Home / Feature Breaking news / फुटबलको पर्याय ‘न्यू स्टार एकेडेमी’

फुटबलको पर्याय ‘न्यू स्टार एकेडेमी’

आर.के.शीतल

फुटबल रोजाईको खेल । सजिलै बुझ्न पनि सकिने र सबैको ध्यान केन्द्रित गर्ने फुटबल धेरैको रोजाईको खेल हो । मान्छेको आफ्नो आफ्नो रोजाई हुन्छ । कोही खेल खेल्न रुचाउछन् त कोही खेल हेर्न मै रमाईलो महशुस गर्छन् । वि.स.ं २०६३÷०६४ तिर दाङमा फुटबलको रौनक खासै थिएन । जति अहिले छ । त्यो बेलामा ढिकपुर ३ दुन्द्रा हाल घोराही उपमहानगरपालिका वडा नम्बर ८ का युवाहरु फुटबल खेलमा बढि रुची राख्थे । उनीहरु फुटबल खेल्थे । कहिलेकाही छिमेकी गाँउमा प्रतियोगिताको रुपमा खेल्न पनि जान्थे ।

कहिले आफै जान्थे त कहिले छिमेकी गाँउका टिमलाई आफ्नो गाँउ फुटबल खेल्नकालागि बोलाउथे । ती युवाहरुमध्य मुख्य खेलाडी थिएः बसन्त वली । जो जिल्लामा पेलेको नामले चिनिन्थे । उनको स्वभाव पनि विश्वका चर्चीत फुटबल खेलाडी पेले जस्तै । कक्षाको कोर्समा पेलेको जीवनी पढेर प्रेरित भएका हुन् या उनको स्वभाव हो । उनी मावि नारायणपुरमा पढ्दा झोलामा किताब कापीसँगै फुटबल बोकेर आउथे । साथीहरु भए साथीहरुसँग नत्र एक्लै भएपनि विद्यालयको मैदानमा फुटबल नचाईरहन्थे ।

IMG_6313

उनको सक्रीयतामा २०६४ सालमा दुन्द्रा गाँउमा क्लब खोल्ने योजना बन्न थाल्यो । युवाहरुको भेला गरेर फुटबल क्लब गठन गरियो । जसको नाम रह्योः न्यू स्टार फुटबल क्लब । जसको अध्यक्ष बने पेले अर्थात बसन्त वली । क्लब स्थापना भएपछि क्लबमा आवद्ध युवाहरुले मासिक १० रुपैया जम्मा गर्न थाले । जम्मा भएको पैसाले बल किन्ने गर्थे । क्लब औपचारिक रुपमा दर्ता गरेर युवाहरु क्रियाशील भएर लागे । २०६८ सालमा क्लब जिल्ला स्तरिय खेलाडी छनोट फुटबल प्रतियोगितामा सहभागि भयो । जतिबेला यस क्लबबाट ४ जना युवाहरु जिल्लाको टिममा पर्न सफल भए ।

जिल्लास्तरिय प्रतियोगिताहरुमा क्लबले सहभागिता जनाउन थाल्यो । २०६८ सालमा तुलसीपुरमा भएको सी डिभिजन फुटबल प्रतियोगितामा द्धतिय, २०६९ सालमा राष्ट्रिय वि डिभिजन लिग फुटबल प्रतियोगितामा द्धतिय स्थान ल्याउन यो क्लब सफल भयो । यस्तै २०७० सालमा तुलसीपुरमा भएको युनाईटेड लिग फुटबलमा सहभागि भई यो क्लब फाईनलमा पर्न सफल भयो । विभिन्न खेलमा सहभागि भएर क्लबले नाम स्थापीत गर्दै अगाडी बढ्यो । क्लबका अध्यक्ष बसन्त वली जागिरको शिलशीलामा नेपाल आर्मीमा भर्ना भए । उनी सरकारी जागीरे भए । अहिले विभागीय टीमबाट फुटबल खेल्छन् । विभागीय टिमका उनी राम्रो खेलाडीमा गनिन्छन् । बसन्त जागीरे बनेपछि दाईको जिम्मेवारी सम्हाले उनका भाई खुमबहादर वलीले । खुमबहादुर पनि फुटबलका राम्रो खेलाडी हुन् ।

