Home / प्रवास / कोरियामा कामदारको तलब १६.४ प्रतिशत बढ्यो, मासिक झन्डै डेढ लाख पुग्ने

कोरियामा कामदारको तलब १६.४ प्रतिशत बढ्यो, मासिक झन्डै डेढ लाख पुग्ने

किशन गौतम

सोल, १ साउन 

दक्षिण कोरियामा कामदारको तलब १६.४ प्रतिशतले वृद्धि भएको छ। हिजो शनिबार अबेरसम्म बसेको ज्याला निर्धारण समितिको बैठकले आगामी वर्ष सन् २०१८ का लागि इपिएस लगायत सम्पूर्ण कामदारको तलब उक्त प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । वृद्धि भएसँगै कामदारको तलब प्रतिघण्टा ७५३० कोरियन वोन अर्थात नेपाली झण्डै ६८३ रुपैयाँ पुगेको छ । जस अनुसार दैनिक आठ घण्टा काम गरेपछि महिनाको न्यूनतम तलब १५ लाख ७३ हजार ७ सय ७० अर्थात मासिक नेपाली १ लाख ४२ हजार ७ सय ४७ रुपैया हुने छ । हरेक वर्ष जस्तै तलब वृद्धि गर्ने समयसीमा भन्दा निक्कै ढिला गरि शनिबार राति मजदुर र कम्पनी व्यावस्थापन पक्षबीच तलब वृद्धि गर्ने सहमती भएको अधिकारीहरुले बताएका छन्। आगामी वर्षका लागि वृद्धि भएको तबल गत वर्ष वृद्धि गरिए भन्दा दोब्बरले वृद्धि भएको हो।

गत वर्ष ७ प्रतिशतले वृद्धि भएको थियो। जस अनुसार अहिले कामदारले प्रतिघण्टा ७४७० वोन पाउदै आएका छन्। सन् २०१८का लागि तलब तोक्न गत तीन महिनादेखि मजदुर, कम्पनी व्यावस्थापन र सरकारी प्रतिनिधिबीच बैठक बस्दै आएको थियो। तलब निर्धारण गर्ने विषयमा कम्पनी व्यावस्थापनले तलब वृद्धि गर्दा साना तथा मझौला कम्पनीहरु आर्थिक भारमा पर्ने र कम्पनी नै बन्द गर्नुपर्ने अवश्था आउन सक्ने भन्दै तलब बढाउने पक्षमा देखिएका थिएनन् भने मजदुर संगठनहरुले अहिले जिवन शैली र मंहगीको हिसाबले तलव प्रतिघण्टा १० हजार वोन बनाउनुपर्ने माग राखेका थिए। कम्पनी व्यावस्थापन पक्ष तलव वृद्धि गरे पनि १५५ वोनले बढाउने प्रस्ताव राखेको थियो तर शनिबार राति १६.४ प्रतिशतले बढाउन राजी भयो। तथापी मजदुर संगठन भने १० हजार वोन हुनुपर्ने अडानमै रहेको छ। १० हजार वोनका लागि प्रवासी मजदुर संघ एमटियूले यहाँको ठूलो मजदुर संगठन केसिटियूसँग मिलेर आन्दोलनका कार्यक्रम गर्दै आएको छ।

शनिबार तलब वृद्धि गर्ने त्रिपक्षिय सहमती अनुसार सरकारले त्यसलाई अगष्ट पाँच तारिख कानूनी प्रारुप दिने छ भने बीस दिनको अवधिमा संसदमा छलफल हुने छ। वर्तमान राष्ट्रपति मून जे इनले आफ्नो पाँच वर्षे कार्यकाल अर्थात सन् २०२२ सम्म प्रतिघण्टा १० हजार वोन पुर्‍याउने प्रतिबद्धता ब्यक्त गरेका छन्। यसैबीच तबल वृद्धि गर्ने निर्णयले यहाँ कार्यरत लाखौं कामदार तथा ४५ हजार भन्दा बढी नेपाली कामदार हर्षित भएका छन् ।

सेताेपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*