Home / Feature Breaking news / एन्फा अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित

एन्फा अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित

काठमाडौं,२२ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन् । शनिबार सम्पन्न एन्फाको १६ औं साधारणणसभाबाट शेर्पा अध्यक्ष चुनिएका हुन् ।
७६ भोट खसेकोमा शेर्पाले ६३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी मणि कुँवरले १२ मतमात्र ल्याएका छन् ।
एन्फाको ४ उपाध्यक्ष र ११ सदस्यमा पनि सबै शेर्पा समूहकै विजयी भएका छन् । उपाध्यक्षका लागि नौजना प्रतिस्पर्धी रहेकोमा पंकज नेम्वाङ ६१, वीरबहादुर खड्का ३९, कृष्ण थापा ५२ र उपेन्द्रमान सिंह ५८ मत ल्याएर निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यका लागि २९ जना प्रतिस्पर्धी रहेकोमा दावा लामा, निरोध खत्री, पूर्णमान चित्रकार, रवीन्द्रनाथ श्रेष्ठ, मधुसुदन उपाध्याय, प्रदेशसिंह राठौर, दिनेश व्यञ्जनकार, दिर्घ बहादुर केसी, किरण राई, विजय घले र रत्नकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
एक अध्यक्ष, चार उपाध्यक्ष र ११ सदस्य चयन गर्न भएको साधारणसभाको युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरेका थिए ।

निर्वाचनमा जिल्ला खेलकुद संघ, क्लब तथा समितिका गरी ७७ जना मतदाता रहेकोमा ७६ जनाले मतदान गरेका थिए ।
कञ्चनपुर फुटबल संघका अध्यक्ष तथा उपाध्यक्षका उमेदवार गणेश चन्दले भने मतदान गरेनन् । अध्यक्ष पदमा दुई, उपाध्यक्षका लागि नौ र सदस्यका निम्ति २९ जना निर्वाचनको मैदानमा होमिएका थिए ।

महिला सदस्यमा भने पेमा लामा निर्विरोध निर्वाचित भइसकेकी छन् । कोषाध्यक्ष र महासचिव भने निर्वाचित कार्यसमितिले मनोनयन गर्ने व्यवस्था छ ।

अध्यक्षका उमेदवार मणि कुँवरले भने निर्वाचन विधानसम्मत् नभएको भन्दै बहिष्कार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*