Home / Feature Breaking news / प्रादेशिक राजधानी हाम्रो मिसनः दिपक गिरी

प्रादेशिक राजधानी हाम्रो मिसनः दिपक गिरी

१) स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै तपाई प्रतिनिधि सभाको निर्वाचनको उम्मेद्वार बन्नुभएको छ, तपाईका मुख्य निर्वाचनका एजेण्डा के हुन् ?

धन्यवाद तपाई, अनि तपाईको गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई पनि । मलाई आसन्न निर्वाचनका मुख्य एजेण्डाका विषयमा केही कुरा राख्न दिनुभएकोमा । मेरो उम्मेद्वारीका धेरै आधारहरु छन् । समग्रमा भन्नुपर्दा हामी समग्र दाङको समृद्धि चाहन्छौं । समृद्धिका लागि विकास एउटा मुख्य आधार हो । विकासका सम्पूर्ण पूर्वाधारहरु तयार हुने क्रममा छन्, केही स्थानमा काम भइसकेका छन् भने केही स्थानमा पूर्वाधार निर्माणको तयारीमा छन् । खासमा हामीहरु दाङलाई प्रादेशिक राजधानी बनाउने हाम्रो मिसन हो । त्यसैका लागि हामी कांग्रेसका सबै निर्वाचन क्षेत्रका उम्मेद्वारहरु सामूहिक चुनावी एजेण्डा बनाउने सवालमा केन्द्रित रहेका छौं । सम्भवतः केही दिनमै हामीले चुनावी एजेण्डाहरु सार्वजनिक गर्ने तयारीमा छौं ।

२) राजधानी हल्लाले हुने हो वा पुर्वाधारले ? त्यो विषयमा केही तयारी पनि छ कि ?

हामीहरुले दाङलाई राजधानी बनाउने धेरै आधारहरु निर्माणमा जुटिरहेका छौं, धेरैजसो पूर्वाधारहरु अहिल्यै पनि तयार भइसकेका छन् । मुखले भाषण गरेर हुने होइन गरेर देखाउने अवस्था अहिलेको हो । त्यसका लागि नेपाली कांग्रेसले दाङको समृद्धिमा प्रधानमन्त्री देउवालगायत पार्टी नेतृत्व तयार रहेको छ । राजधानीका लागि चाहिने सडक यातायात, हवाई यातायात, औद्योगिक क्षेत्रको अवधारण, खेल मैदान, सभाहल, सुविधा सम्पन्न होटलहरुलगायत धार्मिक पर्यटकीय गन्तव्यसँगै कृषिको हव बनाउन पनि हामीहरु लागिरहेका छौं । नेपाली कांग्रेसले बहुमत ल्याएको अवस्थामा मात्रै यी सबै योजनाहरु कार्यान्वयनमा आउने छन्, त्यसैले आसन्न निर्वाचनमा मलगायत सम्पूर्ण नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई विजयी बनाउन मैले आम जिल्लावासीहरुलाई आग्रह गर्दछु ।
३) प्रादेशिक राजधानीको कुरा गर्नुभो, धेरै पूर्वाधारहरु अझै डामाडोलका अवस्थामा छन् नि ?, जस्तै हवाइ सेवाको निरन्तरता, नाका सडक नखुलेको अवस्था अनि दाङ—सुर्खेत सडकको स्तरोन्नतिमा ढिलाईलाई कसरी लिनुभएको छ ?

