Home / समाचार / दाङ उद्योग वाणिज्य संघले कोसेली घर सञ्चालन गदैँ

दाङ उद्योग वाणिज्य संघले कोसेली घर सञ्चालन गदैँ

अमरराज आचार्य
दाङ, २८ साउन

जिल्लामा उत्पादन भएका वस्तु तथा जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रको जानकारी एकै स्थानबाट दिने उद्देश्यले कोसेली घर सञ्चालन गरिने भएको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराहीमा कोसेली घर सञ्चालनमा ल्याउन थालेको हो । जिल्लामा निजी क्षेत्रको लगानीमा पहिलो पटक कोसेली घर सञ्चालनमा ल्याउन थालिएको हो । यसका लागि करिब २५ लाख बढी रकमखर्च लाग्ने दाङ उद्योग वाणिज्य संघका महासचिव नरेश कार्कीले जानकारी दिए ।

संघको कार्यालय नजिकै कोसेली घर सञ्चालन गर्ने गरी तयारी गरिएको दाङ उद्योग वाणिज्य संघका सचिव तथा कोसेली घर व्यवस्थापन समितिका संयोजक मायाकुमारी पोख्रेलले जानकारी दिइन् ।

कोसेली घरमा जिल्लाको पहिचान झल्काउने वस्तु तथा सामग्री राखिने उद्योग वाणिज्य संघले जानकारी दिएको छ । हाल कोसेली घरका लागि निर्माण कार्य सुरु भएको संघले जनाएको छ ।

यसरी निर्माण गर्न थालिएको कोसेली घर भदौ अन्त्यबाट सञ्चालनमा ल्याउने गरी काम भइरहेको समितीका संयोजक पोख्रेलले जानकारी दिइन् ।

कोसेली घरमा जिल्लामा सबै पहिचान समेटिने गरी सञ्चालनमा ल्याइने उनको भनाइ छ । जसले गर्दा जिल्लामा आउने पर्यटक तथा जिल्लाभित्रका पर्यटकहरूलाई समेत जिल्लाका बारेमा जानकारी हुनेछ ।

“बाहिरबाट आउने व्यक्ति कोसेली घरमा पुगेमा जिल्लाका बारेमा सबै जानकारी लिन सक्ने गरी हामी अगाडि बढेका छौं,” संयोजक पोख्रेलले भनिन् । कोसेली घर व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि उद्यमीहरूसँग छलफलसमेत सुरु गरिएको छ । जिल्लामा रहेका विभिन्न समुदायहरूसँग छलफल सुरु गरिएको उनको भनाइ छ ।

कोसेली घरमा जिल्लामा उत्पादन हुने सबै खाद्य वस्तु, च्याउ, मह, सिन्की, अचार, चिप्स, ढकिया, माटाका भाँडा, ध्यु, तथा धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलका बारेमा समेत जानकारी लिन सक्ने गरी व्यवस्था गरिने भएको छ ।

कोसेली घरमा सबै सामग्री राखिने र किन्न चाहनेहरूलाई समेत किन्न सकिने व्यवस्था गरिने संयोजक पोख्रेलको भनाइ छ । यसले गर्दा उद्यमीहरूलाई बजारको खोजी रहनुपर्ने बाध्यता नहुने उनले बताइन् ।

कोसेली घर सञ्चालनमा आएपछि साना लगानीमा उद्यमी बनेका लागि प्रोत्साह तथा बजारी करणमा समेत सहज हुने उद्योग वाणिज्य संघको अपेक्षा छ ।

यसले उद्यमी बन्नसमेत प्रोत्साहन मिल्नेछ भने बजारको मागअनुसार वस्तु उत्पादन गर्न उद्यमीहरू अगाडि बढ्ने छन् ।

यसरी निजी क्षेत्रबाट सञ्चालनमा ल्याउन थालिएको कोसेली घरमा सबैको सहयोग रहने अपेक्षा उद्योग वाणिज्य संघको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*