Home / Feature Breaking news / रोल्पामा बनेनन् गन्धर्वका घर

रोल्पामा बनेनन् गन्धर्वका घर

पहलमान घर्ती
रोल्पा,२३ बैशाख । जनता आवास कार्यक्रममार्फत् रोल्पामा गत दुई वर्षअघिदेखि निर्माण कार्य सुरु गरिएका गन्धर्व समुदायको घर अहिलेसम्म बन्न सकेको छैन्न ।
घर निर्माणको जिम्मा पाएका ठेकेदारको लापरबाहीका कारण घर निर्माण कार्य अलपत्र हुँदा गन्धर्व समुदाय विचल्लीमा परेको छ । गत दुई वर्षअघि सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमले नयाँ घर बनाइदिने भनेपछि हर्षित बनेका रोल्पा सुवर्णावती गाउँपालिका–१ घोडागाउँका गन्दर्वहरु अहिले भने निराश बनेका छन् ।

अति विपन्न गन्धर्व परिवारहरुका लागि जनता आवास कार्यक्रमले नयाँ घर बनाइदिने भनेपछि साना झुपडी पनि भत्काएका गन्दर्व परिवारहरु अहिले विचल्लीमा परेका हुन । नयाँ घर निर्माण कार्य सुरु गरेको केहि समयमै निर्माणको जिम्मा पाएका ठेकेदार बीचमै काम छाडेर भागेपछि नयाँ घरमा बस्ने उनीहरुको सपना अधुरो भएको छ । ‘कहाँ खाने कहाँ बस्ने हाम्रो विचल्ली भयो’, स्थानीय कृष्णी गन्धर्वले भनिन्,‘बर्षादको समय आउन थाल्यो,बस्ने घर बनेको छैन ।’

घर निर्माणका गर्ने ठेकेदार भागेपछि अहिले कहाँ बस्ने र खाने चिन्ता भएको अर्का खिनौरी गन्धर्वको दुखेसो रहेको छ । साढे १९ लाखमा १० वटा घर निर्माण गर्नेगरी घर निर्माण कार्यको जिम्मा पनि लाभग्राही उपभोक्तालाई नै दिइएको भवन डिभिजन कार्यलय रोल्पाले जनाएको छ । तर उपभोक्ताहरुले भने स्थानीय ठेकेदारलाई निर्माण कार्यको जिम्मा दिँदा अहिले यस्तो समस्या उत्पन्न भएको भवन डिभिजन कार्यालय रोल्पाका डिभिजन प्रमुख इश्वरराज जोशीले बताए ।

‘ घर समयमै निर्माण हुनु पथ्र्याे,तर निर्माण कार्य ढिला भएको छ’,कार्यालय प्रमुख जोशीले भने,‘ हामीले त समय समयमा निर्माण पक्षलाई आग्रह गर्दा समेत निर्माणमा ढिलाई भएको छ ।’ कार्यालयले घर निर्माणको लागि निर्माण पक्षलाई पैसा पनि दिईसकेको बताए ।

कार्यक्रम सञ्चालन भएदेखि डिभिजन कार्यालयले फर्केर नहेरेका कारण आफूहरुको घर निर्माणको कार्य अलपत्र परेको स्थानीयको गुनासो छ । घर निर्माणको जिम्मा लिएका ठेकेदारलाई समयमै काम सम्पन्न गर्न भवन डिभिजिन कार्यालय रोल्पाले ताकेता गरिदिर्नुपर्ने स्थानीय गन्धर्वहरुको माग छ ।

फाईल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*