उनले क्ल्बको जिम्मेवारी पाएसँगै नयाँ भिजन ल्याए । नारायणपुरलाई केन्द्रविन्दु बनाएर क्लबको सहयोगमा एकेडेमी स्थापना गरे । जसको नाम रह्यो न्यू स्टार फुटबल एकेडेमी । एकेडेमीको रुपमा विकास भएपछि न्यू स्टारले आफ्नो क्षेत्रलाई व्यापक बनायो । जसले खेललाई मात्रै भन्दा पनि खेलाडी उत्पादन र उनीहरुलाई तालिमको व्यवस्था ग¥यो । एकेडेमीको पहिलो चरणमा ५५ जना विद्यार्थीहरु भर्ना भए । जसमा विभिन्न उमेर समूहका थिए । एकेडेमीको प्रशिक्षकमा एकेडेमीका अध्यक्ष खुमबहादुर वली नै रहे । जसले ग्रास रुट देखी विभिन्न राष्ट्रिय स्तरका तालिमहरु लिईसकेका थिए । एकेडेमी भईसकेपछि महिला तथा पुरुष दुबै टिम बलियो भएर निस्कीयो ।

फलस्वरुप २०७३ सालमा पाल्पामा भएको एन्फा लिग महिला फुटबल प्रतियोगितामा दाङ जिल्लाको टिममा एकेडेमीमा आवद्ध १३ जना महिला खेलाडी छनोट हुन सफल भए । जुन टिम दाङको तर्फबाट पहिलो पटक क्वाटर फाईनमा प्रवेश गरेको थियो । सोही वर्ष भएको सातौ राष्ट्रिय महिला फुटबल प्रतियोगितामा जिल्ला टिममा १४ जना र मध्यपश्चीम क्षेत्रीय टिममा एकेडेमीबाट ७ जना छनोट भएका थिए । जसमा एकेडेमीका हिमा थापा मगरको कप्तानीका टिम तयार भएको थियो । खो­खो प्रतियोगितामा पनि एकेडेमीका खेलाडी मञ्जु बस्नेत छनोट भएर राष्ट्रिय खेल खेलेकी थिईन् ।

एकेडेमीको रुपमा विकास भएपछि न्यू स्टारको मार्केट एकाएक चर्चामा रह्यो । खेलाडी उत्पादनदेखी खेलाडीलाई तालिम दिन थालेपछि जिल्ला र छिमेकी जिल्लाहरुमा यो एकेडेमीको चर्चा हुन थाल्यो । जुन अहिले पनि बढ्दै गएको छ । एकेडेमीको रुपमा विकास भईसकेपछि नारायणपुरमा केही नयाँ गर्नुपर्छ भन्ने सोचका साथ न्यू स्टारले २०७० बाट फुटबल प्रतियोगिता (अन्ड एट्टीन)को आयोजना ग¥यो । त्यसपछि २०७१ सालमा पहिलो नारायणपुर कप जिल्ला स्तरिय फुटबल प्रतियोगितामा आयोजना ग¥यो ।

२०७३ सालमा दोस्रो नारायणपुर कप फुटबल आयोजना गरेको एकेडेमीेले अहिले फेरी तेस्रो नारायणपुर कप फुटबल प्रतियोगिताको आयोजना गरेको छ । जुन खेल जारी छ । जसमा जिल्लाका २० टिमको सहभागिता रहेको छ । व्यक्तीगत सहयोगबाट यस पटकको खेल सञ्चालन भईरहेको छ । वैदेशीक रोजगारमा रहेका खेलप्रेमी युवाहरुको विशेष सहयोगमा यस पटकको प्रतियोगिता चलिरहेको छ ।

