Home / Feature Breaking news / मावि नारायणपुरको विवाद उत्कर्षमाः १२ दिनदेखी पढाई अवरुद्ध

मावि नारायणपुरको विवाद उत्कर्षमाः १२ दिनदेखी पढाई अवरुद्ध

दाङ, १७ भदौ

श्री सिद्ध रत्न नाथ मावि नारायणपुरमा शिक्षक भर्नाको विषयलाई लिएर सुरु भएको विवाद उत्कर्षमा पुगेको छ । करिब १० वर्षदेखी विद्यालयम अध्यापन गराईरहनुभएकी शिक्षीक सरिता देवकोटालाई विद्यालय व्यवस्थापन समितिले हटाउन खोजेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको विरुद्धमा शिक्षक, विद्यार्थीहरु उत्रीएका छन् । भदौ ५ गतेदेखी विद्यालयको प्रधानाध्यापको कक्षमा विद्यार्थीहरुले ताला लगाएका छन् । विद्यार्थीहरु आन्दोलित छन् ।

आफूलाई विना कारण हटाउन खोजेको भन्दै शिक्षीका सरिता देवकोटाले विज्ञप्ती निकालेर विद्यालय व्यवस्थापन समितिका अध्यक्षको दबदबामा रहेर प्रधानाध्यापकले समेत उचित निर्णय गर्न नसक्दा विद्यालयमा द्धन्द्ध सिर्जना भई पठनपाठन अवरुद्ध भएको बताउनुभएको छ । देवकोटाले विज्ञप्ती निकालेर आफू अन्यायमा परेको बताउनुभएको छ ।

यस्तो छ देवकोटाको विज्ञप्तीः

                                                                                प्रेस विज्ञप्ती

सिद्ध रत्न नाथ नमूना माध्यमिक विद्यालय नारायणपुर दाङ जिल्ला कै पुरानो विद्यालयको रुपमा चिनिएको विद्यालय हो । यस विद्यालयबाट उत्पादित विद्यार्थीहरु स्वदेश तथा विदेशमा नाम कमाएर बसेका छन् । तर पछिल्ला दिनहरुमा भने विद्यालयको शैक्षिक अवस्था केही खस्केको पाईन्छ । यसको मूल कारण विद्यालयले द्वन्द्ध सिर्जना गर्दै द्धन्दलाई मलजल गरेर केही व्यक्तिको निहित स्वार्थ र व्यक्तिगत आग्रह पूर्वाग्रहमा विद्यालयको वातावरणलाई खलबल्याएर विद्यालयलाई आफ्नो घरको व्यबहार चलाए जस्तै गरी विद्यालय चलाउने धृष्टता गरिरहेको अवस्था हो ।

विगतमा लामो समयसम्म विद्यालयकै प्रमूख पदमा रहेर विद्यालय सञ्चालन गरिरहेको व्यक्तिलाई कथित राजनैतिक सहमतिका आधारमा विद्यालयका अधिकांश अभिभावकहरुलाई झुक्याएर विद्यालय व्यबस्थापन समितिमा ल्याई आफ्नो कार्यकालमा आफुलाई मन नपरेका मान्छेहरुलाई निषेध गर्ने कुण्ठाले ग्रसित भएर विद्यालय जस्तो पबित्र मन्दिरमा ल्याउन प्रत्यक्ष सहयोग गर्ने प्रधानाध्यापक र वि.व्य.स.को अध्यक्षले विद्यालयलाई ध्वस्त बनाउदै लगेकाले त्यस्तो कार्यलाई निरुत्साहित गर्न लाग्ने व्यक्तिहरुमाथि जथाभाविरुपमा नियम र कानूनलाई आफु अनुकुल व्याख्या गरेर हास्यास्पद कार्य गर्न विद्यालय व्यबस्थापन समिति लागि परेको अबस्था छ । यसै शिलशिलामा विगत २०६३ सालमा विद्यालयले उच्च माध्यमिक तहको पढाइ सञ्चालन गर्न अनुमतिका लागि पहल शुरु गर्यो ।

त्यसका लागि तत्कालिन अवस्थाका प्र.अ.अहिलेका वि.व्य.स. अध्यक्षकै पहलमा नियमअनुसार आवश्यक पर्ने ५ जना शिक्षकहरुको नियुक्ति प्रकृया पूरा गर्नु पर्ने भएकाले नेपाली विषयमा म सरिता देवकोटालाई नेपाली विषय शिक्षकमा नियुक्त गरी मेरै कागजातबाट अनुमतिको प्रकृया पूरा भयो । त्यस पछिका दिनहरुमा निरन्तररुपमा कक्षा ११ र १२ मा अनिबार्य नेपाली र ऐच्छिक नेपाली विषय पढाउदै आईरहेकी छु ।

