Home / Feature Breaking news / दाङमा आजदेखि मतदाता शिक्षा कार्यक्रम

दाङमा आजदेखि मतदाता शिक्षा कार्यक्रम

विमला घर्ती
घोराही, २५ कार्तिक
दाङमा आज शनिबार देखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने भएको छ । बदर हुने मत प्रतिशतलाई कम गर्न तथा सबैलाई सही ढंगले मत हाल्न सिकाउनका लागि जिल्ला निर्वाचन कार्यालय दाङले मतदाता शिक्षा कार्यक्रम सुरु गर्ने भएको हो ।

जिल्लामा कायम गरिएका तीन सय ९४ मतदान केन्द्रमा मतदाता शिक्षा स्वयमसेवक परिचालन गर्ने भएको छ । प्रत्येक मतदान केन्द्रमा एक जना मतदाता शिक्षा स्वयमसेवक परिचालन हुने गरि तीन सय ९४ स्वयम सेवक खटाइने कार्यालयको भनाई छ ।

जिल्ला निर्वाचन अधिकारी विजय कुमार कार्कीका अनुसार मतदाता शिक्षा स्वयम सेवकहरुलाई मतदाता शिक्षा सम्बन्धि तालिम दिईएको छ ।

दाङका १० वटा स्थानीयपालिका मध्य घोराही र तुलसीपुर उपमहानगरपालिकाका मतदाता शिक्षा स्वयमसेवकलाई शनिवार तालिम दिई सम्बन्धित केन्द्रमा खटाइने भएको छ भने लमही नगरपालिका लगायत सात वटै गाउँपालिकाका एक सय ९० जनालाई शुक्रवार तालिम दिइएको छ । उनिहरु सम्बन्धित केन्द्रमा खटिने भएका छन् ।

निर्वाचन कार्यालयका अनुसार जिल्लामा सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेवीका र शिक्षिकालाई मतदाता शिक्षा स्वयंसेवकको रुपमा परिचालन गरिएको हो ।

उनीहरुले गाउँगाउँमा मतदान गर्ने तरिकासहित मतदातालाई मताधिकारबारे सुसूचित गराउने छन् । मतदाता शिक्षा कार्यक्रम मंसिर २१ गते सम्म सञ्चालन हुने छ ।

गत असारमा भएको स्थानीय तहको निर्वाचनमा तीन दशमलब १६ प्रतिशत मत बदर भएको थियो । त्यसलाई शुन्यमा झार्नका लागि यसपटक मतदाता शिक्षा स्वयमसेवक कडा रुपमा परिचालित तथा प्रस्तुत हुने भएका छन् ।

मतदातालाई नछुटाई जानकारी दिन निर्देशन दिएको निर्वाचन अधिकारीले बताउनुभयो । यही कात्तिक १५ गतेवाट मतदाता शिक्षा कार्यक्रम सुरु गर्ने कार्यतालिका भएपनि मतपत्र परिवर्तन लगाएतका प्राबिधिक कारणले कार्यक्रम ढिलो गरी सुरु भएको निर्वाचन अधिकारी कार्कीले वताउनुभयो ।

मतदाता शिक्षा स्वयमसेवक परिचालन गरे संगै निर्वाचन कार्यालयले निर्वाचनका कार्यक्रम धमाधम सुरु गर्ने छ । कार्यालयका अनुसार निर्वाचन र सञ्चार बिषयक तालिमको आयोजना गरिने जानकारी दिएको छ ।

त्यसपछि जिल्लाका उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका लगाएतका सरकारी कार्यालयका कार्यकारी अधिकृतहरुलाई स्थानीय स्तरमा कर्मचारीहरु कसरी परिचालन गर्ने भन्ने बिषयमा कार्यक्रम हुने, नमुना मतदान कार्यक्रमको आयोजना गरिने निर्वाचन अधिकारी कार्कीले जानकारी दिनुभयो ।

अहिले निर्वाचनमा परिचालन हुने स्वयमसेवकको विवरण दिने काम सम्पन्न भएको भन्दै उहाँले छनोट गर्न बाँकी रहेको जानकारी दिनुभयो ।

यसपटक जिल्लाका विभिन्न सरकारी कार्यालय तथा संघ संस्था लगाएतका गरी करिव तीन हजार एक सय ४८ जना कर्मचारी खटिने भएका छन् । यस्तै संगै सुरक्षाको लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना खटिने निर्वाचन अधिकारीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*