Home / Feature Breaking news / आर्थिक चाडपर्वमा चलायमान अर्थतन्त्र

आर्थिक चाडपर्वमा चलायमान अर्थतन्त्र

विष्णु बेल्बासे

दसैँ, तिहार लगायतका चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ । व्यवसायीले दसैं, तिहारलाई लक्षित गरी सामान अत्यधिक आयात गर्छन् । सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख एवं कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । ‘कर्मचारीले दुई महिनाको तलब एकै महिना खर्च गर्छन्,’ उनले भने, ‘यस कुराले पनि दसैंमा अर्थतन्त्र कति चलायमान हुन्छ भन्ने देखाउँछ ।’

वर्षभरि कर्मचारीले १३ महिनाको तलब पाउँछन् । थप एक महिनाको तलब दसैँ खर्चका लागि दिइने पुरानो चलनका कारण र बजारमा पैसा चलायमान हुने भएकाले दसैँ र तिहारको पूर्वसन्ध्यामा करिब ५० अर्ब बराबरका नयाँ नोट साटिने गर्छन् । दसैं तिहारलाई लक्षित गरी नयाँ सवारी साधन खरिदमा छुट, सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा यही बेला हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको हो ।

विदेश बस्ने नेपालीले यही समयमा बढी रेमिटेन्स पठाउने गरेका छन् । अन्य महिनाको तुलनामा दसैँमा करिब २५ देखि ३० प्रतिशत बढी रकम रेमिटेन्स आउने गरेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउने गरेको छ । नेपालको ५६ प्रतिशत घरधुरीको प्रमुख आयस्रोतको रूपमा रेमिटेन्स रहेको छ । गत आर्थिक वर्षमा ६ खर्ब ९५ अर्ब रेमिटेन्स भित्रिएको थियो । त्यसअघि भने केही घटेको थियो । तथ्यांकअनुसार ६ खर्ब ६५ अर्ब मात्र रेमिटेन्स दुई आर्थिक वर्षअघि नेपाल भित्रिएको थियो ।

दसैँमा रेमिटेन्स बढी भित्रने भएकाले रेमिट कम्पनी, बैंक तथा वित्तीय संस्थाहरू पनि विभिन्न योजना सञ्चालन गर्ने गर्छन् । छुट, उपहार लगायतका योजनाले पनि केही हदसम्म यो अवधिमा रेमिटेन्सको आप्रवाह बढाउन सहयोग पुग्छ ।

दसैँमा अरू बेलाभन्दा जति बढी रेमिटेन्स भित्रन्छ, त्यो रकमको प्रयोग भने उपभोग्य वस्तुको खरिदमै हुने गरेको छ । ‘दसैँ खर्च गर्न भनेर नै विदेशिएकाहरूले यो अवधिमा अन्य समयभन्दा बढी रकम पठाइरहेका हुन्छन्, त्यसैले नेपालीले विदेशबाट आएको पैसा नयाँ लुगा, घरका आवश्यक चिजबिजमै बढी खर्च गर्छन्,’ अर्थविद् रामेश्वर खनालले बताए, ‘यस बेला थोरैले मात्र दीर्घकालीन लगानीका हिसाबले खर्च गर्छन् ।’

राष्ट्र बैंकले गत वर्ष १६ जिल्लाका ३ सय २० घरपरिवारमा गरेको रेमिटेन्स प्राप्त गर्ने घर परिवारको बचत तथा लगानी गर्ने प्रवृत्तिसम्बन्धी घरधुरी सर्भेक्षण तथ्यांकले करिब ८० प्रतिशत उपभोग र जग्गा खरिदमै सकिने गरेको देखाएको छ । त्यसमध्ये ३१ प्रतिशत खाद्यान्न खरिदमा सकिने गरेको छ । ३.९ प्रतिशत मात्र वचत हुने देखाएको छ ।

गाउँदेखि सहरसम्म धुमधामका साथ मनाइने दसैँमा व्यापारसमेत बढ्ने गर्छ । कुल राष्ट्रिय उपभोगको २० प्रतिशत दसैँ अघिको २ र ३ साता अवधिमा मात्रै हुने अनुमान गरिएको छ ।

दसैँमा भित्रने अतिरिक्त रेमिटेन्स तथा नेपालमै रोजगारीमा रहेकाले दसैँमा पाउने बोनसजस्ता अतिरिक्त आम्दानी र सर्वसाधारणले वर्षभर सञ्चित गरेको धनबाट हुने खर्चका कारण यही समयमा सामान आयात पनि वृद्धि हुन्छ । राष्ट्र बैंकले दिएको पछिल्ला तीन वर्षको तथ्यांक हेर्दा वर्षभर हुने आयात (पेट्रोलियम पदार्थबाहेक) मध्ये ३० देखि ३५ प्रतिशत यही अवधिमा हुने गरेको छ । गत वर्ष यस अवधिमा मात्रै २ खर्ब ९८ अर्ब रुपैयाँको सामान आयात भएको थियो । दसैँमा बढी खरिद हुनेमा सञ्चार उपकरण, रेडियो÷टीभी, सवारी साधनलगायत पर्छन् । गत वर्षको असोज महिनामा सञ्चार उपकरण, रेडियो÷टीभी, सवारी साधन, रेडिमेड गार्मेन्टका सामान र चामल मात्रै करिब १६ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको थियो । वैदेशिक रोजगारीबाट यो समयमा फर्कनेहरूले पनि सञ्चार उपकरण, रेडियो, टिभी सेट लगायत सामान लिएर आउँछन् तर पनि दसैँमा यस्ता सामान खरिद गर्न रेमिटेन्स पठाउनेको संख्या निकै ठूलो हुन्छ ।