नेपाल सरकारले यसरी उच्च माध्यमिक तहमा पढाउदै आएका शिक्षकहरुलाई व्यबस्थापन गर्ने हेतुले शिक्षक निर्देशिका २०७१ जारी गरी शिक्षक व्यबस्थापनको प्रकृया अगाडि बढायो । सोही बमोजिम यस विद्यालयलाई एउटा दरबन्दि र दुईवटा अनुदान कोटा जिल्ला शिक्षा कार्यालयबाट प्राप्त भयो । प्रधानाध्यापकको चरम लापरबाहीका कारण वि.व्य.स.ले निर्णय गर्न नसकेर लामो समय पछि २०७३ साल असारमा बल्ल तल्ल निर्णय गरि जि.शि.का.मा पठायो । त्यहि निर्णयका आधारमा जि.शि.का.दाङले दरबन्दिमा नेपाली, र अनुदानमा शिक्षा र अर्थशास्त्र विषयको शिक्षक व्यबस्थापन गर्न अनुमति दियो । त्यस पछिका दिनहरुमा बिबिध कारण र प्रधानाध्यापकको असक्षमतामा कारण शिक्षकहरुको व्यबस्थापन हुन सकेन । विद्यालय व्यबस्थापन समितिमा नयाँ मान्छेहरु आएपछि फेरी द्धन्दको शुरुवात भयो ।

नयाँ वि.व्य.स.ले गठनप्रक्रिया मै बिवादको थालनी गर्यो । प्र.अ.ले राजनितिक सहमतिका आधारमा अभिभावकहरुलाई उपेक्षा गरी राजनैतिक आधारमा विद्यालय व्यबस्थापन समिति गठन गरी लामो समय सम्म विद्यालयमै रही द्धन्दमा विद्यालयलाई जकडेका व्यक्तिलाई नै फेरी नाटकिय राजनैतिक सहमतिका आधारमा प्र.अ.ले नै हस्तक्षेप गरी वि.व्य.स.को अध्यक्षमा चयन गर्ने काम भयो । त्यसैले यो प्रकृयाबाट असहमत भै बास्तविक अभिभावकहरुले उच्च अदालत तुलसीपुर, दाङमा रिट दायर गरे । यसको सुनुवाई प्रकृया अगाडि बढिरहेको अबस्था छ ।

यहि अवस्थामा वि.व्य.स. ले मिति २०७४ भदौ २ गते जि.शि.का. दाङबाट आएको अनुमतिलाई लत्याइ नेपाली विषयलाई हटाई लेखा विषयमा शिक्षक व्यबस्थापन गर्ने निर्णय गर्यो । यस निर्णयका बिरुद्ध विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पठनपाठन अबरुद्ध गरी निर्णय नसच्याउदा सम्म प्र.अ.र वि.व्य.स.को कोठामा ताल्चालगाई आन्दोलन अगाडि बढाइ रहेका छन् । यसै क्रममा म सरिता देवकोटाले भदौ ५ गते पत्रकार सम्मेलन गरी न्यायका लागि अनरोध गरे । भदौ ६ गतेका दिन आफुलाई निर्दोष साबित गर्न वि.व्य.स.अध्यक्षले पत्रिका मार्फत ध्यानाकर्षण गरेको पाईयो जुन झुठो, कपोलकल्पित र अतिरञ्जित शैलिमा थियो ।

१) वि.व्य.स.का अध्यक्षले विद्यालयमा माध्यमिक तहमा नेपाली विषयको शिक्षक मौजुदा रहेकाले नेपाली विषयलाई हटाएर लेखा विषयको शिक्षक राख्न लागेको जुन कुरा उल्लेख गरे त्यो भ्रमपूर्ण छ । विद्यालयमा अहिले माध्यमिक तहमा अङ्ग्रेजी, गणित, सामाजिक विषयका दुई दुई जना शिक्षकहरु र नेपाली, विज्ञान विषयमा एक एक जना मात्र शिक्षकहरु दरबन्दिमा मौज्दात छन् । कक्षा ९ देखि १२ सम्म पढाउनु पर्ने नेपाली विषयका कक्षाहरु दैनिक १४ वटा छन् । यस्तो अवस्थामा नेपाली विषयलाई हटाएर अर्को विषय चाहियो भन्नु व्यक्तिगत पूर्वाग्रहले ग्रसित या असन्तुलित मानसिकता के हो ?
२) सामूदायिक विद्यालय भएर पनि जि.शि.का.को प्रतिनिधित्व नै नगराई माध्यमिक तह कक्षा ११—१२ को लागि अध्यापन अनुमति पत्र नै नभएका एक जना र आधारभूत तहमा तीन जना शिक्षकहरु भर्खर मात्र नियुक्ति गर्नु, अनि आधारभूत तहमा विज्ञान विषयको विज्ञापन खोली अङ्ग्रेजी विषयको बैकल्पिक उम्मेदवारलाई मनोमानी ढङ्गले नियुक्ति दिनु कुन नियम र नियमावलीमा टेकेर गरिएको हो ?

