Home / Feature Breaking news / समानुपातिक सांसदलाई कांग्रेसले अब उम्मेदवार नबनाउने

समानुपातिक सांसदलाई कांग्रेसले अब उम्मेदवार नबनाउने

काठमाडौं, २० असोज 

नेपाली कांग्रेसले अहिलेका समानुपातिक सांसद रहेकालाई आगामी निर्वाचनमा फेरि समानुपातिक उम्मेदवार नबनाउने भएको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले मंसिरमा हुने संघ र प्रदेशको चुनावमा २०७० का समानुपातिक सांसदलाई उम्मेदवार नबनाउने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले सेतोपाटीलाई जानकारी दिए।

कांग्रेसले स्थानीय तहको निर्वाचनमा उम्मेद्वार भएकालाई पनि प्रतिनिधिसभाको लागि उम्मेदवार नबनाउने भएको छ। आजको केन्द्रीय समिति बैठकमा महामन्त्री शशांक कोइरालाले समानुपातिक सांसदलाई फेरि समानुपातिक उम्मेदवार बनाउन नहुने प्रस्ताव गरेका थिए।

स्थानीय तहमा आधिकारीक उम्मेदवारविरुद्ध बागी उठेका,बागी उम्मेदवारलाई समर्थन गरेका कांग्रेस नेता/कार्यकर्ताले पनि अब सांसदको टिकट पाउने छैनन्। कांग्रेसले यसअघि नै बागी उठ्नेलाई कारबाही गर्ने निर्णय गरेको थियो।

केन्द्रीय समितिले मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनको टिकट वितरणका लागि संसदीय बोर्ड बनाउन सभापति शेरबहादुर देउवालाई जिम्मा  दिने निर्णय पनि गरेको छ। पार्टी विधानमा संसदीय बोर्डले नै प्रतिनिधिसभाका सांसद उम्मेदवार चयन गर्नु पर्ने व्यवस्था छ।

चुनावमा लोकतान्त्रिक शक्तिहरुबिच तालमेल गरेर जानुपर्ने आवाज पनि केन्द्रीय समितिमा उठेको थियो।

बैठकमा  बोल्ने अधिकांस केन्द्रीय सदस्यले एमाले-माओवादी गठबन्धनपछि कांग्रेस आत्तिनु नहुने बताएका थिए। वाम गठबन्धनले कम्युनिष्ट विचारधारालाई बलियो बनाउने भन्दै अब कांग्रेसले लोकतन्त्रलाई बलियो बनाउन लाग्नुपर्ने धारणा धेरैले राखेको पौडेलले बताए।

सेताेपाटी अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*