Home / Feature Breaking news / केन्द्रीय समिति बैठकको अन्त्यतिर पदाधिकारी मनोनयनको प्रस्ताव ल्याउने देउवाको तयारी

केन्द्रीय समिति बैठकको अन्त्यतिर पदाधिकारी मनोनयनको प्रस्ताव ल्याउने देउवाको तयारी

काठमाडौं,५ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकको अन्त्यतिर पदाधिकारी मनोनयनको प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । उनले जारी केन्द्रीय समितिको बैठकको अन्त्यमा पदाधिकारी मनोनयनको प्रस्ताव पेस गर्ने तयारी गरेको उनी निकट केन्द्रीय सदस्यहरुले बताएका छन् ।

केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनका कारण स्थगित गरिएको केन्द्रीय समितिको बैठक शुक्रबार बोलाएका छन् ।

बोल्न बाँकी रहेका सदस्यहरुले आफ्नो धारणा राखिसकेपछि देउवाले पदाधिकारी मनोनयनको प्रस्ताव ल्याउने तयारी गरेको उनी निकट नेताको भनाई छ ।

‘‘७ गतेबाट पुनः सुरु हुने केन्द्रीय कार्यसमिति बैठकको अन्त्यतिर सभापतिज्यूले पदाधिकारी मनोनयनको प्रस्ताव गर्नुहुन्छ,’’ सभापति देउवा नजिकका एक केन्द्रीय सदस्य मीन बिश्वकर्माले भने । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले पनि शुक्रबारदेखि शुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले पदाधिकारी मनोनयनका लागि प्रस्ताव ल्याउने बताए ।

‘‘पर्सी शुक्रबारबाट शुरु हुने बैठकमा पदाधिकारी मनोनयनको प्रस्ताव पेस हुन्छ,’’ उनले भने ।

कांग्रेसको १३ औं महाधिवेशनबाट पार्टी सभापतिमा विजयी भएको झण्डै दुईवर्ष पुग्नै लाग्दा पनि देउवाले पदाधिकारी चयन गर्न सकेका छैनन् । कार्यसमिति र पार्टीका विभिन्न विभागहरुलाई पूर्णता दिन नसकेको भन्दै पार्टीभित्र सभापति देउवाको व्यापक आलोचना हुँदै आएको छ ।

गत चैत ९ गतेबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा गर्न बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा पौडेल समुहले अव पदाधिकारी मनोनयनको कुनै औचित्य नभएको बताईसकेको छ । पौडेल पक्षले सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठकमा ल्याउने पदाधिकारी मनोनयनको प्रस्ताव पारित हुन नदिने रणनीति बनाएको स्रोतले जानकारी दियो ।

‘‘अब पार्टी केन्द्रीय समितिमा पदाधिकारीको प्रस्ताव र अनुमोदन, विभागहरुको गठन लगायतका समितिहरुको गठनको औचित्य राजनीतिक रुपले समाप्त भइसकेको छ भने दुई महिनाभित्र सभापतिले कार्यसमितिमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम विधानअनुसार प्रस्ताव गर्नुपर्नेमा त्यसो नगरेकाले विधानतः पनि अव यसो गर्नु औचित्य छैन् भन्ने मेरो ठहर रहेको छ,’’ सभापति देउवाप्रति खरो रुपमा प्रस्तुत हुँदै आएका पौडेल पक्षीय केन्द्रीय सदस्य प्रकाशमान सिँहले बैठकको पहिलो दिन लिखित मन्तव्य दिँदै भनेका थिए ।

‘‘पदाधिकारीहरु थपेर समस्या समाधान गर्ने सोच राखिएको छ भने त्यो कुनै हालतमा स्वीकार गर्न सकिँदैन । अनि टालटुले नीतिले पनि समस्या समाधान हुँदैन,” अर्का केन्द्रीय सदस्य डा। शेखर कोइरालाले केन्द्रीय कार्यसमितिमा लिखित मन्तव्य राख्दै भनेका छन्, ‘‘दुई महिनामा गर्ने काम दुई वर्षसम्म पनि गर्न सक्नुभएको छैन, त्यसकारण अब पदाधिकारीको मनोनयन र विभाग गठनको कुनै अर्थ छैन । अब यसलाई मानिँदैन ।’’