३) विद्यालयको माध्यमिक तहमा शिक्षा विषय पढाउने सात जना र अर्थशास्त्र पढाउने दुई जना शिक्षक हुँदा पनि ती विषय आवश्यक र नेपाली विषय आवश्यक छैन भन्ने तर्क गर्नु कुन कृपाबाद र नाताबादमा आधारित छ ?

४) सामूदायिक उच्च माध्यमिक तह शिक्षक व्यबस्थापन निर्देशिका २०७१ को एउटा बुदाँमा टेकी परिच्छेद ३ को बुँदा ३.८ मा भएको प्रक्रियालाई लत्याएर तर्क गर्नु के कति नियमसङ्गत र न्यायसङ्गत ठहर्छ ?

५) उक्त बुँदामा “यो निर्देशिका जारी हुनु पूर्व उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरुको सेवा अबधि खुल्ने गरी अभिलेख प्रमाणित गर्ने करार सम्झ्यौता नगराई कार्यमा लगाएको अवस्था भए प्रमाणित अभिलेखका आधारमा जेष्ठता र विषयगत प्राथमिकतालाई आधार बनाई करार सम्झ्यौता गरिने छ ” भन्ने कुरा उल्लेख गर्दा गर्दै अनिबार्य विषयको प्राथमिकतालाई मिच्नु कहाँको नियममा टेकेर गरिएको हो ?

पुनश्चः यस्तै दरबन्दि र अनुदान पाएका अन्य सामूदयिक विद्यालयहरुले कसरी शिक्षक व्यबस्थापन गरेका छन् भन्ने नजिरहरु हाम्रा सामू छर्लङ्ग छन् । त्यसैले उदाहरणका रुपमा केही विद्यालयहरुलाई यहाँ यसरी उल्लेख गरिएको छ ।
मा.वि. निघुवार, मा.वि.हापुर बिजौरी, मा.वि. भरतपुर, मा.वि.बनगाउ देउखुरी, मा.वि. भोजपुर, मा.वि.तुलसीपुर, मा.वि. विजौरी आदि दाङ जिल्लाका धेरै जसो विद्यालयहरु ।
अन्त्यमा, मा.वि. नारायणपुरका वि.व्य.स.का अध्यक्षको दबदबामा रहेर प्र.अ. ले समेत समयमा उचित निर्णय नगर्दा विद्यालयमा द्धन्द्ध सिर्जना भई पठन पाठन अबरुद्ध भएको छ । दादागिरी शैलीमा विद्यार्थीहरुलाई जातियताका नाममा गालि गलौज गरी बालअधिकार समेत हनन हुनेगरी गरिएको क्रियाकलाप र जि.शि.का.को अनुदान रकम करिव १३ लाख रुपैया विद्यालयलाई नोक्सान गराएकोमा सबैको ध्यान जानु आबश्यक छ । स्थापना काल देखि काम गरिरहेको व्यक्तिलाई कुतर्क र कुव्याख्याका आधारमा पुर्बाग्रही बनेका वि.व्य.स., सो का अध्यक्ष र प्र.अ.को कार्य माथि सरोकारवाला सबैको ध्यान आकृष्ट गर्न चाहन्छु । जीवनभर न्यायको पक्षमा वकालत गर्ने व्यक्तिलाई न्यायको पक्षमा लागेकै आधारमा पुर्बाग्रही सोँच राखेर अन्याय गरेका हँुदा न्याय दिलाई दिनुहुन सबैसँग हार्दिक अनुरोध गर्दछु ।

 प्रार्थी
सरिता देवकोटा
शिक्षक, मा.वि.नारायणपुर, दाङ

 