तपाईले ठीक भन्नुभो । अस्थिर राजनीतिका कारण विकास निर्माणले गति लिन नसकेको अवस्था हो । हवाई सेवा सञ्चालनका लागि तुलसीपुर उद्योग वाणिज्य संघले केही अघि गरेको पहललाई विशेष धन्यवाद दिन चाहन्छु, तर म त्यो बेला विभागीय मन्त्री नभएका कारण हवाइसेवालाई निरन्तरता दिन नसकिएको अवस्था हो । तर पनि मेरै पहलमा हवाई सेवा सञ्चालनका लागि रनवे कालोपत्रे गर्ने काम मेरै पहलमा भएको हो । तर अब त्यो रनवेले पुग्दैन । रनवे विस्तारका लागि अर्को टेण्डर समेत नेपाली कांग्रेसकै पहलमा भइसकेको छ । हामी तुलसीपुर विमानस्थलको रनवेलाई एक हजार दुई सय मिटरको लम्वाईमा लैजान चाहन्छौं । त्यसको प्रक्रिया समेत शुरु भइसकेको छ । किनकि अहिलेको विमानस्थलको स्तर बृद्धि नभएसम्म ठूला विमान कम्पनीहरुले यहाँ सेवा दिने अवस्था रहँदैन । त्यसैले पनि रनवेको विस्तार मात्रै एउटा विकल्प हो ।

४) अनि हवाई इन्धन डिपोका विषयमा नि ?

त्यो पनि पहल भइरहेको छ । नेपाल सरकारको कपास विकास समितिको जग्गामा प्रारम्भिक सर्वे समेत भइसकेको अवस्था यहाँलाई जानकारी गराउन चाहन्छु । अर्को कुरा त्यो जग्गाको स्वामित्व हस्तान्तरण गर्न क्याविनेटले निर्णय गर्ने कुरा हो । अहिले निर्वाचन नसकिँदै त्यो निर्णय हुन सक्दैन, किनकि आचारसंहिता लागू भइसकेको अवस्था छ । हामी चाहन्छौं, क्षेत्रीय स्तरको इन्धन डिपोको स्थापना दाङमै होस् अनि अर्को कुरा हामी दाङ जिल्लालाई मध्यपश्चिमकै हवाई ट्रान्जिटको रुपमा व्यवस्थित गर्ने तयारीमा छौं ।
५) खासमा तपाईं नेपाली कांग्रेसको केन्द्रीय सदस्य भए पनि विशेष गरी पश्चिम दाङकै उम्मेद्वार पनि हुनुहुन्छ ? तर दुई दशक अघि ट्रयाक खुलेको दाङ सुर्खेत सडकको हविगतलाई देख्नुभा छ ?

हो मैले सबैभन्दा बढी चासो दिएकै त्यही विषयमा हो । मध्यपश्चिम डिभिजन सडक कार्यालय र विद्युत कार्यालयको समन्वय नहुँदा सडकको उचित मापदण्डमा स्तर बृद्धि हुनसकेको छैन । हामी सो सडकलाई क्षेत्रीय राजमार्गका रुपमा स्थापित गर्न चाहन्छौं, तर विद्युत कार्यालयले सडकै राइट अफ वेमा पोलहरु गडिदिएपछि केही समस्या देखिएको छ । आदरणीय नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको पहलमा ट्रयाक खोलिएको सो सडकलाई मध्यपश्चिमलाई सुदूरपश्चिमसँग सोझै जोडेर राजधानीलगायत मुलुकका विभिन्न सहर छिचोल्ने सडकका रुपमा स्तर बृद्धि गर्ने अभियानमा छौं । नेपाली कांग्रेसको सरकार बनेपछि मात्रै त्यो चाँडै सम्पन्न हुन्छ । तर पनि यस अघि नेपाली कांग्रेसकै पहलमा सो सडक नेपाल सरकारले स्तर बृद्धि गर्न नसक्ने अवस्था भए डोनर एजेन्सीहरुसँग पनि हाम्रो पहल भएको हो । सो सडकमा लगानी गर्न विभिन्न दातृ निकायहरु पनि सकारात्मक छन् । नेपाली कांग्रेसको सरकार गठन भए त्यो विषयमा पनि तत्काल पहल थालिने मैले आम जिल्लावासीहरुलाई विश्वस्त गराउन चाहन्छु ।

६) अनि अर्को प्रशंग, तपाईको उम्मेद्वारी केका लागि ?

