Home / Feature Breaking news / विद्यालयमा राजनितिः व्यवस्थापन समिति विवादले गुम्यो ३६ लाख

विद्यालयमा राजनितिः व्यवस्थापन समिति विवादले गुम्यो ३६ लाख

लिलाधर वली

भालुवाङ, २२ फागुन
विद्यालय व्यवस्थापन समिति गठनमा राजनीतिक विवाद हुदा देउखुरीको एक विद्यालयमा आएको ३६ लाख रुपैया अर्काे विद्यालयमा गएको छ । राप्ती गाउपालिका वडा नं.१ स्थीत रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनमा विवाद हुदा उक्त रकम अर्काे विद्यालयमा गएको हो ।

जिल्ला शिक्षा कार्यालयले समुदायबाट विवाद मिलाउन पटक पटक आग्रह गर्दापनि विवाद नमिलेपछि सो रकम अन्य विद्यालयलाइ दिइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

करिव दुई बर्षदेखि विद्यालयमा व्यवस्थापन समिति गठनमा विवाद हुदा विद्यालयमा भौतिक निर्माणका लागि आएको रकम अन्यत्र गएको हो ।

विद्यालयका अभिभावक तथा शिक्षाप्रेमीहरुले सोमवार भालुवाङमा पत्रकार सम्मेलनको आयोजना गरि राजनीतिक स्वार्थका कारण विद्यालय व्यवस्थापन समिति गठन भएपनि अन्योलमा परेको बताए । जसका कारण विद्यार्थीहरुलाई पढाउनसमेत समस्या भएको अभिभावकहरुले बताएका छन ।

विद्यालय व्यवस्थापन समिति गठनका लागि पटक पटक भएका भेलाहरुले गठन गर्न नसकेपछि गत माघ १९ विद्यालयमा भएको भेलाले स्थानीय नरबहादुर केसीको अध्यक्षतामा विद्यालय व्यवस्थापन गठनभएपनि राजनीतिक स्वार्थका कारण केही व्यक्तिहरुले उक्त समितिलाई अवैधानिक भन्दै जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएपछि भवन निर्माणकालागी आएको रकम अर्काे विद्यालयमा गएको केसीले बताए ।

‘माघ १९ गते विद्यालयमा भएको अभिभावकहरुको भेलाले मलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाएको थियो’ पत्रकार सम्मेलनमा केसीले भने, ‘विद्यालयको प्रगति नचाहने व्यक्तिहरुले अवैधानिक समिति भन्दै जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएर रकम रोक्ने काम गरेका हुन ।’

समिति गठन गर्दा राप्ती गाउपालिका वडा नं. १ का वडा अध्यक्ष ताराबहादुर डिसी र जिल्ला शिक्षा कार्यालयका श्रोतव्यक्ति राजेन्द्रकुमार घिमिरेको उपस्थीतिमा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका केसीको अध्यक्षतामा आठ सदस्य विद्यालय व्यवस्थापन समिति गठन गरेको थियो ।

जसको सदस्यहरुमा गेमबहादुर खड्का, रेखा गुप्ता, विन्दु घिमिरे, गंगा गिरी, तेजबहादुर पुन र आमन्त्रीत सदस्यहरुका रुपमा वडा नं. १ का अध्यक्ष ताराबहादुर डिसी,विद्यालयका प्रअ डिलबहादुर कुवर र शिक्षक प्रतिनिधिका रुपमा यशोदा पुनलाई राखेको थियो ।

तर उक्त समितिलाई अवैधानिक भन्दै नेकपा एमाले राप्ती गाउपालिका सचिव टोपबहादुर झाक्री मगर, नेकपा माओवादी केन्द्रका राप्ती गाउपालिका अध्यक्ष धर्मराज अधिकारी र नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद सदस्य होमप्रसाद शर्माले अवैधानिक रुपमा समिति गठन भएको भन्दै जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएका थिए ।

