Home / Feature Breaking news / काङ्ग्रेसमा बीपीको सिद्धान्त ‘एक्स्पायर’ यी हुन् काँग्रेसका अबका पाँच चुनौति

काङ्ग्रेसमा बीपीको सिद्धान्त ‘एक्स्पायर’ यी हुन् काँग्रेसका अबका पाँच चुनौति

फणिन्द्र नेपाल
काठमाण्डौ,७ जेठ । ‘निर्वाचनपछि ५ वर्षका लागि सत्ताविमुख भएको काङ्ग्रेसले अबको ५ वर्ष कसरी विताउला ?

अब उसले काङ्ग्रेसलाई पुनर्ताजगी गराउने के–कस्ता कार्यक्रम अघिसार्ला ?’

आजभोलि धेरै काङ्ग्रेस कार्यकर्ताबाटै सुनिने प्रश्न हो यो ।

कार्यकर्ता र शुभेच्छुकहरूबाट आउने यस्तै प्रश्नको जवाफ दिन काङ्ग्रेसले यसअघि नै देशभर ‘छायाँ सरकार’ सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

तर, काङ्ग्रेसले निर्वाचनपछि निराश भएका कार्यकर्तालाई आशाको सञ्चार गराउने योबाहेक अरू कुनै कार्यक्रम ल्याउन सकेको छैन ।

त्यसो त कार्यकर्ताबाट उठेका सबै प्रश्नको चित्तबुझ्दो जवाफ काङ्ग्रेसका नेताहरूले पनि दिन सकिरहेका छैनन् ।

‘पार्टीको नीति, सिद्धान्त, योजना, विचार र कार्यक्रम नै बदल्नुपर्छ भन्ने बहस सुरु भइसकेको छ । आन्तरिक प्रतिस्पर्धाका आधारमा लोकतन्त्रलाई मजबुत बनाउनुपर्छ भन्ने बहस काङ्ग्रेसमा सुरु भइसकेको छ’, काङ्ग्रेस नेता शेखर कोइरालाको भनाइ छ ।

केही समयअघि बसेको काङ्ग्रेस केन्द्रीय समिति बैठकमा समेत बीपीले अघि सारेको समाजवादलाई पुनःपरिभाषित गर्नुपर्छ भन्ने आवाज उठेकाले समय लागे पनि यसलाई बदलेरै छाड्ने नेता कोइरालाले दाबी गरे ।

‘केही समय त अवश्य लाग्ला तर काङ्ग्रेसलाई समयसापेक्ष बनाउनु जरुरी छ र त्यो भएरै छाड्छ,’ कोइरालाको भनाइ छ ।

नेपालको परिवर्तित परिस्थिति, विश्वकै परिवेश र अहिलेको आवाश्यक्ताअनुसार अघि बढिएन भने केही गर्न सकिन्न भन्ने हाम्रो निष्कर्ष छ ।

यही निष्कर्षको बहस भइरहेको नेता कोइरालाले बताए ।

विश्लेषकहरूका अनुसार पनि काङ्ग्रेसका लागि अहिले मुख्य रूपमा ५ वटा चुनौती छन् ।

उनीहरूका अनुसार तत्काल यी ५ चुनौतीको सामना गर्दै त्यही किसिमका योजना, नीति तथा कार्यक्रमअनुसार अघि बढे मात्रै काङ्ग्रेसप्रति जनताको विश्वास बढ्छ ।

विश्लेषक तथा पत्रकार पुरुषोत्तम दाहालका अनुसार काङ्ग्रेससामु देखिएका ५ चुनौतीको सामना गर्ने साहस नगरे काङ्ग्रेस ‘लोप’ हुनसक्ने खतरा नजिकै आएको छ ।

‘समाजवादका नाममा वाम पक्षधरबाट हुने अधिनायकवादको नियन्त्रण, परिवर्तित अवस्थामा पार्टीका नीति–सिद्धान्त र कार्यक्रमलाई परिवर्तन, सङ्गठनको ढाँचामा परिवर्तन र नयाँ नेतृत्वको चयनमा काङ्ग्रेसले बुद्धि पु¥याएन भने भने काङ्ग्रेसको हैसियत थप कमजोर बन्छ’ विश्लेषक दाहालको ठहर छ ।

