Home / Feature Breaking news / घोराही सडकको दुर्दशाः विकास की विनाश ?

घोराही सडकको दुर्दशाः विकास की विनाश ?

घाेराही, ४ साउन
मुल सडकको बिचौबिचमा महिना दिन अघि थुपारिएको ‘बडेमान’ को माटोको पहाड । गाडीहरु मुश्किलले छेउ च्यापेर पार हुन्छन् । त्यहि साँघुरो बाटोमा हिँड्ने यात्रुहरुलाई गाडीले किच्ला की भन्ने जगजगी उस्तै छ । सडक बिस्तारको नाममा, भएको ‘कालोपत्रे’ पनि उप्काईयो । तर पुनः कालोपत्रेको काम गरिएन । सर्वसाधारणको आँखा छल्न केवल माटो र गिट्टी छरियो । घोराहीको मुख्य सडकमा बिकासका नाउमा गरिएको यो ‘मजाक’ ठूलो दुर्दशा बनेको छ । दिनहुँको बर्खेझरीले सडक पुरै हिलाम्य छ । पैदल यात्रुहरुलाई हिँड्नै मुश्किल छ । सडकै भरि ठूलठूला खाल्डा परेका छन् ।

यो सडक अहिले धानखेत सरह हिलाम्य देखिन्छ । ‘मेन रोडको हालत धान खेतवराबर भैसक्यो,’घोराहीका होटेल व्यवसायि खेमराज भट्राईले भने ‘नागरिकहरुले यो सडकको बेहालका कारण लामो समय देखि सास्ती बेहोर्नु परेको छ ।’ साना सवारी साधन सञ्चालनमा समेत उत्तिकै कठिनाई निम्तीएको छ । सर्वसाधारण नागरिकहरु सडकमा भैरहेको यो मनपरिदेखि आजित बनिसकेका छन् । ‘यो सडकमा भैरहेको कर्तुतलाई चाँडै पर्दाफास गरिदिनु पर्यो,’सडकको तस्बिर लिँदै गर्दा घोराहीका एक व्यवसायि भन्दै थिए ‘हामीहरु फराकिलो होला भन्ने आशैआशमा धेरै आजित भैसक्यौँ ।’ यो सडकको दुर्दशा ‘फोरलेन’ बिस्तारका क्रममा गरिएको अधिक ढिलाईका कारण निम्तीएको हो । निर्माणको जिम्मा पाएको ठेकेदारको चरम लापरवाहीले सर्वसाधारणहरुले लामो समय देखि सास्ती बेहोर्दै आईरहेका छन् ।

सवारीको चाप अत्यधिक । घोराही बजार क्षेत्रको दुईलेन सडकलाई चार लेन बनाउने गरि सरकारले प्रयास थाल्यो । २०७१ भदौ ११ गते कान्छाराम शंकर माली जेभी संग ठेक्का सम्झौता भयो । यो सम्झौता अनुसार निर्माण कम्पनीले २०७३ जेठ १५ मा सडक विस्तारको काम सकिसक्नु पर्ने थियो । यो अवधिमा सडक निर्माणको काम पुरा हुन सकेन । २०७३ चैत १२ मा पुनः सडक निर्माणको ठेक्काको म्याद थप गरियो । आगामी कात्तिक मसान्त सम्म पछिल्लो पटक थप गरिएको समयावधि छ । नत पछिल्लो पटक थप भएको अवधिमै यो सडकको हालत सुधार हुने छाँट देखिन्छ । मध्यपश्चिम सडक डिभिजन कार्यालयका प्रमुख बद्रीप्रसाद शर्मा भन्छन् ‘तपाइलाई ढाँटेर के गर्ने पछिल्लो पटक थप भएको अवधिमा पनि यो सडकको काम पुरा हुन्न ।’ सडक विस्तारकै प्रयोजनका लागि बिचौबिच सडकमा थुपारिएका ढुंगा माटोका अग्ला पहाड दुर्घटनाको अत्यधिक जोखिम बनेका छन् । महिना दिन अघि थुपारिएका यि पहाड सम्याउने सचेतता समेत अपनाईएको छैन । ‘साँघुरो सडक छ,स्कुल जाने बच्चाबच्चीहरुलाई यहि बाटो हिँडाउनु पर्छ,’घोराही काठेकोहलकी पुष्पा केसीले भनिन् ‘साना केटाकेटीलाई गाडीले हान्ला कि भन्ने जगजगी मनमा भईरहन्छ ।’

sadak 3

हिलाम्य बनेको सडक बर्खाभर यहि रुपमै रहने छ । किनकी बर्खामा सडक कालोपत्रे गर्न मिल्दैन । अधिक नाजुक बनिसकेको यो सडक यहाँका सर्वसाधारणहरुका लागि सिंगो बर्खाभर निकै सास्तीपूर्ण बन्ने भएको छ । ‘बर्खामा सडक कालोपत्रे बनेर कामै छैन, चाँडै उप्कि हाल्छ,’सडक डिभिजन कार्यालयका प्रमुख शर्माले भने ‘तर सडकमा भएको हिलोले नागरिकहरुले धेरै सास्ती पाईराख्नु भएको छ, हिलो नहोओस् भन्नका लागि हामीहरुले गिट्टी बालुवा हालेर फिलिङ गर्ने योजना बनाईरहेका छौँ ।’
२२ महिनामा पुरा गरिन सक्ने सम्झौतामा ठेक्का लिएको ठेकेदार कम्पनीले निर्माण कार्यमा विभिन्न अवरोध देखाउँदै निर्माणमा सुस्तता हुनुको बहाना गर्यो । सडक छेउमा रहेका बिद्युत पोलको व्यवस्थापन संगै सडक छेउमा रहेका रुख पन्छाउन समय लागेको उसले कारण देखाएको छ । यसैगरि भारतीय नाकाबन्दीलाई निर्माण ढिलाई हुनुको अर्को कारण बनाएको सडकले जनाएको छ । ‘निर्माण जुन रुपमा हुनुपर्ने हो, त्यो अनुसार हुन नसकेको साँचो हो,’यो सडक हेर्दै आएका सडक डिभिजनका ईन्जिनीयर शेखर योगीले भने ‘अँझ हामीहरुले धेरैपटक ताकेता गरेका कारण यति सम्म काम भएको हो ।’ उनले निर्माण कम्पनीलाई पटक पटक लेखेका पत्रहरुको चाङै रहेको समेत वताए । सडकले निर्माण कम्पनीसंग नागरिक दैनिक मार्फत सुचना प्रकाशित गरेर निर्माण कार्य पुरा हुन नसक्नुको कारण समेत सोधेको थियो ।

