Home / Feature Breaking news / सी विश्वकै सर्वाधिक शक्तिशाली, नरेन्द्र मोदी परे शीर्ष दशमा

सी विश्वकै सर्वाधिक शक्तिशाली, नरेन्द्र मोदी परे शीर्ष दशमा

काठमाडौँ,२७ बैशाख । विश्वको शक्तिशाली र धनीहरुको सूची निकाल्ने चर्चित फोर्ब्स पत्रिकाले सन् २०१८ को विश्वका सर्वाधिक शक्तिशाली व्यक्तित्वहरुको सूची सार्वजनिक गरेको छ । यसमा चीनका राष्ट्रपति सी जिनपिङ्ग पहिलो स्थानमा परेका छन् । सीले चारपटकसम्म पहिलो स्थानमा रहेका रुसका राष्ट्रपति भ्लाधिमिर पुटिनलाई पछि पार्दै पहिलोपटक शीर्ष स्थान हासिल गरेका हुन् ।

फोर्ब्सले ७५ जना मानिसहरुको सूची सार्बजनिक गरेको हो । फोर्ब्सका अनुसार पृथ्वीको ७ अर्ब भन्दा बढी जनसंख्यामा यी ७५ व्यक्तिहरुको प्रभाव सबैभन्दा बढी रहेको छ । फोर्ब्सले शक्तिशाली व्यक्तिहरुको छनौट उनीहरुको कार्य र बोलीले मानिसहरुमा पार्ने प्रभावका आधारमा गर्ने गरेको बताएको छ ।

त्यस्तै अर्को छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यो सूचीमा नवौँ स्थानमा परेका छन् ।

फोर्ब्सको सूचीमा फेसबुकका कार्यकारी अधिकृत मार्क जुकरबर्ग र बेलायती प्रधमानमन्त्री टेरेजा मेलाई समेत पछि पार्दै भारतका प्रधानमन्त्री मोदीले यो स्थान लिएका हुन् । राजनीतिज्ञहरुमा ट्रम्पपछि सबैभन्दा धेरै ट्वीटर फलोअर भएका मोदीको प्रभाव भारत लगायत अन्तर्राष्ट्रिय जगतमा पनि उत्तिकै रहेको फोर्ब्सले बताएको हो ।

भारतबाट उनका अतिरिक्त व्यवसायी मुकेश अम्बानी पनि यस सूचीमा ३२ औँ स्थानमा परेका छन् ।

१० वर्षसम्म शीर्ष दश स्थानमा रहँदै आएकी जर्मनीकी चान्स्लर एन्जेला मार्कल यसपटक भने चौथो स्थानमा आएकी छन् । उता विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकाको राष्ट्रपति रहेका ट्रम्प भने तेस्रो स्थानमा परेका छन् ।

यसवर्षको सूचीमा आएका १७ नयाँ नामहरुमा भने सबैभन्दा अगाडि साउदी अरबका राजकुमार मोहोम्मद बिन सलमान आठौँ स्थानमा आउन सफल भएका छन् ।

त्यसैगरी ५४ औँ स्थानमा परेका दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनको नाम पनि पहिलोपटक यस सूचीमा देखा परेको हो । तर उत्तर कोरियाली नेता किम जोङ उनले ३६ औँ स्थान प्राप्त गरि आफ्नो दक्षिणी छिमेकीका समकक्षीलाई पछाडी परेका छन् ।

त्यस्तै फ्रान्सका म्याक्रोन १२ औँ मा रहँदा जापानी प्रधानमन्त्री ३८ औँ स्थानमा रहेका छन् । उता द्वन्द्वग्रस्त सिरियाका राष्ट्रपति बसर अल अस्सद पनि फोर्ब्सको सूचीमा परेका छन् । उनी यो सूचीको ६२ औँ स्थानमा रहेका छन् ।

भारतीय व्यापारी मुकेश अम्बानीको अतिरिक्त धेरै जना व्यापारीहरु यो सुचिमा परेका छन् । यसमा सबैभन्दा माथि छन् अनलाइन सपिङ्ग वेबसाइट एमेजनका मालिक र हाल विश्वको सबैभन्दा धनी व्यक्ति जेफ बेजोज । उनी शक्तिशालीहरुको सूचीमा ५ औं स्थानमा छन् । फेसबुकका कार्यकारी अध्यक्ष मार्क जक्करबर्ग १३ औं स्थानमा रहदा एप्पल कम्पनीका कार्यकारी प्रमुख टिम कुक २४औं स्थानमा छन् । उनलाई स्टार व्यापारी इलोन मस्कले २५ औं स्थानमा पछ्याएका छन् । उनीहरुभन्दा अगाडी २१ औं स्थानमा छन् चिनिया व्यापारी ज्याक मा । ज्याक मा चीनको एमेजन भनिने अलिबाबा डट कमका प्रमुख हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*