२०६३ सालदेखी अध्यापन गराउदै आउनुभएका शिक्षक सरिता देवकोटालाई विद्यालय व्यवस्थापन समितिले हटाउन खोजेकोमा अन्दोलित बनेका शिक्षक विद्यार्थीहरुले विद्यालय व्यवस्थापन समितिले गरेको अनियमीतता भन्दै १२ बुदे पत्र सार्वजनिक गरेका छन् । सम्पूर्ण सचेत विद्यार्थी, अभिभावक, शिक्षक, नागरिक समाज तथा विद्यालय सुवेच्छछुकहरुको नाममा उनीहरुले विव्यसले गरेका अनियमितताहरु सार्वजनिक गरेका छन् । जुन यसप्रकार छः

         श्री सि. र. ना. न. मा. वि. नारायणपुर को व्यवस्थापन समितिले गरेका अनियमितताहरु

१. भवन निर्माणमा वर्षौसम्म खिया लागेको छड प्रयोग नगरौ भनी वि.व्य.स. सदस्य श्री टिकाबहादुर वली लगायत सम्पूर्ण शिक्षकहरुले भन्दा भन्दै कमिशनको खेलमा सो छडहरु प्रयोग गरेको र हालसम्म खर्च सार्वजनिक नगरेको ।

२. विद्यालय कर्मचारीको रुपमा नियुक्ति पाएका मनविर चौधरीलाई लेखाको जिम्मा दिनुपर्नेमा आर्थिक चलखेलका लागि आफ्नो ध्येय पूरा गरीदिने शिक्षकलाई लेखाको जिम्मा दिएकोे ।

३. प्रशासनिक कार्य गर्न नियूक्त गरिएका राजेश चौधरीलाई प्रशासनिक कार्य गर्न नदिई पठनपाठनमा पठाईएको ।

४. शिक्षक संघ दाङको पहलमा चारकोठे पक्कि भवनका लागि प्राप्त रु ३२,००,००० (बत्तीस लाख ) लाई दुरुपयोग गर्दै मंसिर सम्म आधा काम सम्पन्न भईसक्नु पर्नेमा हालसम्म कामको थालनी समेत नगरेको ।

५. सामुदायिक उच्च माध्यमिक शिक्षक व्यवस्थापन निर्देशिका २०७१ को दफा ३ नियम ८ मा स्थापना काल देखि कार्यरत शिक्षकलाई नियुक्ति गर्ने व्यवस्था हुँदा हुँदै नियम को अपव्याख्या गर्दै स्थापनाकाल देखि योगदान गरेका शिक्षक सरीता देवकोटा, शान्ता सुवेदी र पोषण के सीलाई हटाउने मनसायले जि.शि.का दाङ ले दिएको अनुमति बदलेर आफ्ना मान्छेहरु भर्ने कुचेष्टा गरेको ।

६. शान्तिपूर्ण आफ्ना माग राख्ने अधिकारको हनन गर्दै बौद्घिक जमातलाई प्रहरी प्रशासन लगाई घोक्रेठ्याक लगाउँछु भन्ने अभिव्यक्ति दिएको ।

७. न्यायको पक्षमा वकालत गर्ने विद्यार्थी र अभिभावकलाई प्रहरीमा बुझाउने अभिव्यक्ति दिँदै विद्यार्थीका घरमा आफ्ना भरौटेहरुलाई पठाई कपोकल्पित आरोप लगाउँदै आतङ्कित बनाएको ।

८. अभिभावकको व्यापक भेला गराई विद्यालयमा सहयोग शुल्क उठाउने व्यवस्था हुँदाहुँदै आफुखुसी अभिभावकको ढाड सेक्ने गरि चर्को शुल्क उठाई दुरुपयोग गरिरहेको ।

९ विद्यालयको स्तर उन्नतिका लागि अभिभावकले दिएको शुल्क लाई दुरुपयोग गर्दै न्यायको लागि अभिभावकले दिएको मुद्दामा प्रतिउत्तर र वहश का नाममा लाखौ रकमको हिनामिना गरेको ।

१० श्रम अनुसारको प्रोत्साहन भत्ता माग गरिरहेका शिक्षकहरुलाई सरुवा गरिदिने धम्कि दिँदै बौद्घिक जमातलाई आतङ्कित बनाएको ।

११. विद्यालयमा विज्ञान शिक्षकको आवश्यकता हुँदा हुँदै शिक्षा ऐन नियम विपरित अङ्गे्रजी विषयको वैकल्पिक शिक्षकलाई नातावादका आधारमा नियुक्त गरेको ।

