Home / समाचार / रहेनन् कांग्रेस नेता भण्डारी

रहेनन् कांग्रेस नेता भण्डारी

दाङ, २२ कार्तिक
सवारी दुर्घटनामा परी घाइते भई उपचाररत रहेका कांग्रेस नेता रणबहादुर भण्डारीको मंगलवार निधन भएको छ । गत माघ २५ गते सडक दुर्घटनामा परी घाइते भण्डारीको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो ।

कांग्रेसका पूर्व क्षेत्रीय सचिवसमेत रहेका भण्डारी पार्टीको कामको शिलशिलामा नारायणपुरबाट घोराही आउँदै गर्दा भण्डारी सवार मोटरसाइकललाई नारायणपुर झारबैरा चोकमा यात्रुबाहक बसले ठक्कर दिएको थियो ।

भण्डारीको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको र बाँकी संस्कार भण्डारी निवास दुन्द्रामा गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । भण्डारीका श्रीमती तीन छोरी र एक छोरा छन् ।

यसैबीच भण्डारीको निधनप्रति नेपाली कांग्रेसका नेताहरुले दुख ब्यक्त गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, जिल्ला सभापति कीर्तिबहादुर खड्का र जिल्ला सचिव शंकरप्रसाद डाँगीेले छुट्टाछुट्टै शोक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

त्यसैगरी पूर्व सांसद अनिता देवकोटाले भण्डारीको निधनप्रति दुःख व्यक्त गरेकी छिन् । देवकोटाले एक शोक विज्ञप्ति जारी गर्दै आफू सांसद छँदा सांसद प्रतिनिधिको रुपमा रही आफूलाई अमूल्य सहयोग गरेको स्मरण गर्दै भण्डारीको निधनबाट दाङ कांग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेकी छिन् ।

त्यस्तै पूर्व सांसद तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजु खनाल, प्रदेशसभाका उम्मेदवार कमलकिशोर घिमिरे र भरतबहादुर न्यौपाने, क्षेत्रीय अध्यक्ष भूपबहादुर डाँगीले शोक विज्ञप्ति जारी गरी भण्डारीको निधनले दाङ कांग्रेसलाई अपूरणीय क्षति भएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*