सोही कारण विद्यालयमा गठन भएको समितिले काम गर्न नपाउनका साथै विद्यालयमा भौतिक निर्माणका लागि आएको रकम अन्यत्र जाने काम भएको शिक्षक अभिभावक संघका अध्यक्ष खिमबिक्रम शाहले बताए । ‘विद्यालयको शैक्षिक गुणस्तर माथि उठाउनकालागि सवैको सहयोग आवश्यक रहेपनि निहित केही स्वार्थी व्यक्तिका कारण अहिले विद्यालय संकटमा परेको उनले बताए ।

विद्यालयका अभिभावक नै नभएका व्यक्तिहरुले दिएको निवेदनलाई आधार मानेर जिल्ला शिक्षा अधिकारीले विद्यालयमा आएको रकमलाई अर्काे विद्यालयमा दिने कार्य गलत भएको भन्दै उक्त निर्णयलाई सच्याउन समेत जिल्ला शिक्षा अधिकारीलाई आग्रह गरेका छन ।

साथै अभिभावकहरुले बोर्डिक स्कुल सञ्चालन गर्ने होमप्रसाद शर्मा, विद्यालयका अभिभावक नै नभएका माओवादी नेता बताउने धर्मराज अधिकारी र टोपबहादुर झाक्रीमगरका कारण विद्यालय समस्यामा परेको पत्रकार सम्मेलनमा उनीहरुले बताएका थिए । विद्यालय २०७३ भदौ महिनादेखि विद्यालय व्यवस्थापन समिति विहिन रहेको छ ।

पटक पटक विद्यालयमा भएको भेलाले विद्यालय व्यवस्थापन समिति गठन गर्न नसकेपछि अन्त्यमा गत माघ १९ गते भेलाले नरबहादुर केसीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको विद्यालयका प्रधानाध्यापक डिलबहादुर कुमालले बताए ।

जिल्ला शिक्षा कायालयमाफर्त आएको चार कोठे व्लक (भवन) निर्माणका लागि आएको रकममा सम्झौता गर्ने गरि केसीको अध्यक्षतामा नया विद्यालय व्यवस्थापन समिति गठन भएपनि केही व्यक्तिहरुले उक्त समितिलाई अवैधानिक भन्दै निवेदन दिएपछि विद्यालय समस्यामा परेको प्रअ कुमालले बताए । शिशु कक्षादेखि दश कक्षासम्म पढाईहुदै आएको विद्यालयमा पाच सय बढि विद्यार्थीहरु अध्ययन गर्दै आएका छन ।

त्यसैगरी सो विद्यालयकालागी राप्ती गाउंपालिकाले समेत सो विद्यालयको भौतिक पुर्वाधार निर्माणकालागी दश लाख रुपैया विनियोजन गरेको थियो । यो विवादले सो रकम पनि विद्यालयको स्तरोन्नतीमा खर्च हुने÷नहुनेमा अन्योल देखिएको छ ।

आन्तरिक व्यवस्थापन नमिल्दा रकम फिर्ताः जिशिअ मैनाली

यसैबीच जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले विद्यालयको व्यावस्थापन समितिको विवादका कारण रकम गुमेको बताए । विद्यालमा भौतिक संरचना निर्माणका लागि आएको रकम राप्ती गाउपालिकाकै पथरगढवा माध्यामिक विद्यालयलाई दिने सहमति भएको जिल्ला शिक्षा अधिकारी मैनालीले बताए ।

विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि उक्त विद्यालयलाई विद्यालय व्यवस्थापन समिति गठन गरेर सम्झौता गर्न आउन पटक पटक आग्रह गरेपनि विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्दा रकम अर्काे विद्यालयलाई दिनु परेको जिल्ला शिक्षा अधिकारी मैनालीले बताए ।

विद्यालय व्यवस्थापन समिति गठनका लागि २०७३ साल भदौ १५ गते नरबहादुर केसी, गेमबहादुर खडकालगायतका चार सदस्य समिति गठन भएको भएपनि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा केसी, खड्कालगाएतले आकक्षी देखिएपछि विद्यालय व्यवस्थापन समिति बन्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*