पौडेल पक्षले पदाधिकारी मनोनयन भन्दा पनि केन्द्रीय कार्यसमितिको बैठकबाट वैशाख महिनाभित्र महासमितिको बैठकको मिति तोकिनुपर्ने, संघीय र प्रादेशिक संरचनाअनुसार पार्टीको विधान व्यापक संशोधन गरिनुपर्ने र विधान संशोधनका लागि बैठकबाट समिति गठन गरिनुपर्ने माग गरिरहेको छ ।

कांग्रेसको विधानतः सभापतिमा विजयी भएको दुई महिनाभित्रै पदाधिकारी मनोनयन गर्नुपर्ने प्रावधान रहेको छ । विधानअनुसार सभापति देउवाले एक उपसभापति, एक महामन्त्री र एक सह–महामन्त्री मनोनित गर्न पाउनेछन् । सभापतिले मनोनित गरेका व्यक्तिहरुलाई केन्द्रीय कार्यसमितिमा निर्वाचित सदस्यहरुले बहुमतका साथ अनुमोदन गर्नुपर्ने कांग्रेसको विधानमा व्यवस्था रहेको छ ।

मनोनित गर्न बाँकी तीन जना मध्ये कुनै एक पद आफुहरुले पाउनुपर्ने पौडेल समुहको माग, संस्थापन पक्षका आकांक्षीहरुको व्यवस्थापन र १३ औं महाधिवेशनमा सघाएका व्यक्ति र समुहलाई दिएको आश्वासनका कारण सभापति देउवा पदाधिकारी मनोनयन गर्न सकेका थिएनन् । ‘‘पदाधिकारीमा सभापति आफु कमजोर पर्ने गरी अर्को समुहलाई दिने अवस्था छैन्’’, देउवाका विश्वास पात्र मध्येका एक अर्का केन्द्रीय सदस्यले भने, ‘‘सभापतिको टिममा पदाधिकारीका धेरै आकांक्षी छन्, त्यसको व्यवस्थापनमा पनि समस्या छ ।’’

महाधिवेशनमा सघाएका समुह र व्यक्तिलाई बाँडिएको आश्वासनका कारण पनि सभापति देउवा समक्ष पदाधिकारी मनोनयनमा कठिनाई उत्पन्न भएकाले अहिलेसम्म मनोनयन गर्न नसकिएको ती केन्द्रीय सदस्यको भनाई छ ।

चैत ९ गतेबाट बोलाइएको केन्द्रीय कार्यसमिति बैठक १६ गते पार्टीका पूर्वमहामन्त्री खुमबहादुर खड्काको उपचारका क्रममा भारतमा निधन भएपछि स्थगित भएको थियो ।

बैठकमा अहिलेसम्म ४३ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो भनाई राखिसकेका छन् । ‘‘अहिलेसम्म ४२÷४३ जनाले आफ्ना कुरा राख्नुभएको छ । अझै धेरै जना हुनुहुन्छ । बैठक अझै ३र४ दिनसम्म लम्बिन सक्छ,’’ कांग्रेसका मुख्य सचिव पौडेलले भने ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अकल्पनिय परिणाम आएपछि आन्तरिक कलहमा फसेको कांग्रेसको चुनावी समीक्षा बैठकमा संस्थापन पक्ष र पौडेल पक्ष एकअर्का विरुद्ध आक्रामक ढंगबाट प्रस्तुत भइरहेका छन् । कांग्रेसको समीक्षा बैठकको सुरुवातमै पौडेल पक्ष सभापति देउवा विरुद्ध आक्रामक रुपले प्रस्तुत भएपछि संस्थापन पक्ष पनि पौडेल पक्षको कडा प्रतिवाद गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*