Home / समाचार / रामेछापमा बाढीले पुल र घर बगायो, १ को मृत्यु, ४ बेपत्ता

रामेछापमा बाढीले पुल र घर बगायो, १ को मृत्यु, ४ बेपत्ता

रामेछाप, १ साउन

रामेछापमा गएराति भीषण वर्षापछि आएको बाढीले सवारी तर्ने पुल र दुई घर बगाएको छ । जिल्लाको गोकुलगंगा र लिखु गाउँपालिका भएर बग्ने खिन्ती र छतिवन खोलामा आएको बाढीले घर बगाउँदा १ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।

बाढीले घर बगाउँदा छतिवन खोला नजिकै घर भएका कुमार खत्रीकी ७५ वर्षीया आमा लालकुमारी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारका अन्य सदस्यले भने भागेर ज्यान जोगाएका छन् ।

खिम्ती खोलाको बाढीले घर बगाउँदा अशोक तामाङ र उनकी छोरी बेपत्ता छन् । प्रहरीका अनुसार इन्द्रबहादुर खत्रीकी पत्नी र उनको रोपाइँमा काम गर्न मन्थली नगरपालिका, गेलुबाट आएका वासु अधिकारी हराइरहेका छन् । उद्धारका लागि प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेल नेतृत्वको टोली घटनास्थल पुगेको छ । अहिले प्रहरी, नेपाली सेना र स्थानीयले हराइरहेकाको खोजी र उद्धार गरिरहेका छन् ।
मध्यराति आएको बाढीले छतिवन खोलामाथि भर्खरै निर्माण गरिएको सवारी तर्ने पक्की पुल बगाएको छ । बाढीले सवारी तर्ने पुल बगाएपछि उत्तरी रामेछाप, ओखलढुंगा, सोलु र जिरीसँगको सडक सम्बन्ध विच्छेद भएको छ । उता, खानीखोलामा आएको बाढीले पुष्पलाल मार्गको डाइभर्सनमा क्षति पुगेको छ । खहरको कटानका कारण खिम्ती बजारसमेत जोखिममा परेको छ ।

 

अनलार्इन खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*