Home / Feature Breaking news / घोराही बजारका ठेला एक हप्तामा व्यवस्थापन हुने

घोराही बजारका ठेला एक हप्तामा व्यवस्थापन हुने

घोराही, ९ माघ

घोराही बजार क्षेत्रमा रहेका ठेला व्यवसायलाई व्यवस्थित गर्न थालिएको छ । जथाभावी ठेलाहरु राख्दा आवतजावतमा असहज, दुर्घटनाको जोखिम र सुन्दरतमा ह्रास आएपछि बजार क्षेत्रका ठेलाहरुलाई व्यवस्थित गर्न थालिएको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले मंगलबार ठेला तथा ढेब्लीमा समान राखेर बेच्दै आएका व्यवसायीहरुलाई भेला गराई एक साता भित्र व्यवस्थापन गर्ने बिषयमा सहमत गराएको छ । वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको छलफलबाट एक हप्ता भित्र ठेला तथा ढेब्लीहरुलाई घोराही उपमहानगरले तोकेको स्थानमा व्यवस्थित गर्ने, मूल्यमा एकरुपता ल्याउने, प्रत्येक व्यवसायीले गल्ने र नगल्ने फोहोर राख्नका लागि भाँडाको व्यवस्था गर्ने र एउटा व्यवसायीले एउटा ठेलाको प्रयोग गर्ने निर्णय भएको छ ।

घोराही उपमहानगरपालिकाले अव्यवस्थित रुपले सडक छेउमा राखिने र गुडाउने ठेलाहरुलाई घरेलु सिल्पकलाको जग्गा र पुरानो बसपार्कको सभागृह निर्माण स्थल छेउमा व्यवस्थापन गर्ने गरि व्यवसायीहरुलाई एकसाताको समय दिईएको छ ।

व्यवसायीहरु सँग भएको छलफल र गरिएका निर्णयहरुलाई कार्यान्वयन गर्न वडा सदस्य एवं ठेला व्यवस्थापन समितिका संयोजक गुलाम रसुलको संयोजकत्वमा ठेला व्यवसायी समितिका अध्यक्ष दिर्घनारायण बिष्ट र व्यवसायी अजित मन्सुरी सदस्य रहेको समिति समेत गठन गरिएको छ ।

छलफलमा वडा अध्यक्ष शक्तिराम डाँगीले बजार व्यवस्थापन र सुरक्षित व्यापारका लागि यो काम थालिएको बताउनुभयो । अध्यक्ष डाँगीले व्यवसायीहरु सँग भएका सहमतिहरु कार्यान्वयनमा अटेरी गरे उपमहानगरले बनाएको कानुन अनुसार कार्वाही गर्ने समेत चेतावनी दिनुभएको छ ।

छलफलमा ठेला व्यवसायीहरुले राज्यको निति नियमलाई मान्दै कर तिर्न तयार रहेको तर आफुहरुलाई उपयुक्त र सुरक्षितमा व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् । ठेला डुलाएर व्यापार गर्नेले आफुहरुको व्यापारमा समेत असर पु¥याएको भन्दै उनिहरुलाई नियमन गर्न समेत आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*