यस क्लबले नारायणपुर लगायत जिल्लामा खेलकुदको विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ । फुटबल लगायत अन्य खेलमा पनि क्लले महत्वपूर्ण भूमीका खेलेको छ । जिल्लामा हुने हरेक प्रतियोगितामा न्यू स्टारको चर्चा हुने गर्छ । जसले उत्कृष्ट पर्दशन गर्छ । फुटबलको पर्यायवाची बनेको छ न्यू स्टार । जसले धेरै संघर्ष झेल्दै यहाँसम्म आईपुगेको छ ।

नारायणपुरमा उपयुक्त फुटबल मैदान नहुदा फुटबल खेल्ने ठाँउपनि थिए । २०६३ सालमा युवा सञ्जालले साविक नारायणपुर गाविससँग सहयोग मागेर विपी बाटिका खेल मैदान मर्मत सुरु ग¥यो । जसले विपी बाटिका खेल मैदानको सुरुवात ग¥यो । खेल मैदानको अभावमा यस क्षेत्रका खेलाडीहरुले धेरै समस्या भोग्नुप¥यो । क्षमताबान् खेलाडीले पनि त्यही कारण अन्य खेल खेल्ने मौका पाएनन् । खेल मैदान, आर्थिक स्रोत नहुदा बल किन्ने पैसा नभएको समस्या भोगेको एकेडेमीका अध्यक्ष एवं प्रशिक्षक खुमबहादुर वली बताउछन् । विपप् बाटिका खेल मैदानको संरक्षणमा आफूहरु लागिपरेको उनको भनाई छ ।

जिल्ला फुटबल संघ र राष्ट्रिय खेल परिषद्ले खासै सहयोग नगरेको अनुभव वलीसँग छ । ‘कहिले फुटबल हुदैन थियो एकेडेमी सुरु गर्दा’ वलीले भने­ ‘मैदान नै राम्रो छैन, गाह्रो छ । फुटबल संघ, राखेपले फुटबल दिने बाहेक कुनै सहयोग नै गर्दैनन् ।’ एकेडेमीमा महिलाहरुलाई कक्षा सञ्चालन गर्दा समस्या आउने गरेको । घरपरिवारले उनीहरुलाई खासै साथ नदिने गरेको उनको अनुभव छ । खेलकुदको विकासकालागि यस क्षेत्रका राजनितिक दल, स्थानीय तह, समाजसेवी, खेलकुद प्रेमी, उद्योगी व्यवसायीहरुले खासै सहयोग नगरेको तीतो अनुभव पनि एकेडेमीले संगालेको छ । ‘यहाँका व्यक्तीहरुसँग सोचेजस्तो सहयोग पाएका छैनौ’ उनले भने­ ‘सबै लागिपर्ने हो भने यस क्षेत्रमा खेलको राम्रो विकास गनै सकिन्छ ।’

एकेडेमी सञ्चालन भएपछि धेरै उलपब्धी पनि हात परेका छन् । नारायणपुरलाई खेलको क्षेत्रबाट चिनाउनु, खेलाडी उत्पादन गर्नु, नेपाली सेनाको विभागीय टिममा खेलाडी पर्नु, एन्फा रेफ्रीमा २ जना(खुमबहादुर वली र डि.एन दाहाल) छनोट हुनु, जिल्ला फुटबल संघमा एकेडेमीका सल्लाहकार अनिल बस्नेतले नेतृत्व गर्नु, महिला टीम सक्षम हुनु एकेडेमीले मुख्य सफलताको रुपमा लिएको छ ।

विपी बाटिकाको खेल मैदानलाई संरक्षण गरेर दिगो बनाउने, फुटबल तालिमलाई अझ प्रभावकारी बनाएर लैजाने, नारायणपुर कप फुटबल प्रतियोगितालाई गोल्डकपको रुपमा विकास गर्ने यस एकेडेमीका मुख्य योजना रहेका छन् । जसकालागि एकेडेमीले सबैको सहयोगको अपेक्षा गरेको छ । खेलको विकासकालागि लागिपरेको यस एकेडेमीलाई सबै क्षेत्रबाट सहयोग गरेर उत्कृष्ट बनाउन सके यस क्षेत्रको पहिचान खेलकुद पनि बन्न सक्छ । यसतर्फ सबैको ध्यान जान आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*