Home / Feature Breaking news / प्रहरीकै गाडीबाट ‘दाह्रीवाला’ सम्म पुग्थ्यो तस्करीको सुन

प्रहरीकै गाडीबाट ‘दाह्रीवाला’ सम्म पुग्थ्यो तस्करीको सुन

काठमाडौं,२० बैशाख । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीमा नेपाल प्रहरीकै गाडीको दुरुपयोग हुने गरेको पाइएको छ । २०७२ असोजमा त्रिभुवन विमानस्थलमा हाजिर भएका एसएसपी श्याम बहादुर खत्रीका ड्राइभरले ‘दाह्रीवाला’ भन्ने मोहन काफ्लेलाई सुन लगिदिएबापत ५ हजारदेखि १५ हजार रुपैयाँ दिनेगरेको बयान दिएसँगै उक्त तथ्य खुलेको छ ।

लामो समयदेखि एसएसपी श्याम खत्री चढ्दै आएको नेपाल प्रहरीको बोलेरो चालक प्रहरी जवान विष्णु बहादुर खड्काले एसएसपी श्याम बहादुर खत्रीको निर्देशमा प्रहरीकै गाडीमा राखेर तस्करीको सुन ‘दाह्रिवाला’ समक्ष लगिदिने गरेको बयान दिएका छन् ।

सुन तस्करी छानविन गर्न बनेको सह–सचिव ईश्वर पौडेले नेतृत्वको समिती र जिल्ला सरकारी वकिल कार्यालय मोरङमा प्रहरी जवान खड्काले एसएसपी खत्रीको बडीगार्ड प्रहरी हवल्दार अमर बहादुर थापा मगर र आफूले ‘दाह्रीवाला’ लाई तस्करीको सुन लगिदिने गरेको बयान दिएका छन् ।

सुन छानविन समितिले वैशाख ५ गते प्रहरी जवान खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । बुधबार सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालत मोरङमा दायर गरेको अभियोग पत्रअनुसार पहरी जवान खड्काले अबैध रुपमा नेपाल भित्रिने सुन तस्करीमा एयरपोर्टमा तत्काल कार्यरत डिआईजी गोविन्द निरौला, एसएसपी श्याम बहादुर खत्री, एसपी विकास राज खनाल, डीएसपी सन्जय राउत, एसएसपी श्याम बहादुर खत्री, उनको बडीगार्ड र आफू समेत संलग्न रहेको स्वीकार गरेका छन् ।

प्रहरी जवान खड्काले सुन पु¥याउने भनेका ‘दाह्रीवाला’ भनिने मोहन काफ्ले तिनै ब्यक्ति हुन् जो गत फागुन १९ गते सुन प्रकरणमा हत्या गरिएका शनम शाक्यको शवसँगै बिराटनगर महानगरपालिका–३ बाट पक्राउ परेका थिए ।

प्रहरी जवान खड्काले दिएको बयान अनुसार मोहन काफ्ले लगायतका समूहले विदेशबाट सुन लिएर इमिग्रेसन सम्म आउँथे, उनीहरुको पासपोर्टमा छाप लागेपश्चात कहिले डिएसपी संजय बहादुर राउत र कहिले एसपी विकासराज खनालले उनीहरुलाई स्कर्ट गरेर सिधै एसएसपी।श्याम बहादुर खत्री र डिआईजी गोविन्द निरौलाको कार्यकक्ष सम्म लैजाने गरेका थिए ।

‘सुन आउने समयमा डिआईजी गोविन्द प्रसाद निरौला सर र एसएसपी श्याम बहादुर खत्री सर आफ्नो कार्यकक्षमा कुरेर बस्नुहुन्थ्यो’ प्रज खड्काले बयानमा भनेका छन्, ‘ खनाल सरलाई कारवाही स्वरुप हेडक्वाटर तानेपछि त्यो काम डीएसपी संजय बहादुर राउत र एसएसपी श्याम बहादुर खत्री सरले गर्न थाल्नु भएको थियो ।’

खड्काको अनुसार सुन आउने समयमा एसएसपी श्याम बहादुर खत्रीको बडीगार्ड तत्कालिन प्रहरी जवान अमर बहादुर थापा मगर खत्रीकै कार्यकक्षामा बस्ने गरेका थिए । ‘कहिले काहीँ अमर बहादुर थापा मगरले समेत अफिस छेउबाट स्कर्टिङ गर्ने गरेका थिए’ खड्काले आफ्नो बयानमा स्वीकार गरेका छन् ।

प्रहरी जवान विष्णुबहादुर खड्का २०६१ सालदेखि लगातार एसएसपी श्याम खत्रीको सवारी चालकको रुपमा कार्यरत थिए । अपराध महाशाखामा एसपीको रुपमा कार्यरत रहँदा खत्रीको गाडी चलाउन थालेका खड्कालाई पछि खत्रीले आफू जहाँ जाँदापनि काज मिलाएर सँगै लैजाने गरेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*