Home / Feature Breaking news / प्रधानन्यायाधीशबारे अझै निर्णय हुन सकेन

प्रधानन्यायाधीशबारे अझै निर्णय हुन सकेन

काठमाडौं , १६ साउन

संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे बुधबार पनि निर्णय गर्न सकेन । अर्को बैठक पर्सि बस्नेछ ।

सुनुवाई समितिले कामु प्रधानन्यायाधीश समेत रहेका जोशीसँग १० गते नै सुनुवाई गरेको थियो । त्यसयता दुई बैठक बस्दै नबसी स्थगित भयो भने बुधबारसहित दुई वटा बैठक बसेर पनि जोशीलाई अनुमोदन गर्ने नगर्ने कुनै निर्णय लिन सकेन ।

बुधबार दिउँसो ३ बजे बोलाइएको सुनुवाई समितिको बैठक निकै ढिला गरी सुरु भएको थियो । बैठकमा प्रमुख विपक्षी कांग्रेसले ‘संघीय कानुन बनेको छैन, अनुमोदन नगर्ने हो भने हामी मान्दैनौं’ भनेपछि सहमतिका लागि बैठक स्थगित भएको हो ।

नेकपाका एक सांसदका अनुसार निर्णय गर्दा सहमति नभए नोट अफ डिसेन्ट लेख्न आग्रह गरिएको थियो । तर, कांग्रेस सांसदहरु त्यसका लागि पनि तयार भएनन् ।
‘बैठक बहिस्कार गर्ने भनेपछि त्यसो नगरौं भनेर हामी बैठक स्थगित गर्न तयार भयौं’ उनले भने ।

शुक्रबार सहमति नभए प्रक्रिया

सांसदहरुका अनुसार जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरिरहेका राजपा सांसद लक्ष्मणलाल कर्णले पनि सहमतिबाटै अघि बढ्न आग्रह गरेका थिए ।

उनले भोलि बैठक राख्न प्रस्ताव गरे । तर, नेकपाका सांसदहरुले भने यसअघि पनि उनकै आग्रहमा बैठक सारेको भन्दै बरु दुई दिन समय दिने तर, शुक्रबार सहमतिबाट नभए प्रक्रियाबाट भएपनि एउटा निर्णयमा पुग्नु पर्ने धारणा राखेका छन् ।

त्यसमा जेष्ठ सदस्य कर्ण सहमत छन् । पर्सिसम्म सहमति नभए प्रक्रियाबाट टुंगो लगाइने समिति सदस्य एवं नेकपाकी सांसद निरु पालले जानकारी दिइन् ।

शैक्षिक प्रमाणपत्र लगायतको विवादमा परेपछि नेकपा जोशीलाई अनुमोदन नगर्ने निर्णयमा पुगेको छ । सत्तारुढ फोरमले पनि साथ दिँदा जोशीलाई अस्वीकृत गर्न चाहिने दुई तिहाई पुग्छ । कांग्रेसले भने यसलाई अदालतमाथि हस्तक्षेप भनेको छ ।

अनलाईनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*