Home / Feature Breaking news / विपुल पोख्रेल नेपाली पत्रकारिताका बलियो अभिभावक बन्न सक्छन्

विपुल पोख्रेल नेपाली पत्रकारिताका बलियो अभिभावक बन्न सक्छन्

लोकराज अधिकारी

विपुल पोख्रेल मेरो पत्रकारिताका गुरु हुन् । तर, उनको शिश्य भने म मात्रै हैन । धेरैलाई पत्रकारितामा ल्याउने, सिकाउने, सिपालु बनाउने अनी आफ्नो खुट्टामा उभिन सक्ने बनाउने काम उनले गर्दै आइरहेका छन् । उनका शिश्य मर्यादित पत्रकारिताको पक्षमा उभिन्छन्, पत्रकारिताका नाममा हुने र भैरहेका बिसंगत पक्षलाई उनका शिश्यहरुले अस्वीकार गर्छन्, स्वाभिमानको जगमा उभिएर पत्रकारिताबाट योगदान पुराउने आदर्श शिक्षा व्यवहारमै प्रदर्शन गर्छन् ।

300608_2087633242798_672007_n

उनले पत्रकारितालाई राजनीति मात्रै हैन, समाजका कुनै पनि स्थापित संरचना र मान्यता भन्दा अली पर उभिएर अध्ययन गर्न अनी कुनै समूहको पक्षधरता विहिन कलम चलाउन प्रेरित गर्दछन । सामाजिक न्याय, राज्यप्रदत्त सेवा सुबिधामा समान पहुँच स्थापना र संबिधान प्रदत्त अधिकारको समान प्रयोगको परिवेश निर्माणका लागि काम गर्नु पत्रकारिताको धर्म हो भन्ने कुरा उनले सबै भन्दा पहिले सिकाउछन् । अनी सिकाउछन्, लोकतान्त्रिक संस्कृतिको कुरा । लोकतन्त्र मात्र भन्दा राजनीतिक रुपमा बढी व्याख्या हुने हुँदा लोकतान्त्रिक संस्कृतिको पक्षमा उभिनु पर्छ भनेर उनले ध्यानाकर्षण गराउछन् ।

पत्रकार भनेपछि पत्रकार हो । उनको यो स्पष्ट दृष्टिकोण हाम्रा लागि सधै घचघचाईरहने बाक्य हो । ‘पत्रकारले पत्रकारिता गर्नु पर्छ । उसको कलम कसैको प्रबक्ता बन्न हुँदैन’ उनको मुखबाट धेरै पटक सुनेको बाक्य मध्यको एक हो यो । दलमा आबद्ध पत्रकारहरुका बारेमा पनि उनको गुनासो रहदैन,  तर यती भन्ने गर्छन्, ‘तिम्रो समाचार पढेर तिमि कुन दलको रहेछौ भन्ने कुरा पाठक वा स्रोतालाई थाहा नदेउ ।’ त्यसैले हाम्रा गुरु, धेरैको अभिभावक भएका छन् ।

 मलाई याद छ, उनी संकटकालमा पत्रकार महासंघको केन्द्रिय उपाध्यक्ष थिए । त्यो बेला उनी संम्पादक रहेको संस्था रेडियो स्वर्गद्धारीमा मैले पनि काम गर्थे । संकटकालमा मानिसहरु सुरक्षित हुन शहर पस्थे । तर उनी कोही पत्रकार समस्यामा परेको छ कि भनेर सहजिकरण, रेस्क्यु र बिशेष मिशन बोकेर गाउँ र जंगलमा समय बिताउथे । उनले डेकेन्द्र थापा, दुर्गा थापा, केएल पीडित, रामेश्वर बोहोरा लगायतका पत्रकारहरुको आस्था के हो भनेर सोचेनन् । उनीहरुलाई समस्या पर्दा जस्तोसुकै संकटको सामना गरेर गाउँ र जंगल पुगे, जंगलमै महिनौ बिताए । उमा सिंहको हत्यापछिको अबस्था बुझ्ने पहिलो मिशनमा पनि उनै थिए । बिरेन्द्र शाहको मिशनमा जानेहरुलाई काम गर्ने शैली उनले फोनमा सिकाइरहेको सुन्ने साक्षी म छु । बाँकेका ४ जना पत्रकारलाई कारबाही गर्ने तत्कालिन बिद्रोही माओवादीको निर्णय उल्टाउन उनी बर्दीया जिल्लाको गाउँमा पुगेर संवादमा उत्रीएको इतिहास पनि छ । उनको दिनभरको संवादपछि माओवादी आफ्नो निर्णय उल्टाएर पत्रकारहरुको सुरक्षाको बिषयमा सहयोगि बन्ने प्रतिबद्धता जनाउन तयार भएको थियो ।

