Home / Feature Breaking news / कहाँ पुगे मुक्त कमैया ?

कहाँ पुगे मुक्त कमैया ?

फर्चेवा बड्का । यही भनेर चिनिन्छन् उनी । उनको खास नाम जन्कु चौधरी हो । यो नामले उनी चिनिदैनन् । चुनावमा भोट खसाल्छन् त्यसकारण उनीसंग नागरिकता छ भन्ने थाहा हुन्छ । उनको नागरिकताको प्रयोग अन्यत्र कतै भएको जस्तो लाग्दैन ।
उनी (मुक्त)कमैया हुन् । त्यसो त कमैया मुक्तिको घोषणा हुनुपुर्व नै उनी कमैयावाट अधेर्वा (अधिया लगाउने­)मा ‘पदोन्नती’ भैसकेका थिए । उनका बाबुले पनि कमैयाको काम गरे । बाबुसंगै उनी कमैयाको काममा अभ्यस्त हुँदै आए । खेती किसानी गरेर उनको बाबुले झै उनले पनि परिवार पाल्न थाले । आफ्नो ८ जनाको परिवार उनले कमैयाका रुपमा काम गरे । २० मुरी धान अनी केही अन्य अनाज उनको बर्षभरीको आम्दानी । ‘सबै तिर यस्तै चलेको थियो’ उनी ज्यालाका बारेमा भन्छन्, ‘पछि छाड्ने बेला २४ मुरी धान पाउथिम ।’
उनले आफ्ना ३ छोरालाई पढाउने कोसिस पनि गरे । जेठो छोरा त काम पनि गर्ने पढ्न पनि पढ्ने सर्तमा एक बर्ष जति काठमाडौ पुगे । तर, पढाईमा छोराहरुले रुची देखाएनन् । एक छोरीको हालत पनि त्यस्तै भयो । पढ्ने तिर कोही लागेनन् ।
कमैया बसेका रुन्चु चौधरीका सबै सदस्यले बाबुसंगै काम गर्दथे । उनीहरुको अन्य कुनै तोकिएको ज्याला हुँदैनथ्यो । मनले गरे पनि करले गरे पनि बाबुको आदेश मानेको हुन्थ्यो । बाबुलाई खेती किसानीमा सघाउथे । अधेर्वामा बढोत्तरी भए पनि उनीहरुको जीवनशैली त्यही नै थियो । परिवार बाच्नका लागि काम गथ्र्यो, अरु सोच्नै सक्दैनथ्यो ।
अहिले उनको परिवारको जीवनशैली फेरिएको छ । उनी आफु बृद्ध भैसकेका छन् । छोराहरुले कामाउछन् । नाती, नातीनीहरु पढदै छन् । १२ कक्षामा जेठो नाती पढ्छ । अरु पनि पढ्ने रुचीका साथ स्कुल गैरहेका छन् । जेठो र कान्छो छोरा मिस्त्रीकाम गर्छन । घरबनाउने कामको ठेक्का नै लिन्छन् । आफ्नो ठेक्कामा श्रीमतीहरुलाई पनि श्रमिकको रुपमा लैजान्छन र ज्याला दिन्छन् । बाबुको पालाको झै बाबुको काममा सबैले निःशुल्क सघाउने अबस्था छैन अब ।श्रीमतिलाई मात्र हैन, अरु धेरैलाई आफ्नो काममा लगाउछन् र ज्याला दिन्छन् । बर्षा मौषममा भने खेती पनि गर्छन । ‘बर्षामा अरु काम त्यती पाइदैन र राम्रो पनि हुँदैन, त्यसैले अली अली खेती गर्छौ’ जन्कुका जेठा छोरा बुद्धिराम चौधरी भन्छन् । माइला छोरा घोराहीमा अटो रिक्सा चलाउछन् । उनी कमाउन विदेश जाने सोंचमा पनि थिए । तर तारतम्य मिलेन । दाजु र भाइको जस्तै मिस्त्रीको काममा पनि उनी निपुर्ण नै थिए । तर, अझ सजिलो काम भनेर अटो रिक्सा चलाउछन् । यो कामवाट पनि परिवार पाल्न सकिदोरहेछ भन्ने आत्मबिश्वास उनीमा जागेको छ ।
जन्कुको परिवार एउटा प्रतिनिधि परिवार हो । कमैया मुक्तीपछि त्यो परिवारले स्वतन्त्रताको उपयोग गर्न पाएको छ । स्वतन्त्रताको जगमा उभिएर परिवारका सदस्यले आफ्नो विवेकको सक्दो प्रयोग गर्न पाएका छन् । अनी आम्दानीका विकल्पहरु रोज्न पाएका छन् । छोराछोरीलाई पढाउने सोंचको विकास भएको छ भने श्रमको मुल्य बुझेर श्रीमतीलाई पनि ज्याला दिनुपर्छ भन्ने अत्यन्त परिस्कृत सोंचको विकास भएको छ । आज भन्दा १८ बर्ष पहिला कमैया मुक्तीको घोषणा गर्दा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तै सोचेका थिए होला ।
०५७ सालमा कांग्रेस नेतृत्वको सरकारले संसदमा बिशेष सम्बोधन गर्दै कमैया प्रथा अन्त्यको घोषणा गरे । उनीहरुको पुनस्थापना र पुनरबासको योजना पनि सुनाए । त्यो योजना कार्यान्वन पनि हुँदै गयो । यद्देपी अझैसम्म पूर्ण रुपमा योजना कार्यान्वयन नभएको पाइएको छ । फेरि कांग्रेसकै नेतृत्वको सरकार बनेको छ । यो सरकारले कमैयामुक्तिको घोषणाको स्वामित्व लिदै बाँकी रहेका कामहरु सम्पन्न कमैया मुक्तीको घोषणालाई पूर्णता दिने अपेक्षा गर्न सकिन्छ ।
सरकारले उनीहरुलाई के के दिनु पर्ने भनिएको थियो, ती कुराहरु पुरा भए कि नाई ? मुल्याङकन होस् र दिइयोस् । यसमा कुनै विवाद छैन, बरु दवाव छ हाम्रो पनि । तर, कमैया मुक्तीको १८ बर्षलाई फर्केर हेर्दा त्यतिबेलाको कमैया परिवारको जीवनस्तर र सोंचमा आएको परिवर्तनले त्यो घोषणाको सार्थकता दर्शाइदिएको छ ।
चुनौती अझै पनि छन् । जन्कुको परिवार अझै पनि ऐलानीमा बसीरहेको छ । आफ्नो नाममा जग्गाधनी पुर्जा पाउने उनका परिवारको सदस्यहरुको चाहना निक्कै छ । उनीहरुको चेहराले बताइरहेको छ, आफु बसेको ठाँको पुर्जा आफ्नो नाममा भैदिए संसारकै खुशीले त्यो चेहरालाई छपक्कै ढाक्ने छ । अब राज्य अभिभावकीय भूमिकामा उभिएर उनीहरुको सपनाको खुशीलाई संभव तुल्याइदिनु पर्छ । यसरी राज्य अभिभावकका रुपमा आओस्, आफ्नो र परिवारको सुनौलो भबिष्याको लागि सोच्न सक्ने अबस्थामा उनीहरु छन् । स्वतन्त्रताको जगमा उभिएर विवेक प्रयोग गर्न सक्ने मुक्तकमैया परिवारप्रति दया हैन, अभिभावकीय भूमिकाको आबश्यकता अहिले पनि खट्किएको छ । राज्यले सुनोस् ।

गोरक्ष राष्ट्रिय दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*