१२. जिल्ला शिक्षा कार्यालयबाट आएको अनुदान रकम प्रतिमहिना ३ जना शिक्षकहरुको १ लाख ५ हजारका दरले १४ महिनाको १४ लाख ७० हजार घाटा भएको ।

(सम्पूर्ण सचेत विद्यार्थी अभिभावक, शिक्षक,
नागरिक समाज तथा विद्यालय शूभेच्छुकहरु)

विद्यालय व्यवस्थापन समितिको कार्यप्रति विरोध गर्दै विद्यालयमा सुरु भएको आन्दोलन अन्तरगत शुक्रवार विद्यालयमा वृहत विरोध कार्यक्रम भएको छ । अभिभावक भेलाको आयोजना गरि शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारी, राजनितिक दल र विद्यालयका सुवेच्छु्कहरुको सहभागीतामा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीहरुले शिक्षक सरिता देवकोटालाई विद्यालय व्यवस्थापन समितिले विना कारण हटाउन खोजेको भन्दै विरोध गरेका थिए । यस्तै अनियमितता गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका थिए ।
विद्यालयको वास्तविकताबारे अभिभावकहरुलाइृ जानकारी दिनकालागी अभिभावकहरुलाई बोलाएर विरोध कार्यक्रम गरेको र विद्यालय व्यवस्थापन समितिले आफ्नो गल्त िनसच्याएसम्म भद्र आन्दोलन जारी रहने शिक्षक युवराज बस्नेतले जानकारी दिए ।

शुक्रवार भएको विरोध कार्यक्रमबाट गरिएको निर्णय यसप्रकार छः

१. विद्यालयका सम्पूर्ण बिवाद लगायत पिडित शिक्षकहरुका सम्पूर्ण मागहरुलाई सम्बोधन गरी आँउदो आईतबार सम्म विद्यालय व्यबस्थापन समिति र विद्यालय प्रशासनले कक्षा सुचारुरुपमा सञ्चालन गर्नु पर्ने अन्यथा त्यसबाट पर्न जाने सबैखाले परिस्थितिको जिम्मेवारी विद्यालय प्रशासन र विद्यालय व्यबस्थापन समितिले व्यहोर्ने पर्ने कुराको जिम्मेवारी बहन गर्नु पर्ने निर्णय सर्बसम्मत रुपबाट गरियो ।

२. अभिभावकहरु र राजनैतिक दलको अनुरोधमा यही आउदो मिति २०७४ भदौ १९ सोमबारबाट विद्यालयका कक्षाहरु सुचारुरुपले सञ्चालन गर्ने र शुक्रबार सम्मपनि विद्यालय व्यबस्थित गर्ने जिम्मेवारी पाएका विद्यालय व्यबस्थापन समिति र विद्यालय प्रशासनबाट मागलाई सम्बोधन नभएमा पुन भदौको २५ गते देखि पुन आन्दोलनमा होमिने र सो आन्दोलनको नेतृत्व स्वयम अभिभावकहरुले नै गर्ने निर्णय गरियो ।

३. विद्यालयको समग्र द्धन्दलाई निराकरण गर्नाका लागि अभिभावकको तर्फबाट व्यापक अभिभावकहरुको भेला गर्नाकालागि विद्यालयका अभिभावक श्री शिवकुमार गौतमको संयोजकत्वमा पाँच सदस्यिय समिति गठन गर्ने निर्णय गरियो । समितिमा निम्नानुसारका महानुभावहरु रहनु हुनेछ

शिवकुमार गौतम —संयोजक
रेखासिङ ठकुरी —सदस्य
भोला यादव —सदस्य
शरद धिताल— सदस्य

रामलाल चौधरी —सदस्य

४. आजको निर्णय सहित शिक्षाका सबै सरोकारवालाहरु समक्ष विद्यालयका गतिबिधिहरुको जानकारी सहित पिडित शिक्षकहरुको माग पूरा गराउन अभिभावक तथा निबर्तमान शिक्षक अभिभावक संघका अध्यक्ष श्री रमेश के.सी.को संयोजकत्वमा पाँच सदस्यिय समिति गठन गर्ने निर्णय सर्बसम्मत रुपमा गरियो ।

रमेश के.सी.—संयोजक
डिला के.सी. —सदस्य
लक्ष्मी आचार्य —सदस्य
तुल्सीराम चौधरी —सदस्य
सीता चौधरी —सदस्य

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*