Home / Feature Breaking news / भरतपुर १९ मा फेरि चुनाव गर्न सर्वोच्चको आदेश

भरतपुर १९ मा फेरि चुनाव गर्न सर्वोच्चको आदेश

काठमाडौं, १५ साउन

सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गर्न आदेश दिएको छ । मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले त्यहाँ फेरि चुनाव गर्ने निर्णय गरेको थियो ।

फेरि मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध वडा नम्बर १९ का वडा सदस्य उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले जेठ २१ गते सर्वोच्चमा रिट हाल्नु भएको थियो । त्यो रिटमाथि सुनवाई गर्दै न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले निर्वाचन आयोगको निर्णय सदर गर्दै फेरि चुनाव गर्न आदेश दिएको हो । पटक पदक रोकिएको यो मुद्दामा आज रिट दायर गरेका गुञ्जमान विक पक्षका वकिलहरुले जवाफी बहस गरेका थिए ।

कुल २८१८ मत खसेको भरतपुरको १९ नम्बर वडामा १८ सय मत गनेर सकिएर अन्तिम हुँदै गर्दा मेयरमा माओवादी उम्मेदवार रेणु दाहालको पक्षमा सोचेजति मत नआएपछि माओवादी प्रतिनिधिले मतपत्र च्यातेका थिए । मतपत्र च्यातेको आरोपमा प्रहरीले माओवादीको दुईजना गणना प्रतिनिधिलाई तत्काल गिरफ्तार गरी चितवन जिल्ला अदालतमा मुद्दा दायर भयो । पछि उनीहरु धरौटीमा रिहा भइसकेका छन् । २० नम्बर वडामा ३ हजार ३ सय २ मत खसेको थियो । गणनाको अन्तिम नतिजा आउँदासम्म एमालेका ज्ञवाली माओवादीकी दाहालभन्दा ७ सय ३३ मतले अघि हुनुहुन्थ्यो ।

रिटको पक्षमा बहस गर्ने वकिलहरुले पुनः मतदान गर्ने योजना अनुरुप भरतपुरमा माओवादी कार्यकर्ताले मतपत्र च्यातेको भन्दै यस्तो अपराधकर्मलाई प्रोत्साहन गर्ने गरी फैसला गर्न नहुने जिकिर गरेका छन् ।

मतगणनास्थल कब्जा भएको नदेखिएकाले गलत कामको नजिर बस्न नदिनेगरी निर्णय हुनुपर्ने उनीहरुको माग गरेका थिए । तर  सर्वोच्च अदालतले मतगणनास्थल कब्जा भएको भन्दै फेरि चुनाव गर्ने निर्वाचन आयोगको निर्णयलाई नै सदर गरेपछि भरतपुर १९ मा पुन मतदान हुने भएको हो ।

 

उज्यालाे अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*