Home / Feature Breaking news / लमही–कोईलाबास सडकमा वितरण हुन भएन मुआब्जा, फाईल नमिल्दा समस्या

लमही–कोईलाबास सडकमा वितरण हुन भएन मुआब्जा, फाईल नमिल्दा समस्या

बिमला घर्ती
घोराही, २८ साउन

लमही–कोईलावास सडकखण्डमा स्तरोन्नतीका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण शुरु हुन ढीलाई भएको छ ।

पहिलो चरणमा सूचना प्रकाशित गरी सार्वजनिक गरिएका जग्गाका जग्गा धनिलाई चेक मार्फत मुआब्जाको रकम वितरण गर्न शुरु गरिने भनिएपनि मुआब्जाका लागि माग भई आएका फाईलमा उल्लेखित विवरण नमिल्दा कामको प्रक्रिया अघि बढाउन ढिलाई भईरहेको लमही स्थित मालपोत कार्यालयले जनाएको छ ।

हुलाकी सडक कार्यालयले फाईल पठाउदा त्यसमा लेखिएका विवरणहरु नमिल्दा, बैंकमा जग्गा रोक्का भएको बारेमा जानकारी नहुदा, जग्गाको श्रेस्ताहरु कायम नभएको पाइएका फाईलहरु आउदा काम गर्न समस्या परेको मालपोत कार्यालय लमहीका नायव सुब्वा गंगाराम बुढाले जानकारी दिनुभयो ।

‘मुआब्जा वितरण गर्ने जग्गा बैंकमा पनि रोक्का छन् । श्रेस्ता कायम पनि नभएका छन्’ नायव सुब्वाले भन्नुभयो ‘हामि कहाँ आएका फाईलहरु कुनै वाँकि छैनन् ।

नापी कार्यालय लमहीका प्रमुख कृष्ण अधिकारीले मालपोतबाट आदेश भएर आएका फाईलहरुको कित्ता काट गर्ने काम भैरहेको बताउनुभयो । ‘हामि बाट ढिलो भएको छैन् ।

मिलेको जति कित्ता काट गरेर पठाउने गरेका छौं । धेरैको जग्गाको क्षेत्रफल नमिल्दा काम गर्न समस्या परेको हो’ क्षेत्रफल मिलेर आएकाहरुको कित्ता काटेर पठाएका छौं । यहाँ आएका फाईल मध्य धेरै फाईल सुधारको लागि पठाउनुपरेको छ ।’

गत वर्ष असोज २५ गते मुआब्जा निर्धारण समितिको वैठकले जग्गाको मुल्य निर्धारण गरेको थियो । सोहि मुल्यको आधारमा मुआब्जा वितरण थालिएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले मुआब्जा वितरण सुरु गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । सडक निर्माणको नाममा लामो समय देखि लमही–कोईलावास सडकखण्डमा व्यक्तिका नाममा रहेको सात सय ९९ कित्ता व्यक्तिगत जग्गा रोक्का छ ।

मुआब्जा वितरण नहुँदा सडक स्तरोनन्तीको काम प्रभावित भएको थियो भने जग्गाधनीले समेत जग्गाको विक्रि वितरण, अंश वण्डा, गर्ने काम समेत गर्न पाएका छैनन् । सडकका लागि केन्द्रविन्दु बाट दायाँ÷बायाँ १५÷१५ मिटर भित्र पर्ने जग्गाहरुको कित्ता काट गरेर अधिग्रहण गरिएको हो ।

हाल मुआब्जा वितरण गर्नु नपर्ने स्थानमा सडक स्तरोन्नतीको काम धमाधम भईरहेको र मुआब्जा वितरण सँगै बाँकी क्षेत्रमा पनि सड्क स्तरोन्नतीको कामले गति लिने प्रजिअ श्रेष्ठले बताउनुभयो ।
 
मुआब्जाका लागि पैंतिस करोड निकासा

लमही कोइलाबास सडकखण्डमा मुआब्जा बापत ३५ करोड रुपैयाँ निकासा भएको छ  । पहिलो चरणमा तीन करोड बढि रकम वितरण हुनेछ । पहिलो चरणमा लमही नगरपालिका भित्र रहेका ५६ जना जग्गा धनिलाई तीन करोड छ लाख ८३ हजार एक सय रुपैयाँ, गढवा गाउँपालिका भित्रका १४ जना जग्गा धनिलाई ११ लाख १४ हजार दुई सय ९५ रुपैयाँ मुआब्जा वाफत वितरण गरिदैछ ।

मालपोत कार्यालय लमहीले गत वर्ष माघ ११ गते देखि काम सुरु गरेको थियो । हालसम्म मुआब्जा का लागि तीन सय ८३ किता जग्गा भएका तीन सय २१ जना जग्गाधनिले लमही स्थित मालपोत कार्यालयमा मुआब्जा का लागि फाईल पेश गरेका छन्  । जस मध्य एक सय ९९ जग्गा धनिको दुइ सय २९ कित्ताको काम सकिएर मुआब्जा वितरण का लागि काम अघि बढेको लमही स्थित मालपोत कार्यालयका नायब सुब्बा गंगाराम बुढाले जानकारी दिनुभयो ।

पचहतर प्रतिशत जग्गाधनीलाई रकम पुग्ने

७५ प्रतिशत जग्गा धनिलाई अहिलेको रकमले मुआब्जा दिन पुग्ने हुलाकी सडक योजना कार्यालय नेपालगञ्जका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिनुभयो  । ‘सडक कार्यालयको नाममा जग्गा पास भएका जतिको रकम जिल्ला प्रशासन कार्यालयमा पठाएका छौं । जति छिटो नापि र मालपोतवाट काम हुन्छ । उति छिटो रकम उपलब्ध हुन्छ’ उहाँले भन्नुभयो ।

‘मुआब्जाको कारण सडक निर्माणमा कुनै ढिलाई हुन दिने पक्षमा छैनौं मुआब्जाका लागि हुलाकी सडक कार्यालयले मालपोत कार्यालय लमहीमा जग्गाहरुको फाईल पठाउने, मालपोत कार्यालयलले कित्ता काटको लागि नापि कार्यालयमा पठाउने र नापि कार्यालयले कित्ता काट गरेर सडक कार्यालयको नाममा जग्गा पास गर्न मालपोत कार्यालयमा पुनः फाईल पठाउनु पर्ने प्रक्रिया तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*