Home / Feature Breaking news / घर छोड्न मान्दैनन् शिक्षक

घर छोड्न मान्दैनन् शिक्षक

देवेन्द्र बस्नेत
दाङ, १७ साउन
दाङ,देउखुरी स्थित भैसहवा स्थित जनकल्याण माविमा कुल १ सय ६५ बिद्यार्थी छन् । सरकारी नियमानुसार यो बिद्यालयमा सरकारी दरबन्दीमा तीन जना शिक्षक हुनुपर्ने हो । तर सरकारी दरबन्दी शून्य छ । जिल्ला शिक्षा कार्यालय भन्छन् ‘या बिद्यालय नीजि शिक्षकहरुले धानेका छन् ।’ निमावि करंगेमा एक देखि ५ कक्षा सम्मको बिद्यार्थी संख्या १ सय ७९ जना छ । सरकारी दरबन्दी शिक्षक जम्मा २ जना मात्रै छन् ।

आधारभुत तह (कक्षा १ देखि ५ सम्म) ३ सय ३७ बिद्यार्थी रहेको माबि भेडाबारी मुलाबारीमा आधारभुत तहमा स्थायी शिक्षक जम्मा ४ जना मात्रै छन् । ४० बिद्यार्थी बराबर एक शिक्षक रहनु पर्ने नियमानुसार यो बिद्यालयमा अँझै कम्तिमा ४ दरबन्दी शिक्षक हुनुपर्ने हो ।  यि विद्यालयहरु उदाहरण मात्रै हुन् । जिल्लाका यस्ता दुर्गम बिद्यालयहरुमा बर्षौँ देखि शिक्षक दरबन्दी पुग्न सकेको छैन । जिल्लाको पहाडी स्थानीय तह बंगलाचुली,देउखुरीको राजपुर, पश्चिमको बबई गाउँपालिकाका कैयन बिद्यालयहरु दरबन्दी विहिन छन् । जिल्ला शिक्षा कार्यालकाय निमित्त जिल्ला शिक्षा अधिकारी देबमणी चौधरी भन्छन् ‘यहाँका कैयन विद्यालयहरुमा दरबन्दीका शिक्षक एकजना पनि छैनन्, भएका विद्यालयहरुमा पनि बिद्यार्थी अनुपातमा अधिक कम मात्रै छन् ।’

यहाँ किन शिक्षक छैनन् ? यसको मुल कारण हो ‘शिक्षकहरुले घर नछोड्नु ।’ फलस्वरुप दुर्गममा रहेका बिद्यालयहरुमा दरबन्दी शिक्षकको अभाव चरम रुपमा छ । घरपायक खोज्ने शिक्षकहरुको मानसिकता हाबी भएकै कारण जिल्लाका सुगम क्षेत्रमा भने शिक्षकहरु आवश्यक्ता भन्दा बढि थुप्रिएका छन् । मुख्यतः घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकाका बिद्यालयहरुमा आवश्यक्ता भन्दा बढि शिक्षकहरु थुपारिएका छन् । घोराही उपमहानगरपालिकाकै प्रावि कर्जाहीमा बिद्यार्थी संख्या झण्डै ७० मात्रै छ । तर शिक्षक संख्या भने एक राहत सहित ६ स्थायी शिक्षक कार्यरत छन् । ‘कतै शिक्षकको चरम अभाव छ,तर कतै थुप्रिएका छन्,’चौधरीले भने ‘दुर्गममा यो समस्या अत्यधिक बढि छ ।’

दुर्गम भेकमा विद्यार्थीहरुको चाप सुगमका बिद्यालय भन्दा धेरै छ । तर शिक्षकहरुको संख्या जहाँ बिद्यार्थी त्यहाँ बढि छ भने जहाँ बिद्यार्थी चाप बढि त्यहाँ शून्य अवस्थामा छ । ‘जहाँ विद्यार्थी बढि छन् त्यहाँ शिक्षक छैनन्,’उनले भने ‘जहाँ विद्यार्थी छैनन् त्यहाँ शिक्षक अत्यधिक छन्,ठ्याक्कै उल्टो छ ।’ शिक्षक अभावमा जिल्लाका थुप्रै विद्यालयहरुमा बिद्यार्थीहरुले प्रभावकारी शिक्षा समेत पाउन सकेका छैनन् ।

बिद्यालयमा दरबन्दी नजाँदा नीजि स्रोतमा शिक्षकहरु नियुक्त गरेर पठनपाठन सुचारु गर्ने पर्ने वाध्यतामा बिद्यालय छन् । तर विद्यालयको कमजोर आयस्रोतका कारण नीजि शिक्षक नियुक्त गर्न पनि कतिपय विद्यालयहरुलाई कठिनाई छ ।