मेरो उम्मेद्वारी लोकतन्त्र मानअधिकार, आर्थिक समृद्धि, सभ्य भयमुक्त समाज, राष्ट्र र दाङको जिल्लाको विकासका लागि हो । जिल्लाको वृहत विकास, आर्थिक समृद्धि र दाङलार्ई जोनिङ सहर बनाउनका लागि हो । लोकतन्त्रको फराकिलो मार्गलार्ई अवलम्बन गरी यस क्षेत्रको सर्वाङ्गीण विकास र दाङलार्ई प्रान्तीय राजधानी बनाउन एवं युवा रोजगारी सुनिश्चितताका लागि प्रतिबद्ध रहि दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वारी दिएको हु ।

७) पछिल्लो समयमा एमाले र माओवादीको बाम गठबन्धनका उम्मेद्वारहरु चुनावी मैदानमा छन्, त्यसमा तपाईले जित्ने आधारहरु के के छन् ?

बाम गठबन्धन नभन्नुहोला, यो कम्युनिष्ट अधिनायकवादको गठबन्धन हो । विश्वले लोकतन्त्र चाहिरहेको अवस्थामा यहाँ चुनावी तालमेलका लागि गरिएको कम्युनिष्ट गठबन्धनको स्वार्थ आम नेपालीहरुले बुझिसकेका छन् । समृद्धिका लागि सहकार्य हुनपर्छ भन्ने हाम्रो मान्यता हो, तर हामीहरु सत्ताका लागि गठबन्धन गर्न चाहेका छैनांै । नेपाली जनता त्यत्ति कमजोर छैनन्, ताकि उनीहरुले गठबन्धनका पक्षमा मतदान गर्ने छैनन् । उनीहरुको मत लोकतन्त्रका पक्षमा हुने छ । त्यसैले पनि लोकतन्त्रको पक्षमा रहेको नेपाली कांग्रेसले अत्यधिक बहुमतले सबै क्षेत्रमा निर्वाचन जित्ने छ । अब मुलुक लोकतन्त्रको पक्षमा प्रवेश गरिसकेको अवस्थामा अधिनायकवाद कुनै पनि स्वाभिमानी नेपालीहरुलाई स्वीकार्य हुने छैन ।
८) अँ अर्को प्रसङ्ग तपाईलार्ई नै भोट किन दिनुपर्ने जनताले ?

तपाईलाई थाहै छ मेरो राजनीतिको बारेमा मैले भनि रहनुपर्ने कुरा होइन । यो निर्वाचन अलि अन्य निर्वाचन जस्तो होइन अहिले देश संघीयता गएको छ । नेपालको लोकतन्त्र, मानवअधिकार र जनप्रतिनिधिमूलक शासन पटक–पटक दक्षिणपन्थी अतिवाद र बामपन्थी उग्रताको आक्रमण र जोखिममा पर्दै आएको छ । नेपाली कांग्रेसले नै यस्ता उग्र दक्षिणपन्थी र उग्रबामपन्थी अतिवादका विरुद्ध नेपाली जनतालार्ई संगठित गर्दै लोकतन्त्र, मानवअधिकार, आर्थिक समृद्धि सभ्य र भयमुक्त समाजको बलियो आधारशीला खडा गरेको छ । नयाँ संविधानले संघीय, समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक नेपाललार्ई दृढताका साथ संस्थागत गरेपछि नेपाल राष्ट्रिय पुनर्जागरणको नयाँ युग प्रवेश गरेको यहाँलार्ई जानकारी नै छ । अबको नेपालको राजनीति लोकतन्त्र, सहमति र सहकार्यको फराकिलो मर्म र भावनामा आधारित हुनुपर्छ र अबको राष्ट्रिय एजेण्डा देश र जनताको आर्थिक समृद्धिमा केन्द्रित हुनपर्छ भन्ने नेपाली कांग्रेसको धारणा हो । त्यसैले देश र दाङको समृद्धि र एकदलीय शासन अन्त्य लोकतन्त्रको रक्षा र दाङको विकासका लागि जोनिङ सहरको रुपमा दाङलाई विकास गराउनका लागि दङाली जनताले भोट नेपाली कांग्रेसका उम्मेद्वार र मलाई दिनुहुनेछ भन्ने हो ।

९) तपाईले शुरु गरेका विकासका योजनाहरु के–के छन् ?

