Home / Feature Breaking news / राप्ती साहित्य परिषद् डुबानमा

राप्ती साहित्य परिषद् डुबानमा

दाङ, २१ साउन
वर्षातका कारण राप्ती साहित्य परिषद्को भवन डुबानमा परेको छ । परिषद्को भवनदेखि दक्षिणतर्फको सडकमा नाला निर्माण गर्न थालेपछि परिषद्को कार्यालय डुबानमा परेको हो ।
सडक विभागले परिषद्को भवनदेखि दक्षिणमा रहेको सडक पिच गर्न सडकमुनिको पुरानो ह्युमपाइप हटाउँदा भवन डुबानमा परेको परिषद्का अध्यक्ष पुरुषोत्तम खनालले बताउनुभयो । ‘पहिले सडकमुनिबाट पानी जाने गरी ह्युमपाइप राखिएको थियो, खनालले भन्नुभयो, ‘तर अहिले सडक स्तरोन्नति गर्न थालेपछि कुनै विकल्प नबनाई ह्युमपाइप हटाएपछि परिषद्को भवन पूरै डुबानमा परेको छ ।’

 20663116_10212168684923636_1588881157_o
२०६२ सालमा निर्माण गरिएको परिषद्को भवनको तल्लो तलामा रहेको सभाकक्ष अहिले २ फीट भन्दा बढी पानीले भरिएको छ । परिषद्का अध्यक्ष खनालका अनुसार असारको अन्तिम साता ह्युमपाइप हटाइएको र परिषद् भवन डुबानमा पर्दा डोजर लगाएर पानीको निकास खोलिएको थियो ।
सडक निर्माणको क्रममा नयाँ निकास दिनुपर्ने ठाउँमा माटोको थुप्रोले पानीको बहाव बन्द गरेका कारण परिषद् भवन डुबानमा परेको स्थानीय बताउँछन् ।
दुई दिनदेखि परिषद्को सभाकक्ष पोखरीजस्तै बनेपछि नियमित कार्यक्रमहरु स्थगित गर्नुपर्ने अवस्था आएको छ । अञ्चलकै जेठो र साझा साहित्यिक संस्थाको भवनको यस्तो हालत हुँदासम्म न त सरोकारवाला निकाय तातेका छन् न त परिषद्का पदाधिकारीहरु नै ।
बौद्धिक र साहित्यिक क्षेत्रमा सबैतिर स्थापित साहित्यिक संस्थाको भवनको यो हालत हुँदासम्म सडक विभाग, स्थानीय निकाय, सम्बन्धित साहित्यिक संस्थाका पदाधिकारी, नागरिक समाजको केही पहल नहुँदा निर्माणाधीन भवनकै भविष्य धरापमा पर्ने हो कि भन्ने चिन्ता सर्वत्र बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*