Home / Feature Breaking news / जोखीमपूर्ण बन्दै दाङका सडक

जोखीमपूर्ण बन्दै दाङका सडक

आभास बुढाथोकी
घोराही, ९ साउन
दाङका सडक केही वर्र्षयता जोखिमपूर्ण बन्दै गइरहेका छन् । पछिल्लो समय दाङमा सवारी साधनको बढ्दो चापसँगै सडकको क्षमताभन्दा बढी लोड भएका मालवाहक गाडी घोराहीका सडकहरुमा गुड्ने गरेका छन् । सडकको क्षमताभन्दा तेब्बर भार भएका सवारी साधनहरु गुड्दा सडकहरु यतिबेला धुल्याम्य र हिलाम्य भएका छन् । पहिलेका सवारी साधनका लागि बनेका सडक समयमै मर्मत हुन नसक्दा र सवारी साधनको चापसँगै सडकहरु विस्तार हुन नसक्दा यतिबेला सडकहरु निकै जोखिमपूर्ण बन्दै गइरहेका छन् । लमही–तुलसीपुर सडकखण्डमा पर्ने सडक विस्तार हुन नसक्दा झनै दुर्घटनाको क्रम बढ्दै गइरहेको छ । त्यसमा पनि सडकको क्षमताभन्दा तेब्बर भार का गाडी गुड्दा सडक झनै बिग्रन थालेको छ ।

बिग्रिएका सडक समयमै मर्मत हुन नसक्दा झनै सर्वसाधारणदेखि सवारी चालकहरु वर्षेनी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । त्यसमा पनि घोराहीमा चारलेन सडक विस्तार कार्य बीचैमा रोकिएको छ । काम रोकिदा सर्वसाधारण, सवारीचालक, व्यापारी, व्यवसायीहरुले निकै सास्ती खेप्नुपरेको छ । यतिबेला घोराहीका सडक धुलाम्य र हिलाम्य बनेका छन् ।

घाम लागे धुलाम्य र पानी परे हिलाम्य हुने सडकहरु रहका छन् । त्यसमा समय मै मर्मत हुन नसक्दा सडकहरुमा ठूला–ठूला खाल्टा परेका छन् । एक हप्ता अगाडिमात्रै ती खाल्टाहरु बालुवा हालेर पुरे पनि सडक अस्तव्यस्त नै छ । बालुवा हालिएको भएपनि फेरी खाल्डा पर्न सुरु भईसकेको छ । सडक डिभिजन कार्यालयको लापरवाही र सडक निर्माणको जिम्मा लिएको ठेकेदारको लापरवाहीका कारण निर्माण कार्य बीचैमा रोकिएको छ ।

सडक डिभिजन कार्यालयले कहिले बजेट अपुग भएको, कहिले निर्माण कम्पनीले ढिलाइ गरेको भन्दै विभिन्न बहाना बनाउछ । केही वर्षयता दाङका खोलाहरुमा सुरु गरिएको पुल निर्माणका काम लामो समय बितिसक्दा पनि सम्पन्न हुन सकिरहेको छैन । पुल निर्माणको जिम्मेवारी लिएको सडक डिभिजन कार्यालयले पनि कहिले ठेकेदारको गल्ती, कहिले वर्षाका कारण त कहिले बजेट अपुग भन्दै बिभिन्न बहानामा पुल निर्माण कार्यमा ढिलाइ भएको छ ।

पुल निर्माणमा भएको ढिलाइ र वर्षायाम शुरु भएसँगै सेवार र कटुवाखोलामा आउने बाढीका कारण सवारी साधन आवतजावतमा निकै कठिनाइ भइरहेको छ । खोलामा पानी बढेसँगै घण्टौंसम्म सडक जाम हुने गरेको छ । साना सवारी साधनदेखि स्थानीयहरुलाई निकै कष्ट भइरहेको छ । खोलामा आएको बाढीबाट गाडीहरु पल्टिएर बग्ने जोखिम छ । बढ्दो सवारी साधनको चाप, साँघुरा र बिगे्रेका सडक र खोलाहरुमा पुल नुहुँदा यात्रीहरु जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् । वर्षेनी दुर्घटनामा परी सर्वसाधारणले ज्यान गुमाउनुपरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७३÷०७४ मा मात्रै झण्डै एक सय ४० सवारी साधन दुर्घटना भएका थिए । जसमा ५८ पुरुष, ११ महिला, ६ बालक र दुई बालिका गरी ७७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी ७८ पुरुष, २८ महिला, नौ बालक र पाँच बालिका गरी एक सय २० जना गम्भीर घाइते भएका थिए । यसैगरी ५९ पुरुष, ३३ महिला, तीन बालक र छ जना बालिका गरी एक सय एकजना सामान्य घाइते भएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्र्यालयका प्रमुख ओमप्रकाश वाग्लेले दाङमा सवारी साधनको चाप बढेसँगै यात्रा जोखिमपूर्ण बन्दै गएको बताउनुभयो । उहाँले सडक पुरानो हुनुका साथै बढ्दो सवारी साधनको चापका कारण यात्रा जोखिमपूर्ण बन्दै गएको बताउनुभयो ।

‘सवारी साधनको चापसँगै त्यसअनुसारको सडक नहुनु दुर्घटनाको प्रमुख कारण हो । त्यसबाहेक तीब्र गतिमा सवारी साधन चलाउनु, मादकपदार्थ सेवन गरी सवारी साधन चलाउनु र क्षमता भन्दा बढी यात्रु बोक्नु पनि दुर्घटना हुनुका कारण हुन्’– वाग्लेले भन्नुभयो– ‘त्यस बाहेक पहाडतिरबाट बसाइ सरेर आउनेहरुमा सडकसम्बन्धी चेतनाकोे कमीका कारण दुर्घटना हुने गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*