Home / Feature Breaking news / वंगलाचुलीलाई दालचिनी र टिमुर

वंगलाचुलीलाई दालचिनी र टिमुर

राप्ती सन्देश समाचारदाता

दाङ, १४ साउन । जर्मन सहयोग नियोग (जिआइजेड)को आर्थिक तथा प्राविधिक सहयोग तथा सामुदायिक वन उपभोक्ता महासंघ दाङको समन्वयमा दाङ जिल्लाको वंगलाचुली गाविसका कम्तिमा ९ वटा सामुदायिक वन उपभोक्ता समूह तथा निजी वनका लागि समेत गरी करिब १७ हजार दालचिनी र टिम्मुरका विरुवा वितरण गरिएको छ । टिमुरका विरूवा स्थानीय नर्सरी जुम्लेपानी सामुदायिक वनमा उत्पादन गरिएको थियो भने दालचिनीका विरूवा अन्यत्रकै नर्सरीबाट व्यवस्थापन गरिएको थियो ।

नर्सरी अनुगमन तथा विरूवा वितरण कार्यक्रममा वंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले रूख रोप्नु ठूलो कुरा नभएको भन्दै त्यसलाई हुर्काएर जीविकोपार्जनको भूमिकामा जोड्न आग्रह गरेका थिए । एक दशकको अवधिमा जिल्लामा धेरै गैरसरकारी संस्था र जिल्ला वन कार्यालय तथा सामुदायिक वन उपभोक्ता समूहहरुले पनि लाखांै विरूवा रोपेको इतिहास कोट्याउँदै प्रमुख अतिथि वलीले रोप्नु एउटा शुरूवात हो, तर हुर्काउन र फल दिने अवस्थामा ल्याउन ठूलो चुनौती छ, भन्दै उनले अभियानलाई प्रतिफलमुखी बनाउन आग्रह गरे ।

कार्यक्रममा जिआइजेडका कार्यक्रम अधिकृत नवीनकुमार गुप्ताले संस्थाको उद्देश्य अनुरूप अभियानमुखी नतिजाको अपेक्षा गर्दै वंगलाचुलीलाई जडिबुटी खेतीको पकेट क्षेत्र बनाउन थप कार्यक्रम ल्याउने समेत आशा व्यक्त गरे । सो क्षेत्रमा एउटै निकायको कामलाई तीन फाटोमा विभाजन गरी कार्यक्रमलाई प्रभावकारी बनाइन थालेको विषयमा सामुदायिक वन उपभोक्ता महासंघ दाङका फोकल पर्शन विद्याराज कँडेलले बताएका थिए । उनका अनुसार ९ वटा सामुदायिक वनका कम्तिमा एक सय १८ किसानहरुले दालचिनी र टिमुरका विरूवा हुर्काउने माग गरेको बताए ।

जिआइजेडको जडिबुटी तथा सुगन्धित विरुवा परियोजना (इन्म्याप) अन्तर्गत यो कार्यक्रम शुरू भएको हो । जसमा डाबर नेपालको समेत व्यवस्थापकय सहयोग रहेको बताइएको छ । सो अवसरमा सहभागी वन उपभोक्ता तथा स्थानीय तहका प्रतिनिधिहरुले नेपाल सरकार तथा दातृनिकायको सहयोगलाई लक्ष्यमा पु¥याउन सहयोगी भूमिका निर्वाह गर्ने भन्दै यस्ता कार्यक्रम वंगलाचुलीका अन्य वन उपभोक्ता समूहमा समेत विस्तार गर्न आग्रह गरेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै जिल्ला वन कार्यालयका निमित्त प्रमुख मुकुन्द अधिकारीले वंगलाचुलीलाई जडिबुटीको पकेट क्षेत्र बनाउन जिल्ला वन कार्यालयले केन्द्रमा समेत प्रस्ताव गरिसकेको बताए । साथै उनले अघिल्लो वर्ष श्रीखण्ड र सुगन्धकोकिलाका विरूवाहरु वितरण गरिएको भन्दै अहिले वंगलाचुलीलाई टिमुर र तेजपत्ताको पकेट एरियाको शुरूवात गरिएको बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा वंगलाचुली गाउँपालिकाका उपप्रमुख यमुना थापाले अझै पनि जनताले जडिबुटीको महत्व नबुझेको भन्दै अब स्थानीय तहका जनप्रतिनिधिहरुले पनि यसमा विशेष कार्यक्रम ल्याउने आश्वासन दिइन् । साथै अहिले संस्थाले दिएको सहयोगलाई प्रतिफल पाउनेगरी हुर्काउन पहल गर्नुपर्ने समेत बताइन् । सामुदायिक वन उपभोक्ता महासंघ दाङका कोषाध्यक्ष कमल पोखरेलको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण वन महासंघका सहजकर्ता भूपबहादुर केसीले गरेका थिए ।
यसैबीच जिल्ला वन कार्यालयले वितरण गरी रोपिएका टिमुरका विरूवा पकेट क्षेत्रको समेत स्थलगत अनुगमन गरिएको थियो । वंगलाचुली गाउँपालिका कमिरेचौरका स्थानीयवासी चुरामणि नेपालीले अनुदान सहयोगमा आफ्नो निजी जग्गामा कम्तिमा एक हजार एक सय टिमुरका विरूवा रोपेका छन् । यसै वर्ष रोपिएका टिमुरका विरूवा सबै हुर्कंदै गएको पनि बताइएको छ । ‘कम्तिमा चार वर्षमा टिमुरका विरूवाले फल दिनेमा ढुक्क छु’—किसान नेपालीले भने ‘यसैबाट आन्तरिक रोजगारी र कमाउने बाटो निर्माण समेत गर्ने छु । एउटा बोटबाट एक वर्षमा कम्तिमा पनि तीन किलो टिमुर उत्पादन हुने अपेक्षा उनले गरेका छन् ।

अहिले पनि एक लम्मरी टिमुरको मूल्य दुई हजारको हाराहारीमा छ । अर्थात् प्रतिकिलो कम्तिमा पनि ४ सय रूपैयाँमा टिमुर बिक्दै आएको छ । टिमुरको बजारीकरणमा कुनै समस्या नभएको पनि उनले बताए । सो अवसरमा भरतपुर सेक्टर वन कार्यालयका प्रमुख तथा जडिबुटी खेतीका फोकल पर्शन देवीप्रसाद चौधरीले टिमुरका विरूवा हुर्काउने तथा फल दिने अवस्थासम्म गर्नुपर्ने स्याहारसुसारका विषयमा किसानलाई जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*