Home / Feature Breaking news / ट्राफिक कारबाहीः ‘पहिलो मोटरसाईकल, दोस्रो ट्रक’

ट्राफिक कारबाहीः ‘पहिलो मोटरसाईकल, दोस्रो ट्रक’

बिमला घर्ती
घोराही, २७ साउन ।

दाङमा ट्राफिक नियम विपरित सवारी चलाउनेहरुको संख्यामा कमी आउन सकेको छैन् । ट्राफिक नियम उलंघन गरी कारवाहीमा पर्ने सवारीहरुको संख्या बर्षेनी बढ्दो छ ।

ट्राफिक प्रहरी कार्यालय दाङले समय–समयमा ट्राफिक नियम सम्बन्धी सचेतनाका वारेमा कार्यक्रम संचालन गरिरहेको छ तर ट्राफिक नियम उलंघन गर्नेहरुको तथ्याङ्कमा कमी आउन सकेको छैन् ।

नियम संगत चल्न नसकेका हजारौ सवारी साधन कारवाहीमा पर्ने गरेका छन् । गत बर्ष मात्र ३२ हजार सात सय ९२ सवारी साधन कारवाहीमा परेको जानकारी दिइएको छ । जसवाट एक करोड ९५ लाख ६० हजार रुपैँया राजस्व संकलन गरिएको छ ।

कारवाहीमा पर्ने सवारी साधनहरुमा मोटरसाइकलको संख्या धेरै भएको ट्राफिक प्रहरी जवान लाल बहादुर देउवाले जानकारी दिनुभयो । उहाँका अनुसार १४ हजार ९२ मोटरसाइकल कारवाहीमा परेका छन् ।

जसवाट ८८ लाख १४ हजार रुपैँया राजस्व संकलन भएको छ । जिल्लामा मोटरसाइकल चलाउनेहरुको संख्या धेरै भएको र नियम जान्दा जान्दै पनि उलंघन गर्नेहरु भेटिएको जानकारी दिएको छ । लाइसेन्स नभएका, हेलमेट नलगाएका, जथाभावि पार्किङ गरिएका लगाएतका नियम उलंघन गरेका मोटरसाइकल चालकहरुलाई कारवाही गर्ने गरिएको छ ।

मोटरसाइकल पछि धेरै कारवाहीमा पर्ने साधनमा ट्रकको संख्या  धेरै देखिएको छ । आर्थिक बर्ष २०७४÷०७५ मा छ हजार पाँच सय ४६ वटा ट्रक कारवाहीमा परेका छन् । अधिकांश ट्रकहरु ओभरलोड तथा जथाभावी पार्किङका कारण कारवाहीमा परेका छन् । जसवाट ३७ लाख ६८ हजार रुपैँया राजस्व संकलन भएको जानकारी दिइएको छ ।

यस्तै तीन हजार एक सय ४६ वटा बसलाई कारवाही गरिएको छ । जसवाट १७ लाख ७० हजार पाँच सय रुपैँया राजस्व संकलन भएको छ । चार हजार दुई वटा जिपकारलाई नियम उलंघन गरेको भन्दै कारवाही गरिएको छ । जसवाट दुई लाख २६ हजार आठ सय रुपैँया राजस्व संकलन भएको प्रहरी जवान देउवाले जानकारी दिनुभयो ।

उहाँका अनुसार चार हजार ७७ वटा टेक्टर कारवाहीमा परेका छन् । भने २३ लाख १७ हजार पाँच सय रुपैँया राजस्व उठेको छ । गत बर्ष नौ सय २९ वटा टेक्पोलाई कारवाही गरिएको छ ।

कारवाहीवाट पाँच लाख ६८ हजार रुपैँया राजस्व संकलन भएको थियो । जिल्लामा पछिल्लो समयमा उल्लेखनीय रुपमा अटो रिक्साहरु चल्ने गरेको र ति नियम संगत तरिकाले संचालन नभएको पाइएपछि कारवाही गरिएको हो । मान्छे ओसार पसारका लागि चल्ने टेम्पोहरुले सामग्री ओसार पसार गर्न थालेपछि उनिहरुलाई कारवाही गरिएको हो ।

मापसे कारवाहीमा मोटरसाइकल बढी

जिल्लामा भर्खर सकिएको आर्थिक बर्षमा सात सय १२ सवारी साधन मापसे गरी चलाइएको भन्दै कारवाही गरिएको छ । जसवाट मात्रै सात लाख १२ हजार रुपैँया राजस्व संकलन गरिएको छ । जसमा मापसे कारवाहीमा पर्नेहरुको मोटरसाईकलको संख्या अत्याधिक देखिएको छ ।

ट्राफिक कार्यालयका अनुसार छ सय छ वटा मोटरसाईकल मापसे गरी सवारी चलाएको बिषयमा कारवाहीको भागिदार बनेका छन् । कार्यालयका अनुसार सात वटा बस, १८ वटा ट्रक, ३१ वटा जिपकार, २७ वटा टेक्टर, २३ वटा टेम्पो मापसे गरी चलाएको भन्दै कारवाही गरिएको छ । पछिल्लो समयमा ट्राफिक चेकजाँचलाई बढाएका कारणपनि कारवाहीको संख्या संगै राजस्वमा बृद्धि भएको हो ।

घोराहीमा धेरै राजस्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार सबैभन्दा बढी राजस्व संकलन घोराहीमा भएको छ । घोराहीमा ७३ लाख ३९ हजार पाँच सय रुपैँया राजस्व संकलन भएको जानकारी दिइएको छ ।

उता ट्राफिक प्रहरी कार्यालय तुलसीपुरमा ५७ लाख ९९ हजार, अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङमा २७ लाख ८३ हजार, अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीमा ३५ लाख ८४ हजार पाँच सय रुपैँया राजस्व संकलन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*