रेमिटेन्सको आप्रवाह वार्षिक रूपमा बढिरहे पनि त्यस्तो धन पुँजी निर्माणमा प्रयोग हुन भने सकेको छैन । वैदेशिक रोजगारीमा जानेमध्ये धेरैमा लगानीसम्बन्धी चेतना नहुनु, लगानी गर्न हिचकिचाहट, ऋण भुक्तानी गर्नुपर्ने बाध्यता लगायतका कारणले पनि यस्तो रकम पूँजी निर्माणमा प्रयोग हुन सकेको छैन ।

हाल ७ सय ५२ मेनपावरले वैदेशिक रोजगारमा पठाउने गरेका छन् । ‘वैदेशिक रोजगारीमा जानेहरूमा अधिकांशको आर्थिक स्थिति निकै कमजोर रहने गरेकाले उनीहरूको प्राथमिकता पुँजी निर्माण हुँदैन । यस्तो रकम कसरी प्रयोग गर्ने भन्ने अधिकार पनि उनीहरूको नै हो । त्यसैले, यसलाई पुँजी निर्माणमा लगाउन जटिलता छ,’ राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक त्रिलोचन पँगेनीले बताए । अन्य समयमा समेत यस्तो रकम पुँजी निर्माणमा प्रयोगमा ल्याउन समस्या परिरहेकाले दसैँमा त यो सम्भावना झनै कम हुने उनको भनाइ छ ।

विदेश बस्नेले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा घर खर्चका लागि परिवारलाई बढी खर्च पठाउने भएकाले पनि रेमिटेन्स बढ्ने गरेको नेपाल मुद्रा विप्रेषक संघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले बताए । ‘ठूला चाडपर्वमा बढी खर्च हुने भएकाले रेमिटेन्स पनि त्यसबेला बढी पठाउने गर्छन्,’ उनले भने, ‘दसैं, तिहार र छठजस्ता ठूला पर्वमा धेरै रकम घरायसीमा खर्च हुने गरेकाले पनि विदेशमा बस्ने आफन्तले बढी रकम पठाउने गरेका हुन् ।’

वैदेशिक रोजगारीका लागि १ सय १० मुलुकहरुमा जान सरकारले स्वीकृत दिएको छ ।

औपचारिक माध्यमबाट मात्र नभई हुन्डीलगायत अनौपचारिक माध्यमबाट पनि रकम भित्रने गरेको छ । अनौपचारिक माध्यमबाट आउने रकम जोड्ने हो भने ठूला चाडपर्वमा अझै धेरै रकम भित्रने अर्थविद् बताउँछन् ।
मुख्य गरी दक्षिण कोरिया र हङकङबाट हुन्डीबाट बढी रकम भित्रने गरेको छ । कोरियामा काम गर्ने कामदारले वैधानिक रेमिटेन्स कम्पनीबाट पैसा पठाउँदा महँगो पर्ने भएकोले पनि हुन्डीको प्रयोग गर्नुपरेको रेमिटेन्स कम्पनीहरु बताउँछन् ।

हाल नेपालमा करिब चार दर्जन रेमिटेन्स कम्पनी छन् । तीमध्ये पनि इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई) अग्रस्थानमा छ । त्यस्तै प्रभु, सिटी एक्सप्रेस, बेस्ट रेमिट, संसारा, वेस्टर्न युनियन, जेएमई, मनिग्रामलगायत कम्पनीले बढी रेमिटेन्स भिœयाउने गरेका छन् ।

रेमिटेन्स औपचारिक बन्न थालेको डेढ दसक भएको छ । अहिले रेमिटेन्स कम्पनीले मात्रै होइन, २८ वाणिज्य बैंकले पनि रेमिटेन्स भिœयाइरहेका छन् । नेपालमा वाणिज्य बैंकमध्ये हिमालयन बैंकले पहिलो पटक हिमाल रेमिट सुरु गरेको थियो ।

अहिले प्रायः सबै वित्तीय संस्थाको रेमिटेन्स मुख्य कारोबार बनिसकेको छ । रेमिटेन्समा वाणिज्य बैंकको बढ्दो उपस्थितिसँगै सेवा र सुविधामा तीव्र प्रतिस्पर्धा छ । यसले कामदार, सरकार र वित्तीय संस्था सबैलाई फाइदा पुगेको छ । कामदारको कमाइ सुरक्षित रूपले परिवारसम्म पुगेको छ । पछिल्लो समयमा ग्रामीण क्षेत्रमा समेत बैंकका शाखा खोल्ने क्रम बढेसँगै विदेशबाट आएको पैसा लिन सहज भएको छ ।

सन् २००८ यता कोरियाले कृषि, पशुपालन र निर्माणका लागि नेपाली कामदार लैजान सुरु गरेको हो । आम्दानी बढी हुने भएकाले कोरियाबाट बढी रेमिटेन्स नेपाल भित्रने गरेको पंगेनीको भनाइ छ ।
नेपालले युवायुवतीलाई श्रम स्वीकृति दिएर २०४२ सालदेखि विदेश पठाउन थाले पनि २०५२ सालमा भएको माओवादी जनयुद्धपछि विदेसिनेको संख्या तीव्र रुपले बढेको वैदेशिक रोजगार व्यवसायी बताउँछन् ।
स्वदेशमा रोजगारीको अवसर नहुँदा यतिखेर श्रम स्वीकृति लिएर मलेसिया, खाडीलगायत मुलुकमा दैनिक सरदर १५ सय युवायुवती जाने गरेका छन् । श्रम स्वीकृति नलिई चोर बाटो हुँदै विदेश पस्नेको संख्या जोड्ने हो भने विदेसिनेको संख्या अझै बढ्छ ।

नागरिकन्यूज अनलाईनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*