Home / Feature Breaking news / कांग्रेसमा विवाद बढ्दा दुई दिनदेखि बैठक बस्न सकेन

कांग्रेसमा विवाद बढ्दा दुई दिनदेखि बैठक बस्न सकेन

काठमाडौं,१६ बैशाख । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक अन्त्यतिर आइपुग्दा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच देखिएको निर्णय विवादले बैठक नै बस्न सकेको छैन । शनिबार दिनभर भएका अनौपचारिक बैठकमा पनि निर्णयमा के उल्लेख गर्ने भन्ने विवाद कायमै रहेपछि आइतबार बिहानका लागि बैठक बोलाइएको थियो ।

तर आइतबार बिहान ९ बजे बोलाइएको बैठक पनि विवादका कारण बस्न सकेको छैन ।

बिहान भएको अनौपचारिक कुराकानीमा निर्वाचनको हार नेतृत्वले लिनुपर्ने अडानमा नेता रामचन्द्र पौडेल पक्षधरको अडान कायमै रहेको छ भने सभापति शेरबहादुर देउवा र उनी पक्षधर नेताहरु यसका लागि तयार भएका छैनन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसले बेहोरेको हारको जिम्मा कसले लिने रु भन्ने बारेमा दुवै पक्ष अडानमा रहेका छन् ।

त्यसैगरी लिखित रुपमा नै बैठकमा प्रवेश गरेको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समिति खारेजको विषय पनि अर्को विवादको विषय बनेको छ ।

सभापति शेरबहादुर देउवा र उनी निकटका केन्द्रीय सदस्यहरु ‘कम्युनिष्ट गठबन्धन’ कारण मात्रै कांग्रेस पराजित भएको उल्लेख गर्न चाहन्छन् भने पौडेल पक्षले सरकारमा हुँदा भएका कमीकमजोरी र सभापतिको अदुरदर्शीताका कारण पराजित भएको कुनै न कुनै रुपमा बैठकको निर्णयमा आउनुपर्ने धारणा राखेका छन् ।

संस्थापन पक्षका नेताहरु हारको जिम्मा सभापतिको विरोध गर्नेले लिनुपर्ने पक्षमा उभिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यालय स्रोतका अनुसार शनिबार पनि दिनभर अनौपचारिक कुराकानी भएका थिए भने आइतबार बिहान भएका थिए । तर निष्कर्ष निष्कन सकेको छैन । संस्थापन पक्ष पौडेल पक्षले भनेका विषय निर्णयमा समावेश गर्न नसकिने अडानमा रहेको छ ।

‘‘संस्थापन पक्षले महासमिति बैठक पछाडि धकेल्न खोजेको छ । त्योबाहेक नेपाली कांग्रेस हार्नुको मुख्य कारण कम्युनिष्ट गठबन्धन मात्रै हो भन्ने देखाउन खोजेको छ । सभापति र नेतृत्वका कमीकमजोरीका बारेमा उल्लेख नै गर्न चाहेको छैन । केन्द्रीय कार्य सम्पादन समिति र संसदीय बोर्ड पनि अहिले खारेज हुन नसक्ने संस्थापन पक्षको अडान छ,” पौडेल पक्षीय एक केन्द्रीय सदस्यले भने ।

स्रोतका अनुसार संस्थापन पक्षले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले बेहोरेको हारको जिम्मा सभापतिले मात्रै लिन अस्वीकार गरे पछि पौडेल पक्ष असन्तुष्ट बनेको छ । यस्तै पौडेल पक्षले भने अनुसार पार्टीको महासमिति बैठक बोलाउन र केन्द्रीय कार्यसम्पादन समिति तथा संसदीय समिति बिघटन गर्न पनि संस्थापन पक्षले अस्वीकार गरेको छ ।

‘‘चुनावी हारको समीक्षा धेरै लामो समयसम्म गरियो तर उहाँहरु निर्णयमा हारको कारण नै लेख्न चाहनुहुन्न । लेख्ने हो भने वाम गठबन्धन भनेर मात्रै लेख्नुपर्छ भन्नेमा हुनुहुनछ,” पौडेल पक्षीय केन्द्रीय सदस्यले भने, ‘‘हामीले भने अनुसार सभापतिज्यूले हारको जिम्मा लिन नमाने पछि बैठक अनिश्चित भयो ।’’

‘‘हामीले निर्णयमा केही त्रुटी भएका छन्, त्यसैले सबैलाई मान्य हुने गरी निर्णय गरौं भन्दा पनि उहाँहरु मान्न तयार देखिनुभएन,” पौडेल पक्षीय नेताले भने ।

चैत ९ गतेबाट शुरु भएको चुनावी समीक्षा बैठकमा पौडेल पक्षले निर्वाचनको पराजयको जिम्मा सभापति शेरबहादुर देउवाले लिनुपर्ने, जेठ महिनाभित्रै महासमिति बैठक बोलाउनुपर्ने र विधान विपरित गठन गरिएका कार्यसम्पादन समिति र संसदीय समिति बिघटन गर्नुपर्ने माग जोडतोडका साथ उठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*