Home / समाचार / युवाहरु नेतृत्वमा आउन आवश्यक छः वडा अध्यक्ष शाह

युवाहरु नेतृत्वमा आउन आवश्यक छः वडा अध्यक्ष शाह

तुलसीपुर, २१ असोज
तुलसीपुर उप महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्र शाहले राजनीतिमा युवाहरुको सहभागिता मात्र नभई अब नेतृत्वमा आउनु पर्ने बताउनु भएको छ ।

राजनीतिलाई सहि दिशामा हिडाउनको लागि अब युवाहरुले काध थाप्नु पर्ने बेला आएको उहाँको धारणा थियो । रोटरी क्लव अफ तुलसीपुर सिटीले गरेको स्वागत तथा सम्मान कार्यक्रममा अतिथी वक्ताको रुपमा रहनु भएका वडा अध्यक्ष शाहले आफु वडा अध्यक्षमा निर्वाचित भएर आएपछि लगत्तै तुलसीपुर बजारलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको र यसले बजार क्षेत्र धेरै मात्रामा कोलाहल मुक्त भएको बताउनु भयो ।

जुनसुकै वडामा पनि एक करोड बजेट छुट्याईनु त्यो न्यायोचित नभएको भन्दै वडाको प्रकृति, त्यहाँको जनघनत्व हेरेर रकम छुट्याईएको भए राम्रो हुने उहाँको धारणा थियो साथै वडा नम्बर ५ तुलसीपुरको मुटु भएकोले त्यो रकम अत्यन्त थोरै भएको र त्यसैमा पनि काम सम्पन भएपछि मात्र रकम निकाशा गर्ने नियम झनै झन्झटिलो भएको उहाँको भनाई थियो ।

तुलसीपुर बजारलाई सदाबहार उज्यालो राख्ने अभिप्रायलाई सार्थक तुल्याउनको लागि टोल टोलमा वत्ती पोल पोलमा वत्ती भन्ने नारालाई आत्मसात गरिएको र प्राय सबै पोलहरुमा वत्ती जडान भईसकेको तथापी कहि कतै छुट्न गएको भए नागरिकहरुले तत्काल सुचना दिन उहाँले आग्रह गर्नु भयो ।

अर्को प्रसँगमा शाहले आफुले गर्न सक्ने काम पनि अरुले गरिदिए हुन्थ्यो भन्ने आम मानिसहरुको सोचमा परिवर्तन ल्याउन क्लिन तुलसीपुर ग्रिन तुलसीपुर अभियान सार्थक भएको बताउनु भयो ।

उहाँले मानविय धर्म तथा सामाजिक कार्यमा रोटरी क्लब अफ तुलसीपुर सिटीले पुर्याएको योगदानको समेत खुलेर प्रशंसा गर्नुभयो साथै यस्तो प्रतिष्ठित संस्थाबाट सम्मानित हुन पाउनु आफ्नो लागि गर्वको बिषय भएको र क्लबको सेवामुलक कार्यको दायरा अझै फराकिलो हुनुपर्नेमा उहाँले जोड दिनु भएको थियो ।

शाहलाई क्लबका पूर्व अध्यक्ष अनुप कुमार श्रेष्ठ र कुशल तर्तालले खादा ओढाएर सम्मान एवम् स्वागत गर्नु भएको थियो भने पूर्व अध्यक्ष बिजय केसीले क्लबले स्थापना कालदेखी अहिले सम्म गरेका बिभिन्न सामाजिक गतिबिधीहरुको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा रोटरियन सन्दिपन रिजालले प्रमुख अतिथी शाहको परिचय गराउनु भएको थियो ।

रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष तुफानवावु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले प्रमुख अतिथी शाहलाई मायाको चिनो प्रदान गर्दै वडाले गर्ने हरेक सामाजिक कार्यमा रोटरीको मूल्य, मान्यता र आदर्शलाई आत्मसात गर्दै हातेमालो गर्न क्लव तयार रहेको कुरा बताउनु भएको थियो ।

क्लबका भावी अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष सचिन पौडेल, भावी अध्यक्ष रुपेश शर्मा, महासचिव हेमेन्द्र खड्का त्यसैगरी ईन्ट्रयाक्ट क्लब अफ गोरखा बोर्डिङका अध्यक्ष पवन घिमिरे, कोषाध्यक्ष सिर्जना थापा लगाएतको उपस्तिथी थियो ।

रोटरियन देवेन्द्र केसीले सहजिकरण गरेको कार्यक्रममा क्लबका प्रस्तावित अध्यक्ष देव बहादुर केसीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । यसै बिच सोही कार्यक्रममा क्लबले मासिक रुपमा प्रकाशन गर्दै आएको बुलेटिनको पनि बिमोचन गरिएको थियो । सेप्टेम्बर महिनामा क्लबले गरेका बिभिन्न गतिबिधी समेटिएको बुलेटिनको बिमोचन प्रमुख अतिथी शाह र क्लबका पूर्व अध्यक्ष बिमल रिजालले संयुक्त रुपमा गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*