भारतसंग सीमा जोडिएको भैसाही नाका स्थित गौरी शंकर निमाविमा तीनसय बिद्यार्थी अध्ययनरत छन् । तर २०३९ सालमा स्थापीत यो विद्यालयमा अहिले सम्म दरबन्दी शिक्षक एकजना मात्रै छन् । एकजना निमावि राहत र एकजना प्रावि तहका राहत शिक्षककै भरमा यो विद्यालय चलेको छ ।‘दरबन्दी शिक्षकको अभावमा यहाँको शिक्षा नाजुक बन्दै गईरहेको छ,’विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत खड्काले भने ‘शिक्षक अभावमा विद्यार्थीहरुले पढ्नै पाएका छैनन् ।’ विद्यालयको आयस्रोत नहुँदा नीजि स्रोतमा शिक्षक राख्न नसकिएको पनि उनले वताए ।
सुगममा शिक्षकको ओईरो, तर दुर्गममा शून्य अवस्था रहनु दरबन्दी मिलान हुन नसक्दाको समस्या हो । दरबन्दी मिलानको बाधक पनि यिनै शिक्षक बन्छन् । विगत लामो समय देखि जिल्लामा दरबन्द मिलान हुन नसक्दा शिक्षकहरुको आफ्नो श्वेच्छा मौलाउँदै गएको छ । फलस्वरुप शिक्षकहरु घर छोड्न फिटिक्कै मान्दैनन् । दरबन्दी मिलान हुन सके यहाँका आधारभुत तह सम्मका कुनैपनि बिद्यालयमा शिक्षक अभाव नहुने जिल्ला शिक्षा कार्यालय बताउँछ ।
तर शिक्षकका पेशागत संघसंगठनहरुनै दरबन्दी मिलानको चर्को बिरोधमा उत्रिने गरेका छन् । दरबन्दी मिलान गरिए घर देखि टाढा सम्म पुग्नु पर्ने वाध्यता आउन सक्ने भन्दै शिक्षकहरुले दरबन्दी मिलानमा अवरोध गर्दै आएका छन् । पछिल्लो पटक जिल्ला शिक्षा कार्यालयले थालेको आधारभुत तहका बिद्यालयहरुको दरबन्दी मिलान प्रकृयामा पनि शिक्षकहरुले भाँजो हालिदिएका छन् । फलस्वरुप जिल्ला शिक्षा कार्यालय अब के गर्ने भन्नेमा अनिर्णित जस्तै छ ।

जिल्ला शिक्षा कार्यालयले गत ८ गते स्थानीय जनप्रतिनीधि र जिल्ला शिक्षा कार्यालय विच दरबन्दी मिलानको प्रकृया सुरु गर्ने भन्ने सम्वन्धमा छलफल भयो । सोही अनुसार शिक्षकका संगठनसंग त्यसको अर्को दिन छलफल भयो । उक्त छलफलका आधारमा अर्को दिन साउन ९ मा शिक्षक संगठनहरुसंग छलफल भयो । अर्को दिन १० गते जिल्ला शिक्षा कार्यालयले दरबन्दी मिलानका लागि भन्दै १ सय ४३ शिक्षकको नामावली सहित ‘सरुवा’ सम्वन्धी सुचना टाँस गर्यो ।

तर शिक्षकहरुको साझा संगठन नेपाल शिक्षक महासंघले शिक्षकहरुलाई अपायक पर्ने गरि गर्न थालिएको दरबन्दी मिलानको निर्णय मान्य नहुने भन्दै असहमती राख्यो । महासंघले शिक्षकहरुलाई घर पायक भन्दा टाढा ‘फाल्न’ खोजिएको भन्दै यो निर्णय मान्य नहुने चेतावनी नै दिएको छ । शिक्षक महासंघका जिल्ला अध्यक्ष अमर खड्काले चेतावनी दिए ‘अवैज्ञानिक तवरबाट गरिएको दरबन्दी मिलानको पक्षमा हामी छैनौ,यसरी दरबन्दी मिलान हुनै सक्दैन ।’
खड्काले थपे ‘तुलसीपुरको शिक्षकहरुलाई देउखुरीको राजपुरमा पठाउन कतिको सान्दर्भीक हुन्छ ?’ उनले तुलसीपुरको शिक्षकलाई सिधै टाढा पठाउनु भन्दा पायक पर्नेगरि स्थानान्तरण गरिनु पर्ने वताए ।
जिल्ला शिक्षा कार्यालयले राहत,अस्थायी र जुनियर स्थायी शिक्षकहरुलाई दरबन्दी मिलान गरेर शिक्षक अपुग बिद्यालयहरुमा स्थानान्तरण गर्ने योजना बनाएको छ । जिल्लाका विकट गाउँपालिकाहरु देउखुरीको राजपुर,बंगलाचुली,बबई लगाएतका स्थानमा दरबन्दी मिलानको प्रमुख आवशयक्ता रहेको छ । विटक क्षेत्र भएकै कारण शिक्षकहरुले यि स्थानमा जान मन गरेका छैनन् । फलस्वरुप जिशिकाको दरबन्दी मिलानको अहिलेको योजना फेल गराउने कसरतमा शिक्षकहरु छन् । जिल्लामा ४ सय २१ सामुदायिक बिद्यालय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*