Home / Feature Breaking news / दिल्लीमा चम्किए नेपाली खेलाडी सन्दीप, अन्तिम खेल पनि उत्कृष्ट

दिल्लीमा चम्किए नेपाली खेलाडी सन्दीप, अन्तिम खेल पनि उत्कृष्ट

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका सन्दीपले आफ्नो डेब्यु वर्षमा नै उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जितेका छन् ।

सन्दीप लामिछाने नेपाली क्रिकेटमा छाएको धेरै भएको छैन । सन् २०१६ को यु–१९ विश्वकप क्रिकेटदेखि मात्रै सन्दीप चर्चामा आएका हुन् । अहिले उनको चर्चा अरु कुनै स्टार खेलाडीको भन्दा कम छैन ।
सन्दीपले आईपीएलमा आफुलाई स्थापित गरिसकेका छन् ।

दिल्लीको अन्तिम खेलमा सन्दीपले ३ विकेट लिए । दिल्लीलाई जित दिलाउन मुख्य भूमिका खेलेका सन्दीपको चर्चा जताततै चुलिएको छ । फिरोज कोट्ला रंगशालामा भएको खेल सन्दीपको लागि निकै फलदायी बन्यो । सन्दीपले मुम्बई इन्डियन्सविरुद्ध ओपनिङ बलिङ गरे । सन्दीपले आफ्नो पुरै ४ ओभर बलिङ ३६ रन खर्चेर ३ विकेट लिए । सन्दीपले आफ्नो चौथो ओभरमा ४ रन मात्रै दिए । त्यस्तै, तेस्रो ओभरमा १३ रन दिए । तेस्रो र चौथो ओभरमा भने सन्दीपले विकेट लिन सकेनन् ।
सन्दीपले आफ्नो दोस्रो ओभरमा मात्र ६ रन खर्चेर २ विकेट लिएका थिए । सन्दीपले दोस्रो ओभरको पहिलो बलमा कैरण पोलार्ड ७ रनमा आउट भएका थिए । त्यस्तै, चौथो बलमा सन्दीपले क्रुनाल पाण्ड्यलाई ५ रनमा आउट गराए । त्यस्तै, पहिलो ओभरमा सन्दीपले सूर्यकुमार यादवलाई आउट गराएका थिए ।

सन्दीपले भारतीय कप्तान विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्धको खेलमा डेब्यु खेलमा गरेका थिए । आफ्नो पहिलो खेलमा नै सन्दीपले प्रभावकारी प्रदर्शन गर्दै विकेट समेत लिन भ्याए ।

उनले विश्वकै उत्कृष्ट ब्याट्सम्यान विराट कोहली, एवि डिभिलियर्स लगायतका खेलाडीविरुद्ध बलिङ गरेका थिए । ओपनिङ बलिङ गरेका सन्दीपले बेंग्लोरविरुद्ध दिल्लीका खेलाडीमध्ये सबैभन्दा राम्रो बलिङ गरेका थिए । उनले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर १ विकेट लिएका थिए । उनको इकोनोमी ६।२५ रहेको थियो । उनले २ चौका र एक छक्का मात्रै खाएका थिए । सन्दीपले पार्थिव पटेललाई एल्बीडब्लु आउट गराएका थिए ।

आफ्नो पहिलो खेलमा नै उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले दोस्रो खेलमा झनै निखारिएको प्रदर्शन गरे । चेन्नाई सुपर किंग्स विरुद्ध सन्दीपले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर १ विकेट लिएका थिए ।

विकेट लिने क्रममा सन्दीपले विष्फोटक ब्याट्सम्यान तथा आईपीएल सर्वाधिक रनको रेकर्ड राखेका सुरेश रैनालाई आउट गरेका थिए । चेन्नाई विरुद्ध सन्दीपको इकोनोमी ५।२५ रहेको थियो । चेन्नाई विरुद्ध सन्दीपले एक छक्का मात्रै खाएका थिए ।

आईपीएलमा सन्दीपको सफल ल्यान्ड
सन्दीप लामिछानेले आईपीएलमा सफल ल्यान्ड गराएका छन् । यो वर्षको आईपीएलले सन्दीपको भविष्य पनि निर्धारण गरेको छ । यो सिजनको आईपीएलभर सन्दीप चर्चामा रहे । तर उनले दिल्लीको ११ औं खेलसम्म खेल्न पाएनन् । यद्यपी प्लेअफमा पुग्ने सम्भावना सकिएपछि दिल्लीले ढिलो गरेर सन्दीपलाई मैदानमा उतार्यो । अहिले सन्दीपका बारेमा विश्लेषक तथा मिडियाहरूले दिल्लीसँग सन्दीप जस्ता हिरा भएपनि मैदानमा ढिलो ल्याएको बताएका छन् ।

तर, सन्दीपले आफ्नो प्रदर्शन देखाउँदै बाँकी खेलमा निरन्तर स्थान बनाए । सन्दीपले आईपीएलमा ३ खेलबाट ५ विकेट लिएका छन् ।

को हुन् सन्दीप ?
सन्दीप लामिछाने आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । सन् २००० मा जन्मिएका सन्दिपको क्रिकेट करियर भने चितवनबाट सुरु भएको हो । बाल्यकाल स्याङ्जा मै बिताएका सन्दीपले क्रिकेट खेल्न थालेको लामो समय भएको छैन । क्रिकेट एसोसिएसन अफ चितवन एकेडेमीबाट नोभेम्बर २०१४ मा भर्ना भई क्रिकेट सिक्न थालेका सन्दिपले १०१६ मा डेब्यु गरेका थिए ।

एक सामान्य परिवारमा जन्मिएका सन्दीप अहिले नेपाली सिनियर राष्ट्रिय टिमका पनि नियमित खेलाडी हुन् । उनले सन् २०१६ मा आईसीसी विश्व च्याम्पियनसिपअन्तर्गत नामिवियाको खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।

विश्वकपमा पनि सन्दीपको ह्याट्रिक विकेट
सन् २०१६ मा बंगलादेशमा सम्पन्न आईसीसी यु–१९ विश्वकप क्रिकेटमा सन्दिपले आयरल्याण्डविरुद्ध ह्याट्रिक विकेट लिएका थिए । पहिलो खेलमा नै न्युजील्याण्ड जस्तो बलियो टेष्ट राष्ट्रलाई ३२ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा आयरल्याण्डसँग प्रतिस्पर्धा गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १३१ रन मात्रै बनाएको थियो । आयरल्याण्डका अग्रपंक्तीका ब्याट्सम्यानलाई आउट गर्ने क्रममा सन्दीपले ह्याट्रिक गरेका थिए । उनले खेलको ३१।४ ओभरमा लोर्कन टुकर, ३१।५ ओभरमा फायच्रा टुकर र ३१।६ ओभरमा एडम डेन्नीसनलाई आउट गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

आयरल्याण्डविरुद्ध सन्दिपले १० ओभर बलिङ गर्दै २७ रन खर्चेर ५ विकेट लिएका थिए । आईसीसी यु–१९ विश्वकप क्रिकेटमा सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*