Home / Feature Breaking news / तेस्रोपटक सरकार विस्तार, फोरम र राजपा सहभागी भएनन्

तेस्रोपटक सरकार विस्तार, फोरम र राजपा सहभागी भएनन्

काठमाडौँ,२चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार एमालेबाट ५ मन्त्री र २ राज्यमन्त्री नियुक्त भएका छन् । त्यस्तै, माओवादी केन्द्रबाट ६ जना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । उनीहरूलाई राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् । संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टी भने सरकारमा सहभागि भएनन् ।

नवनियुक्त मन्त्रीमा एमालेबाट प्रदीप ज्ञवालीले परराष्ट्र मन्त्रालयको जिम्मा पाएका छन् भने गोकर्ण विष्ट श्रम तथा रोजगार मन्त्री तोकिएका छन् । त्यस्तै रवीन्द्र अधिकारीले पर्यटन मन्त्रालय पाउँदा रघुवीर महासेठले भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी पाएका छन् ।

सिन्धुपाल्चोक–२ बाट पशुपति शमशेरलाई ह्याट्रिकको हार चखाएका शेरबहादुर तामाङ कानुनमन्त्री बनेका छन् । त्यस्तै जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्री भएका छन् र लालबाबु पण्डित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा हेरफेर भएका छन् । यसअघि उनी वातावरण मन्त्री थिए ।

त्यसैगरी गोकुल बास्कोटलाई सूचना तथा संचार राज्य मन्त्री, पद्मा अर्याललाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, धनबहादुर बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री र रामकुमारी चौंधरीलाई कृषि राज्यमन्त्री बनाइएको छ ।

त्यस्तै माओवादी केन्द्रका तर्फबाट वर्षमान पुन अनन्तलाई उर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको छ भने गिरिराजमणि पोखरेलले शिक्षा मन्त्रालय पाएका छन् । शक्ति बस्नेत वनमन्त्री बन्दा चक्रपाणि खनालले कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यस्तै पार्टी अध्यक्ष पुष्पकमल दाहालकी बुहारी विना मगर खानेपानी मन्त्री नियुक्त भएकी छन् । माओवादीबाट रामकुमारी चौधरी कृषि राज्यमन्त्री भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*