काङ्ग्रेस नेताहरूले भनेजस्तै दाहालले पनि समाजवादका नाममा वाम नेतृत्वको सरकार विस्तारै अधिनायकवादतर्फ अघि बढ्न खोजेकाले त्यसलाई रोक्न काङ्ग्रेसले हिम्मत देखाउनुपर्ने बताए ।

‘अहिले नै वामधार कता जान्छ भन्ने निश्चित त भइसकेको छैन तर केही समयमा क्लियर होला । यदि वामधार परम्परागत समाजवादतर्फ गयो भने त्यसले काङ्ग्रेस मात्रै हैन, धेरै कुरा सकिन्छ’, दाहालले भने ।

त्यस्तै काङ्ग्रेस आन्तरिक विभाजन र गुटउपगुटमा रमाएकाले त्यसलाई रोक्दै पार्टी एकढिक्का बनाउनुपर्ने दोस्रो च्ुनौती रहेको उनले बताए ।

तेस्रो चुनौतीका रूपमा परिवर्तित अवस्थामा काङ्ग्रेसले पुरानै विचार, नीति र सिद्धान्त बोकेर वाम शक्तिसँग प्रतिस्पर्धा गर्न नसक्ने भएकाले विचार, नीति र सिद्धान्तलाई परिवर्तन गरी समयानुकूल बनाउनुपर्नेछ । चौथो र पाचौँ चुनौती सङ्गठनको ढाँचा परिवर्तन र नेतृत्वको विकास (नेतृत्व चयन)मा ध्यान दिनुपर्छ ।

‘काङ्ग्रेसको सङ्गठन अत्यन्त कमजोर र भद्रगोल छ । त्यसलाई व्यवस्थित बनाइएन भने थप अराजकता बढ्दै जान्छ । यसले पार्टीलाई ठूलो क्षति गर्ने मात्रै होइन, काङ्ग्रेसका कुनै पनि कार्यक्रम प्रभावकारी हुन सक्दैन । अर्को काङ्ग्रेसको नेतृत्व विकासमा पनि ध्यान दिनुपर्छ अहिलेकै जसरी पनि पुरानै ढर्रा र पुरानै शैलीको नेतृत्वबाट काङ्ग्रेस अघि बढ्न सक्दैन ।’

दाहालको भनाइमा पूरै सहमत छन् काङ्ग्रेसका युवा नेता प्रदीप पौडेल ।

उनी भन्छन्– ‘हामीसँग अहिले अवसर र चुनौती दुवै छन् । यी दुवै विषयलाई सम्बोधन र व्यवस्थापन गर्न सक्नुपर्छ त्यही भएर हामीले काङ्ग्रेसलाई पुनर्जीवन दिनुपर्ने आवाज उठाइरहेका छौँ ।’

नेता पौडेलले काङ्ग्रेस नेतृत्व पुरानै ढर्रा र शैलीबाट चल्न खोजेकाले आफूहरूले त्यसको परिमार्जन गर्न चाहेको दाबी गरे ।

‘हिमालदेखि मधेससम्म काङ्ग्रेस छ भन्ने आभास जनतामा हुनुपर्छ । त्यसका लागि नेतृत्वको विकासदेखि कार्यक्रमसम्म परिमार्जन गर्नुपर्छ’, पौडेलले भने, ‘अबको काङ्ग्रेस जनताको काङ्ग्रेस हुनुपर्छ अनि मात्रै परिवर्तनको अनुभूति हुन्छ ।’ त्यस्तै निर्वाचन हार्नुभन्दा मुलुकका दुई ठूला दल मिल्दा काङ्ग्रेसलाई थप चुनौती बढेको पौडेलको बुझाइ छ । ‘यो चुनौती र अवसर दुवै हो, यसलाई काङ्ग्रेस सच्चिने मौकाका रूपमा पनि लिनुपर्छ ।’

२०१५ सालमा काङ्ग्रेस नेता बीपी कोइरालाले अघि सारेको समाजवादलाई नै काङ्ग्रेसले अहिलेसम्म मूल सिद्धान्त मान्दै आएको छ । तर काङ्ग्रेसभित्र यो पुरानो नीति तथा कार्यक्रमसमेत परिमार्जन र परिवर्तन गर्नुपर्ने बहस तीव्र भएको छ । ‘१५ सालको बीपी कोइरालले अघि सारेको समाजवाद ७५ सालमा समय सान्दर्भिक हुँदैन । यसले काङ्ग्रेस अघि बढ्दैन । समाजवादको परिभाषा फेर्न जरुरी छ’, नेता पौडेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*