउनु भयो ।
यातायात कार्यालयमा पुराना गाडीको रेकर्ड भएतापनि सवारी धनीहरुले आफै ब्यवस्थापन गरेको हुनसक्ने उहाँले बताउनु भयो । यातायात समितिहरुले भने आफूहरुसंग २० बर्ष पुराना एउटा पनि गाडी नभएको दावी गरेका छन् ।
यद्यपी जिल्लाको दुर्गम स्थानहरुमा त्यस्ता सवारी साधन चलिरहेको हुनसक्ने बताइन्छ । पहाडी भेगमा संचालन भइरहेका तथा जिल्लाका केही दुर्गम स्थानहरुमा जाने जीपहरु पुराना भएको भएपनि व्यवस्थापन हुन नसकेको वताइएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले अनुगमनलाई कडाई गर्ने र पुराना गाडी भए पूर्ण रुपमा विस्थापित हुने गरी नियन्त्रणमा लिइने बताएको छ ।
हटाउनुपर्ने कारण
जिल्लामा पछिल्लो समयमा सवारी दुर्घटनाको संख्यामा बृद्धी भएको छ । दुर्घटनाको प्रमुख कारणका रुपमा पनि पुराना गाडी संचालन हुनु रहेको ट्राफिक प्रहरी कार्यालयका प्रहरी जवान लालवहादुर देउवाको भनाई छ ।
दुर्घटना न्यूनीकरण गाडी थोत्रो हुनु दुर्घटनाको प्रमुख कारण रहेको उहाँले बताउनुभयो ।
गाडी पुरानो भएकै कारण ब्रेक नलाग्दा तथा अन्य नट बोल्टले काम नगर्दा दुर्घटना भइरहेका छन् । नेपालमा प्रदूषण ज्यादा गर्ने ३० वर्षभन्दा पुराना गाडी सञ्चालनमा छन् ।
पुराना गाडीले धेरै धुँवा फाल्ने भएकाले प्रदूषण बढाउने वातावरण विदहरुको भनाई छ । नयाँ गाडीमा प्रदूषण नियन्त्रणको प्रविधिसमेत हुने भएकाले प्रदूषण कम हुने बताइएको छ ।