 अझ अचम्मको कुरा पनि छ । उनी पत्रकार महासंघको उपाध्यक्ष हुँदा संकटकाल लाग्यो र माओवादी समर्थित केही बरिष्ठ पत्रकारहरु भूमिगत नै भए । राज्यले आतंककारी घोषणा गरेको र सम्पर्कमा नआएका ती पत्रकारहरुको सदस्यता नविकरण गर्ने कि नगर्ने भन्ने बहस् केन्द्रिय समितिमा उठ्यो । तारानाथ दाहाल अध्यक्ष, बिष्णु निष्ठुरी महासचिव रहेको त्यस समितिमा उनीहरुको भावना बुझेर सदस्यता नविकरण गर्नु पर्छ भनेर सबै भन्दा बढी वकालत गर्ने पनि उनै विपुल थिए रे । ‘भुमिगत भए पनि पत्रकारितामै संलग्न छन्, एफएमहरु चलाएका छन्, भूमिगत पत्रिका संपादन गरिरहेका छन्, बन्दूक नबोकुञ्जेल र कलम बोकुञ्जेल उनीहरु पत्रकार हुन्, सदस्यता खारेज गर्न पाइदैन’ भन्दै वकालत गरेका थिए रे । मलाई बिपुलको शिश्य हुनुमा गर्व छ, उनको संघर्षपुर्ण इतिहास् निर्माण गरेका, पत्रकारहरुका अभिभावकको हैसियत निर्माण गरेका तथा सधै उर्जा र प्रेरणाका स्रोतका रुपमा उनी हाम्रा सामु छन् ।

bipul

 पत्रकारिताको मर्यादाको कुरामा उनी त्यत्तिकै सचेत छन् । पत्रकार महासंघका संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईको स्कूलिङ मन पराउने उनले किशुनजीकै भाषामा भन्छन्, ‘प्रेस स्वतन्त्र भएर पुग्दैन, यो त स्वच्छन्द हुदै आकासमा चरा बिचरण गरे झै निरन्तर चलिरहनु पर्छ ।’ यो मान्यताको जगमा उभिएर उनी भन्छन्, ‘कानुनले नियन्त्रीत गर्ने पत्रकारिता हैन, पत्रकारको मनवाट उब्जने दायित्व बोधवाट नियन्त्रीत र प्रवाहित पत्रकारिता मेरो चाहना हो ।’

उनी ०४९ सालदेखि दाङमा पत्रकारिता शुरु गरे । आज पनि उनी दाङमै गोरक्ष दैनिक पत्रिकाका सम्पादक छन् । त्यहीबाट उनले दर्जनौ शिश्य उत्पादन गरे । देशभरका पत्रकारहरुले चिन्ने परिचय पनि दाङमै बसेर बनाए । जिल्लामै बसेर पनि बलियो पत्रकारिता गर्न सकिन्छ भन्ने प्रेरणा उनले देशभरलाई दिन सकेका छन् । आज उनी आशा र आदर्शका पात्रका रुपमा उभिएका छन् । काठमाडौका नेता वा कसैका भाषण भन्दा जिल्लाकै महत्वका कुरा स्थानीय पत्रिकामा प्रमुख समाचार बन्छन् भनेर दाङमा उनले स्थापित गरिदिए । अन्य जिल्लाले पनि सिको गरे । आज स्थानीय स्तरमा यो ट्रेण्ड चलेको छ । रेडियो आन्दोलनका अभियन्ता उनले लेखेको एउटा लेखले नेपाली रेडियोको गुणस्तर विकास कसरी गर्न सकिन्छ भन्ने गंभिर बहस उब्जाई दियो ।

प्रेस काउन्शिलमा दुई बर्ष सदस्य भएका उनकै पालामा आचार संहितालाई पुनरपरिभाषित गरियो । पत्रकार आचार संहिताका बारेमा देशभर अभियान चलाइयो । राजेन्द्र दाहाल नेतृत्वको त्यतिबेलाको प्रेस काउन्शिलमा काम गर्दाको अनुभवले आफुलाई अझै खारेको उनको भनाई रहने गरेको छ । उनी प्रचार खोज्दैनन्, काममा बिश्वास गर्छन् । मलाई यती लेखिरहदाँ पनि डर लागिरहेको छ कि उनको जीवनको सानो कामको चर्चा गरेकोमा समेत उनी म प्रति बेखुशी हुने त होइनन् ? तर, लेख्नै मन लाग्यो, सत्य लेख्न सिकाएका गुरुको शिस्य हु । आज उनी पत्रकार महासंघको नेतृत्व गर्ने आकांक्षाका साथ प्रस्तुत भएका छन् । उनी निर्वाचित भए भने उनी हाम्रा अध्यक्ष मात्र हुने छैनन्, नेपाली पत्रकारिताका बलियो अभिभावक हुनेछन् भन्ने मेरो विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*