Home / मनोरञ्जन / पुरुषवादी सोचको ‘कान्छी’ होइन : दयाहाङ राई

पुरुषवादी सोचको ‘कान्छी’ होइन : दयाहाङ राई

प्रदर्शनरत फिल्म ‘कृ’ पछि अब दर्शकको ध्यान फागुन ४ तर्फ मोडिएको छ । कारण, यो मितिमा अभिनेत्री तथा निर्मात्री श्वेता खड्का र अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘कान्छी’ रिलिज हुँदैछ ।
राजनराज सिवाकोटीको संगीत रहेको ‘चरी चट्ट परि’ र अर्जुन पोखरेलको संगीत रहेको ‘ए कान्छी’ बोलको गीतले पनि यो फिल्मलाई थप प्रतिक्षीत बनाएको छ ।
यस्तैमा प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मका दुई मुख्य कलाकार दया र श्वेता मोफसल टुरमा निस्किएका छन् । आइतवार चितवनस्थित भरतपुरमा आयोजित पत्रकार भेटघाटमा यी दुईले ‘कान्छी’ दर्शकका लागि हेर्न योग्य फिल्म रहेको बताए ।
‘कोहिनूर’ पछि फिल्म निर्माणमा फर्किएकी श्वेताले चितवन आफ्नो माईत घर रहेको बताइन् । ‘मेरो फिल्मको यात्रा नै चितवनबाट सुरु भएको थियो, त्यसैले म यो ठाउँलाई माईती घर भन्न रुचाउँछु ।’ श्वेताले भनिन् । उनको पहिलो फिल्म ‘कहाँ भेटिएला’ को छायांकन चितवनमा गरिएको थियो ।
स्व.निर्देशक शिव रेग्मी पत्नी ज्ञानु रेग्मीलाई पनि चितवन पुग्दा श्वेताले सम्झिइन् । ‘श्वेताको ‘कान्छी’ धेरै सफलहोस् । यसैगरी हिम्मत गरेर अगाडि बढ्नु ।’ ज्ञानुले भनिन् । यस्तै, अभिनेता दयाले फिल्म ‘कान्छी’ समसामयिक कथावस्तुमा राम्रो फिल्म बनेको बताए ।
उनले भने, ‘सानो सपना र ठुलो दुःख भोगाइको नै ‘कान्छी’ हो । तर यही पुरुषवादी सोचको ‘कान्छी’ होइन, ममतामयी ‘कान्छी’ हो ।’ ‘कान्छी’ लाई ‘कोहिनूर’ फेम निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ ।
यो फिल्ममा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ । शैलेश खड्का निर्माता रहेको फिल्ममा रविन खड्का सह-निर्माताको रुपमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*