Home / Feature Breaking news / नेपालबिना भारतका धाम र राम दुबै अधुरा मोदी

नेपालबिना भारतका धाम र राम दुबै अधुरा मोदी

जनकपुर,२८ बैशाख । नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल बिना भारतको इतिहास, आस्था र विश्वास अधुरो हुने बताएका छन्।

जनकपुर उपमहानगरपालिकाले गरेको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपाल बिना भारतको हरेक क्षेत्र अधुरो रहेको बताए।

‘नेपाल बिना भारतको आस्था अधुरो हुन्छ, विश्वास अधुरो हुन्छ र इतिहास अधुरो हुन्छ,’ मोदीले भने, ‘नेपाल बिना भारतका धाम पनि अधुरा हुन्छन्, राम पनि अधुरा हुन्छन्।’

सम्बोधनको सुरूमा हिन्दीमा बोलेका मोदीले केहीबेर मैथिलीमा बोलेका थिए। सम्बोधनका क्रममा उनले नेपाली भाषामा पनि बोलेका थिए।

सुरुमा उनले सन् २०१४ आउँदा पनि आफूले संसदमा छिटै जनकपुर आउँछु भनेको उल्लेख गरे। ढिला भएकोमा उनले क्षमा पनि मागे।

‘म त्यतिबेला नै आउन चाहन्थें, तर विभिन्न कारणले आउन पाइनँ। ढिला भएकोमा म क्षमा चाहन्छु,’ मोदीले भने, ‘जानकी माताको दर्शन गर्ने माग मेरो कामना पूरा हुँदा आज गौरवान्तित भएको छु।’

उनले यसपालि आफू प्रधानमन्त्रीका रूपमा नभई तीर्थयात्रीका रूपमा नेपाल भ्रमणमा आएको बताए।

४५ मिनेट लामो भाषणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतका सुख दुःख साझा भएको बताए।

‘हाम्रो आशा पनि समान छ, सपना पनि समान छ, हाम्रो मन पनि समान छ, मन्दिर पनि समान छ,’ मोदीले भने।

उनले नेपाल भारतको सम्बन्ध कुनै राजनीतिका आधारमा नभई देवनीतिमा आधारित भएको बताए। मोदीले दुबै देशले एकअर्कालाई संकट पर्दा मिलेर सामना गरेको उल्लेख गरे।

‘जो मित्रको दुस्खमा दुखी हुँदैन, उसलाई देख्दा पाप लाग्छ, आफ्नो दुस्ख पहाडजत्रो छ भने पनि महत्व नदेऊ तर मित्रको सानो दुस्खलाई पनि पर्वतजत्रो मानेर जे गर्नु सकिन्छ, त्यो गर्नुपर्छ,’ मोदीले भने।

उनले नेपाल विकासको नयाँ चरण प्रवेश गरेको उल्लेख गर्दै एकबर्षमा तीनै तहको चुनाव सम्पन्न गरेकोमा बधाइ दिए।

‘नेपालको इतिहासमा पहिलो पटक सातै प्रान्तमा सरकार बनेका छन्। यो नेपालका लागि मात्र नभई ‍भारत लगायत सबैलाई गर्वको विषय हो,’ मोदीले भने, ‘१० वर्ष पहिले बुलेट छोडेर ब्यालेटको बाटो चुने। युद्धबाट बुद्धसम्मको यात्राका लागि बधाई दिन्छु।’

उनले नेपाल र भारत हिमाल, नदी र तराईका फाँटले जोडिएकोमा अब राजमार्ग, सूचना प्रविधि, प्रसारण लाइन, रेल, हवाइ सेवा र जलमार्गबाट जोडिनु पर्ने बताए।

‘यीसँगै अब हामी अन्तरिक्षामा पनि आपसमा जोडिनुछ,’ मोदीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*