मैले शुरु गरेका विकास योजनाहरु धेरै छन्, दाङमा म सिंचाई मन्त्री हुँदा वृहत दाङ सिंचाई योजना शुरु भएको छ । त्यसैगरी दाङ सुर्खेत सडक खण्डको कालोपत्रे, विभिन्न स्थानमा पुलहरुको निर्माण, दाङका मेरुदण्डको रुपमा रहेको दुईवटा बाटोहरुको स्तरोन्तिका साथै विभिन्न डिपवोरिङका योजनाहरु रहेका छन्, केही सम्पन्न भएका छन् भने केही हुनेक्रममा छन् । यी सबै योजनाहरु हामीहरुले ल्याएका योजनाहरु छन् । दाङलार्ई सिंचाई सुविधा पु¥याउन दाङ वृहत सिंचाई योजनालार्ई सफल पार्न र हाल भएका विकासलार्ई निरन्तर दिँदै अन्य विकासका योजनाहरु ल्याउने काम भइरहेको छ र म निरन्तर देश तथा त्यसमा पनि दाङको विकासका लागि लागिपरेको छु र म सधैं लाग्ने छु ।

१०) तपाई पावरमा हुँदा पनि केही गर्न नसकेको आरोप छ नि ?

यो सबै विपक्षले लगाउने आरोप हो । मैले विकास गरेको नगरेको कुरा त घाम जस्तै छर्लङ्ग छ । मैले दाङको लागि धेरै विकास गरेको छु । हो केही कमीकमजोरी भए होलान्, मैले सबै राम्रो गरे भन्ने चाहि होइन, कुनै ठाउँमा केही विकास मागेको समयमा दिन नसकेको अर्को कुरा हो, तर समग्र दाङको विकासका लागि म लागिपरेको छु । हिजो पनि लागेको थिएँ र भोलि पनि लाग्ने छु । म पदमा रहँदा नरहँदा सधैं विकासका लागि लागेको छु ।

११) अन्त्यमा केही भन्नु छ ?

सर्वप्रथम त तपाई अनि तपाईको पत्रिकालार्ई धन्यवाद दिन चाहन्छु । मेरा विचारहरु जनता माझ राख्ने मौका दिनुभएकोमा । मैले पहिले पनि भने यो चुनावमा बाम गठबन्धन र लोकतान्त्रिक शक्तिबीचको प्रतिस्पर्धा छ । नेपाली कांग्रेस लामो इतिहास बोकेको पार्टीहो । कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान अन्तर्गत संविधानसभाबाट नेपालको संविधान जारी भएको घटना लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोनको एउटा महत्वपूर्ण उपलब्धि हो । सात दशकदेखि बहुदलवादमा आधारित बहुदलीय संसदीय लोकतन्त्र, राजनीतिक, गरिबीबाट मुक्त समाज निर्माण गर्न नेपाली कांग्रेसले अब संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले प्रत्याभूत गरेका बहुदलवादमा आधारित बहुदलीय, संसदीय, संसदीय लोकतन्त्र आधाभूत्त, मानवअधिकार र पूर्ण प्रेस स्वतन्त्रताको सम्बद्र्धन गर्दै लोकतान्त्रिक समाजवाद उन्मुख समृद्ध नेपाल निर्माण गर्नेतर्फ देशलार्ई अघि बढाउने छ । त्यसैले यो अपवित्र बामगठबन्धन भन्दा पनि लोकतन्त्रका लागि कांग्रेसका उम्मेद्वारहरुलाई जिताउन सबै जनतालाई म अपील गर्दछु । त्यसैले दाङको विकास र समृद्धि दाङलार्ई प्रादेशिक राजधानीको रुपमा विकास गर्न र शान्ति समृद्धि विकासका लागि नेपाली कांग्रेसका प्रतिनिसभा प्रदेश सभामा जनताले अत्यधिक मतले विजय गराउनुहुन आग्रह समेत गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*