Home / Feature Breaking news / पछुतोमा मतदाता नामावली बनाउनेको भीड

पछुतोमा मतदाता नामावली बनाउनेको भीड

बिमला घर्ती
घोराही, ५ साउन
२० बर्ष पछि भएको स्थानीय निर्वाचनमा मतदान गर्न नपाएकाहरु यतिबेला पछुतो मानिरहेका देखिन्छन् । मतदाता नामावलीमा नाम नहुँदा मतदान गर्न नपाएकाहरुकाहरुको भिड हिजो आज जिल्ला निर्वाचन कार्यालयमा देख्न सकिन्छ । निर्वाचनको समयमा नामावलीको महत्व बुझेर अहिले नामावलीमा नाम लेखाउनकालागी आउनेहरु धेरै छन् । उमेर पुगेर मतदानकालागी योग्य भएकाहरुले पनि नामावलीमा नाम समावेश नगरेकाहरुले नाम समावेश गर्नकालागी उनीहरु जिल्ला निर्वाचन कार्यालयमा आएका छन् ।

20228535_1421462981278356_8431622959138959306_n
घोराही उप महानगरपालिकाको सवैभन्दा विकट वडाका रुपमा रहेको वडा नं. १९ सैघाकी ६१ बर्षिया लालसरी बिक नामावलीमा नाम दर्ता गराउन भन्दै घोराही आउनुभएको छ । गत असारको १४ गतेका दिन भएको स्थानीय चुनावमा मतदाता नामावलीमा नाम नभएकै कारण भोट हाल्न नपाएकोमा पछुतो मान्दै उहाँ नामावली दर्ताका लागि आउनुभयो । ‘असारमा भएको चुनावमा भोट हाल्न पाइन, अब फेरि चुनाव हुने भन्छन् । यसपटक भोट हाल्नकै लागि कार्ड बनाउन यहाँसम्म आएकी हँु ।’ उहाँले भन्नुभयो— ‘विकट क्षेत्रका जनताका लागि काम गर्न सक्ने नेतालाई भोट हाल्ने आगामी योजना रहेको छ ।’
जिल्ला निर्वाचन कार्यालयले साउनको १ गते देखि जिल्ला सदरमुकाममा रहेको कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम गरिरहेको छ । साउनको १६ गते देखि जिल्लाका १० वटै पालिकाबाट नामावली संकलन गर्ने भनिएपनि जिल्ला निर्वाचन कार्यालयमा दैनिक सयौंको भिड लागिरहेको छ ।
लमही नगरपालिका—३ की सुधा भण्डारी पनि मतदाता नामावलीमा नाम दर्ता गराउनकै लागि भनेर आफु घोराही आएको बताउनुभयो । ‘पहिलो पटक थाहा भएन नामावलीमा नाम छुट्यो, भोट हाल्न पाइएन, तर यसपटक भोट हाल्ने अधिकार प्रयोग गर्नको लागि नामावलीमा नाम दर्ता गराउन आएकी हुँ ।’ उहाँले भन्नुभयो—‘बिहानै आएकी हुँ पालो पाएको छैन, तर परिचय पत्रको लागि नाम दर्ता गराएर मात्रै घर फर्कनुपर्ला ।’ विहान देखि पालो कुरेर बस्नुभएकी भण्डारीले भन्नुभयो ।

20140127_1421463061278348_9102406231165630938_n
मतदाता नामावलीमा नाम छुटेका तथा त्रुटि भएर भोट हाल्न नपाएकाहरु अहिले मतदाता परिचय पत्र बनाउनकै लागि जिल्लाभरका मान्छेहरुको कार्यालयमा भीड लागेको छ । निर्वाचन कार्यालयका अनुसार विहीवारसम्म करिब ३ हजार जनाले नामावली दर्ता गरिसकेका छन् । मतदाता नामावलीमा नाम नभएकाहरु मात्रै होइन स्थान सच्चाउनका लागि पनि निर्वाचन कार्यालय आउनेहरुको कमि छैन । तर आएका मध्य अधिकांश नयाँ दर्ता गर्नेहरु रहेका छन् । ‘हिले निर्वाचन होला भन्ने विश्वास नलागेका कारणले मतदाता नामावलीमा नाम दर्ता गर्ने कुरालाई वास्ता नगरेको बताउनेहरु नै निर्वाचन कार्यालयमा आउने गरेका छन् । आफ्नो गाउँ ठाउँका मानिसलाई मतदान गर्न पाइएन अहिले पछुतो लागेको बताउछन् । ‘पहिले वास्ता लागेन महत्व थाहा भएन भोट हाल्न नपाएपछि बल्ल पछुतो लाग्यो त्यसैले नाम समावेश गर्न आएको हुँ’ रामपुरका मघैया चौधरीले भने ।

स्थानीय तहमा १६ गतेबाट ३२ गतेसम्म जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका तथा सात गाउँपालिका गरी १० वटै स्थानीय गाउँ पालिकाबाट छुटेकाहरुको नामावली संकलन गरिने जिल्ला निर्वाचन अधिकारी विजयकुमार कार्कीले जानकारी दिनुभएको छ । ‘साउन १६ देखि ३२ गतेसम्म सबै स्थानीय तहका कार्यालयबाट मतदाता नामावली संकलन गर्न पाउने ब्यवस्था छ कार्कीले भन्नुभयो ।’ अहिले नामावली संकलन भइरहेका सबै जिल्ला निर्वाचन कार्यालयमा नामावली संकलन जारी राख्दै सरकारले चुनावको मिति तोकेको दिनसम्म नामावली संकलनलाई निरन्तरता दिने निर्णय भएको कार्कीले जानकारी दिनुभयो ।
सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमै नामावली संकलनका लागि जानुपर्ने नियममा सुधार गर्दै जुनसुकै निर्वाचन कार्यालयबाट पनि नामावली संकलन गर्न पाउने ब्यवस्था गरेको उहाँको भनाई छ । सरकारकाले चुनावको मिति घोषणा गरेकै दिनदेखि मतदाता नामावली संकलन बन्द गर्ने र मिति घोषणा भए पनि दावी बिरोधलगायतका काम अघि बढाउने निर्णय भएको कार्यतालिका भएको पनि कार्कीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*