२२ महिना भित्र बनिसक्नु पर्ने सडक तीन बर्ष नाघिसक्दा समेत पुरा नहुँदा पनि निर्माण कम्पनीले भने काममा कुनै कसर बाँकी नराखेको दाबी गर्छ । ‘हामीहरुले काम निरन्तर रुपमै गरिरहेका थियौँ,’निर्माण कम्पनीका प्रतीनिधी पदम शर्माले भने ‘तर विविध चुनौतीका कारण काममा अवरोध हुन पुगेका कारण ढिलाई हुँदै आयो ।’ उनले खोलाबाट गिट्टी बालुवा उठाउँदा प्रहरीको अवरोधले पनि काममा बाधा पुर्याएको आरोप लगाए । ‘हामीहरुले खोलाबाट ग्राबेल उठाउन पाएनौ,’उनले भने ‘प्रहरीले हाम्रा टिप्परहरु खोलाबाटै ल्याएर थन्काईदियो,यसले पनि काममा ढिलाई भयो ।’ यसअलावा सडक छेउमा रहेका विद्युतका पोलको व्यवस्थापन र रुखलाई उनले समस्याको अर्को कारण देखाए । उनले अहिलेको हिलाम्य सडकको बारेमा भने ‘बर्खामा पानी परेपछि हिलो किन नउठ्ला त ?’
यहाँका स्थानीय प्रतिनीधिको सुस्तताका कारण सडकले बारम्बार ताकेता गर्न थालेपछि निर्माण कम्पनीलेनै काठमाडौँबाटै प्रतिनीधि खटाएर काम थालेको सडकले जनाएको छ । ‘हामीहरुले बारम्बार ताकेता गर्न थालेपछि निर्माण कम्पनीलेनै काठमाडौँबाटै एकजना प्रतिनीधि खटाएपछि कामले केहि गति लिएको हो,’यो सडकको अनुगमनको जिम्मा पाएका ईन्जिनीयर शेखर योगीले भने ‘नत्र त काम धेरै सुस्त थियो ।’

बिकासमा निर्माण कम्पनीहरुबाट गरिने यो ढिलाईको प्रमुख कारण उनिहरुको धेरै ठाउँमा ठेक्का रहनु हो । देशका विभिन्न स्थानमा ठेक्का हान्ने यस्ता कम्पनीहरुले कामको व्यवस्थापन गर्न सक्दैननन्। फलस्वरुप निर्माणको काममा धेरै सुस्तता आउँछ । ‘उनिहरुको एकै ठाउँमा मात्रै ठेक्का हुँदैन,’सडक डिभिजन कार्यालयका सुचना अधिकृत दुर्गा गौतम भन्छन् ‘धेरै ठाउँको ठेक्काको काम उनिहरुलाई व्यवस्थापन गर्नै गाह्रो हुन्छ र भनेअनुसारको गतिमा काम हुन सक्दैन ।’ यसैगरि अर्को कारण भनेको काम पूर्वनै दिईने पेश्की रकम हो । निर्माणको काम ठेकेदार कम्पनीले आँफै लगानी गर्न समस्या हुने भन्दै उनिहरुलाई कुल बजेटको बीस प्रतिसत रकम पेश्की दिने नीति छ । ‘उनिहरुको बैंक रिपोर्टका आधारमा पहिलो र दोस्रो किस्ता गरि २० प्रतिसत रकम पेश्की दिने नीति छ,’सुचना अधिकारी गौतम भन्छन् ‘यसले पनि काममा सुस्तता आउने पक्कै हो ।’

उनका अनुसार केहि ठेकेदारहरुले यहि बीस प्रतिसत रकम लिएरै जग्गा किनेर आर्थिक लाभ लिएको तथा ब्याजमा समेत लगाएका उदाहरण पनि यहाँ छन् । ‘उहाँहरुको नाम नभनौ,’उनले भने ‘तर पेश्की रकम लिएर अन्य नाफा मुलक प्रयोजनमा रकम लगाउने व्यक्तिहरु पनि यहिँ हुनुहुन्छ ।’ बीस प्रतिसत रकम पेश्की दिने सरकारी नीति रहेपनि दाङमा भने अहिले सम्म १५ प्रतिसत रकम पेश्की दिईँदै आएको सडकले जनाएको छ । पहिलो किस्ताको रकम वैंक रिपोर्ट (वैंक ब्यालेन्स)का आधारमा दिईने र दोस्रो किस्ताको रकम पहिलो रकमबाट काम भए नभएको मुल्यांकन गरेर मात्रै दिने गरेको सडकले जनाएको छ ।
हाल अलपत्र रहेको १४ सय मिटर घोराहीकोे मुख्य सडक निर्माणका लागि ११ करोड ६४ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो । घोराहीको मुख्य यो सडक लमही तुलसीपुर जोड्ने एकमात्रै मार्ग समेत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*